MENU

समाज

Ncell Axiata
sagun

राष्ट्रपतिको नजिक बस्दा आमा भेटेजस्तै भयो बालबालिकालाई

अर्जुन पोख्रेल/उज्यालो

काठमाडौ, भदौ २९ – राष्ट्रपति कार्यालयको २ नम्बर गेटमा पुग्दा नै भक्तपुरको परोपकार आदर्श स्कुलकी जेनीकुमारी साह नेपाल हर्षले गद्गद  थिइन । किन यतिधेरै खुसी भएकी नि ? भन्ने प्रश्नमा उनले भनिन् ‘मैले कहिल्यै पनि राष्ट्रपति कार्यालयमा छिर्न पाउँछु भन्ने सोचेकै थिइन, तर आज यहाँ आउन पाएँ, त्यसैमा खुशी छु ।’ भित्र राष्ट्रपतिलाई भेटेपछि त झन् के कस्तो होला भनेर पत्रकारले जिस्काउँदा उनले राष्ट्रपतिलाई भेटन पाउनु असम्भव कुरा हो भन्दै थिइन ।

तर भवनभित्र छिरेपछि माहोल नै बेग्लै थियो । हलभरी भर्खरै बोली फुटेकादेखि १० कक्षासम्म पढ्ने बालबालिका, अनि उनीहरु नजिकै राष्ट्रपति विद्यादेवी भण्डारी बस्नुभएको थियो । देशकै सबैभन्दा ठूलो मान्छेसँग बस्न पाउँदा सबैजसो नानीबाबु कानेखुसी गर्दैथिए । बाल दिवसको पूर्वसन्ध्यामा बुधबार राष्ट्रपति निवासमा भएकोे कार्यक्रममा पुगेका धेरै बालबालिकाले आफूहरु ‘आमाघर’ आएको भन्दै थिए । 

राष्ट्रपतिकोमा पुगेका धेरै बालबालिका अनाथालयमा बसेर पढ्ने बालबालिका थिए । त्यसैले पनि उनीहरुलाई अभिभावक भेटेजस्तै भएको थियो । राष्ट्रपति भवनमा पुगेका सबै बालबालिकालाई मिठो मिठो खाना, कापी पेन्सिल, अनुहार रंग्याउने, बल खेल्ने र चौरमा लडिबुडी गर्ने सुविधा दिइएको थियो । 

टिभीमा मात्रै देख्न पाइने राष्ट्रपतिको घरमा पुगेर उहाँसँग नाचगान गर्न, राष्ट्रपति सानो हुँदाका अनुभव सुन्न र शितल निवासको चौरमा लडिबुडी गर्न पाउँदा उनीहरुको मन फुरुङ्ख थियो । ५÷७ वटा गेट पार गरेर देशकै सबैभन्दा ठूलो मान्छे राष्ट्रपतिको नजिकै जान पाइएला भन्ने कुरा सोचेका पनि थिएनन् बालबालिकाहरुले  । 

तर भित्र पुगेपछि त राष्ट्रपति पनि सँगसँगै बसेर नानीबाबुको नाचगान मज्जा मानेर हेर्नुभयो, बालबालिकाले पनि आमाघरमा आएको बेला त हो नि भन्दै कम्मर मर्काए ।

एकैछिन अघिसम्म राष्ट्रपतिलाई भेट्नु त परैको कुरा हो भन्ने जेनी राष्ट्रपतिलाई भेटेर उहाँका कुरा सुनेपछि निकै भावुक भइन् । ‘म पनि परोपकार आदर्श संस्थामा बसेर पढ्छु, मेरा बुवाआमा हुनुहुन्न, आज उहाँलाई भेट्न पाएँ मैले मेरै आमालाई भेटेजस्तो लाग्यो’ शितल निवासको चौरमा भावुक हुँदै उनले भनिन् ‘मलाइ नाच्न साह्रै मन पर्छ, अरु स्टेजमा नाच्दा हल्का डर लाग्छ र पसिना पनि आउँछ तर आज आमा (राष्ट्रपति) को अगाडी नाच्दा त डर पनि लागेन, सायद उहाँ अभिभावक भएर होला ।’

राष्ट्रपतिलाई भेटेको दिन आफ्नो जीवनकै सबैभन्दा अविस्मरणीय क्षण भएको बताउँदै जेनीले उज्यालोसँग भनिन् ‘ठूला र विदेशमा पढ्न जाने नेपालीले पनि यो अवसर पाउँदैनन् होला, तर हामीजस्तो अनाथालयमा पढ्ने बालबालिकाले पनि राष्ट्रपतिलाई भेट्न पायौं, उहाँ हाम्रो देशको आमा हो, हामी अनाथ हौं हाम्रो आमा नै उहाँ हुनुहुन्छ ।’

राष्ट्रपतिले पनि बालापनको याद गर्नुभयो

अनेक भेषभूषामा सजिएका कलिला बालबालिकाका कुरा र प्रस्तुति हेरेपछि राष्ट्रपति कुनैबेला भावुक पनि हुनुभयो । राष्ट्रपति कार्यालयले दिएका कापीमा चित्र कोर्न व्यस्त बालबालिकाका कलम त्यतिबेला टक्क अडिए, जतिबेला राष्ट्रपतिले आफू सानो हुँदा गरेका कुराको कहानी खोल्न थाल्नुभयो ।

‘मलाई यहाँ आज यसरी भेटघाट गरिरहँदा सानो हुँदाको याद आएको छ । म पनि तपाईंहरु जत्रै थिएँ भन्ने तपाईंहरुलाई लाग्दैन होला, तर मैले त तपाईंहरुले भन्दा धेरै दुःख गरेर पढेको हुँ । नेपालकै विकट मानिने भोजपुरमा हुर्कंदा त्यहाँ छोरीलाई पढाउनुपर्छ भन्ने सोच नै थिएन । मेरो घरको कुरा गर्दा त स्कुल जाने म पहिलो छोरी थिएँ, सायद गाउँभरीमा कोही पनि गएका थिएनन् होला ।

छोराहरुले अलिअलि पढ्थे, तर छोरीहरुलाई त पढाउने चलन नै थिएन । स्कुल पनि निकै टाढा थिए, प्राविमा जाँदा पनि एक घण्टा हिँडेर जान्थें, कहिले त गाह्रो भएर दिनभर बाटैमा बस्थ्यौं, बेलुका छुट्टी भएपछि अरु साथीसँगै फर्कन्थ्यौं । माध्यमिक तहमा पढ्दा ४ घन्टाको बाटो हिँडेर आएर बेलुका घरको सबै काम गर्नुपथ्र्यो । बिहान पनि घाँस दाउरा गरेर स्कुल जानुपथ्र्यो । तपाईंहरुजस्तो गाडी चढेर स्कुल जाने त कल्पना पनि गरेनौं हामीले । अक्षर चिन्दा पनि रातोमाटो भिजाएर सुरुमा औंलाले र पछि बाँसको सिन्काले लेख्नुपथ्र्यो, अहिले त सुरुदेखि पेन्सिल के के पो हुन्छन् ।

विद्यार्थीले भने – उहाँले जति दुःख भोगेको भए त हामीले पढ्न सक्ने थिएनौं

राष्ट्रपतिकोमा पुगेका धेरै बालबालिका सडकबाटै संघर्ष गरेर स्कुल पुगेका थिए । तर पनि उहाँको जस्तो दुःख भने आफूहरुले नपाएको उनीहरु कानेखुसी गर्दैथिए । हलभित्रको कार्यक्रम सकेर बाहिर चौरमा निस्किएर विद्यार्थी नरेशबहादुर शाही भन्दैथिए, ‘हुन त म पनि ग्रामिण क्षेत्रबाटै धेरै दुःख गरेर आएको हुँ, तर उहाँले जति दुःख भोगेको भए त मैले पढ्न सक्ने थिइन होला ।’

‘ठूलो मान्छेले पनि दिनभरी हामीलाई समय दिनुभयो, अचम्मै लागेको छ’

राष्ट्रपतिलाई हरेक दिन टिभिमा देख्ने बालबालिकाले राष्ट्रपति एकैछिन देखिएर अर्कै कार्यक्रममा जानुहुने होला भन्ने सोचेका रहेछन् । तर राष्ट्रपतिले दिउँसो २ बजेदेखि साँझसम्म नै समय दिएपछि धेरैजना बालबालिका छक्क परे  ।

परोपकार स्कुल भक्तपुरमा पढ्ने सरला नेपालले उज्यालोसँग भनिन ‘कहिले पनि सोचेको थिइन उहाँसँग भेट्न पाउँछु भनेर, ठूला मान्छेहरुले त हाम्रो लागि समय दिन सक्नुहुन्न भन्ने लागेको थियो, झन राष्ट्रपतिले नै दिनभरी हाम्रो लागि समय दिनुहुन्छ भन्ने त लागेकै थिएन, तर नसोचेको कुरा उहाँले हामीलाई आफ्नै छोरीलाई जस्तो माया गरेर पूरै दिन छुट्याउनुभयो ।’

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया