MENU

समाज

Ncell Axiata
chhaka panja

गाउँका स्वास्थ्य संस्थामा बल्ल पुग्यो औषधि

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, भदौ २९ – डेढ महिनादेखि औषधि अभाव भएर निःशुल्क पाउनुपर्ने सामान्य औषधि पनि किन्न बाध्य गाउँका नागरिक बल्ल स्वास्थ्य संस्थाबाटै औषधि पाउन थालेका छन् । गएको जेठदेखि औषधि नपठाएको जिल्ला स्वास्थ्य कार्यालयले बुधबार औषधिको चरम अभाव रहेको फेदाप र आठराई गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि पठाएको छ । 

साउनको पहिलो हप्तामै पुग्नुपर्ने औषधि कार्यालयले कसले औषधि खरिद गर्ने भन्ने अन्यौलका कारण पठाएको थिएन । जसका कारण आठराई र फेदाप गाउँपालिकाका केही स्वास्थ्य संस्थामा अत्यावश्यक सिटामोल समेत सकिएको थियो । स्वास्थ्य संस्थामा औषधि नपाउँदा जीवनजल बाहेक सबै औषधि किन्न बिरामी बाध्य भएका थिए । 

स्वास्थ्य चौकीमा ३९ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइने व्यवस्था रहेको छ । तर अहिलेसम्म जिल्लाको आठराई गाउँपालिकाका ईवा, छातेढुंगा, चुहानडाँडा र थोक्लुङ लगायत स्वास्थ्य संस्थामा एकै पटक सबै औषधि उपलब्ध कहिल्यै नभएको स्वास्थ्यकर्मीहरु बताउँछन् । 

यति धेरै औषधि निःशुल्क दिने भनिएपनि स्वास्थ्य संस्थामा औषधि नपाएपछि सिटामोल समेत महँगो मूल्य तिरेर खानुपर्ने अवस्था आउनु लज्जाको कुरा भएको चुहानडाँडाका कृष्ण बाँस्कोटाले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयले अत्यावश्यक औषधि बुधबार सम्बन्धित स्वास्थ्य संस्थाहरुतर्फ पठाएको जिल्ला स्वास्थ्य कार्यालयका स्टोर प्रमुख तिर्थराज थापाले जानकारी दिनुभयो । 

मेन्छ्यायेम र छथर गाउँपालिका तथा लालीगुराँस नगरपालिकाका स्वास्थ्य चौकीमा समेत औषधि पठाइएको छ । स्टोर प्रमुख थापाका अनुसार स्वास्थ्य चौकीमा यसपटक २५ प्रकारका र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ५० प्रकारका औषधिहरु पठाइएको छ । यसपटक पठाएको औषधिले तीन महिनासम्म पुर्‍याउनुपर्ने हुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया