MENU

खेल

Ncell Axiata
chhaka panja

नेपाल भर्सेस सिंगापुर : नेपाल ७ विकेटले विजयी, बन्यो समूह विजेता

काठमाडौं, भदौ २९ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको छनौट (पूर्वी क्षेत्र) अन्तर्गत बिहीबार भएको खेलमा नेपालले सिंगापुरलाई सात विकेटले हराएको छ । सिंगापुरले पेश गरेको ६८ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा भेट्टायो ।

नेपालका लागि सन्दिप सुनारले ३५ बलमा २०, अनिल कुमार साहले १५ बलमा १८ तथा सुमित महर्जनले १२ बलमा नटआउट १० रन बनाए । यसअघि मलेसियाको क्लब अमानमा टस जितेपछि पहिले ब्याटिङ गरेको सिंगापुरले २८ ओभर तीन बलमा सबै विकेट गुमाएर ६७ रन बनायो । सिंगापुरलाई कम रनमै आउट गराउन नेपालका पवन सराफले महत्वपूर्ण भूमिका खेले । उनी एक्लैले ६ विकेट लिए ।

यस्तै किशोर महतोले दुई तथा दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले एक एक विकेट लिए । सिंगापुरका सिद्धान्त र आर्यमन सुनिलले समान २०/२० तथा रोहन रंगराजनले ११ रन बनाउनु बाहेक अरुले दोहोरे अंकमा रन बनाउन सकेनन् । सिंगापुरका पाँच ब्याट्स म्यान शून्य रनमा आउट भए ।  समूह चरणका तीनै खेल जितेको नेपाल समूह विजेता बनेको छ ।

यसअघिका दुई खेल जितेको सिंगापुर उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । दुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन् । नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो । 

प्रतियोगितामा नेपाल बलियो टिमको रुपमा हेरिएको छ । तीनवर्ष अघि एसियाली क्रिकेट परिषदको पुनर्संरचना भएपछि नयाँ संरचनाको रुपमा यो प्रतियोगिता भएको हो । एसियाली क्षेत्रमा यसअघि यस खालको एउटै प्रतियोगिता हुँदै आएकोमा अहिले भने दुई क्षेत्र बनाएर प्रतियोगिता गरिएको हो । नेपालसहित ८ देश पूर्वी क्षेत्रमा छन् भने अफगानिस्तान, युएई, कतार, ओमान, साउदी अरेबिया, माल्दिभ्स, बहराइन, इरान र कुवेत पश्चिमी क्षेत्रमा छन् । 

नेपालले सन् २००७ मा १९ वर्षमुनिको एसिसी एलिट कपको उपाधि जितेयता उपाधि जित्न सकेको छैन । त्यसपछि दुई पटक एसिसी यु–१९ एलिट कपमा नेपाल अफगातिस्तानसँग पराजित भएको थियो । अहिले १० वर्षपछि नेपाललाई १९ वर्षमुनिको संरचनामा उपाधि जित्ने मौका छ । किनकी अहिले नेपाल रहेको क्षेत्रमा बलियो मानिएको अफगानिस्तान छैन । 

१९ वर्षमुनिको एसिया कप

१९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिता आउँदो नोभेम्बरमा भारतमा हुँदैछ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा छनौट चरणबाट आएका चार टिम एसिया कप क्रिकेटमा खेल्ने छन् । पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रको फाइनलमा पुग्ने दुई दुई टिम एसिया कपका लागि छनौट हुने छन् ।  

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया