MENU

विचार/अनुभूति

ujyaalo forign call inside

दसैंमा परदेशीको चिठी

प्रविधीले धेरै फड्को मारेपनि म भने चिठीपत्रको युगमा फर्कें । चिठीपत्रको महत्व मलाई र मेरा प्रिय बुबा आमालाई अहिलेसम्म पनि विशेष नै लाग्छ । त्यसैलै पत्र लेख्नै मन लाग्यो । फरक यत्ति भयो कि यो पत्र मैले हुलाकमा होइन उज्यालो अनलाइन डटकमको मञ्जुषामा खसाएको छु । 

प्रिय आमाबुबा, बालुवा भूमिबाट ढोग गरें ।
छोरी र श्रीमतीलाई असिम माया । 
सञ्चै हुनुहुन्छ भन्ने आशा छ । 

वसन्त ऋतुको एक साँझ जब काठमाडौंबाट जहाजमा चढें, मातृभूमिलाई आकाशबाट देखुन्जेल धेरै चिहाइरहें । क्षणभरमै म बादल भन्दा माथि भैसकेछु । देश, परिवार र गाउँबाट टाढिँदा मुख छोपेर जहाजमै धेरै रोए । आँशु लुकाउन खोजेपनि ती लुकेनन्, बरु बाहिरसम्मै छचल्किरहे । यात्राको रोमान्चकता कत्तिपनि रहेन । जव कोेही हाँसेको वा खुशी भएको आवाज आउँथ्यो, झसंग हुन्थें । म हाँस्ने मुडमा थिइन । 

केही घण्टाको उडानपछि कतारको हमाद विमानस्थलमा चिन्ता, डर र कौतुहलताले कक्रक्क पारेको ज्यान र मन उतारेको थिएँ । गाउँघरका ठूला बाँस जस्तै सुरिला र तलैतला भएका गगनभेदी भवनहरु । मौसम, रहनसहन, बालुवामा उभिएका खजुरका बोट, छाला डाम्लाजस्तो उखरमाउलो गर्मी, टाढा–टाढासम्म फैलिएका नीला समुद्र र आफूजस्तै निरश नेपाली साथी । कति छटपटी, धारिला यादहरु र आजै उडी जाउँ लाग्ने बेगवान भावुकतामा कति सम्हालिएर बसें । जसोतसो दिन कटिरहेकै छन् । 

ठ्याक्कै ३३ महिना १७ दिन भएछ । उडेका चरा झर्लान जस्तो घामको रापमा आलिशान महल खडा गरिरहँदा इँटा र बालुवा मेरा हरपलका साथी बनेका छन् । दुःख यिनैसँग साट्छु । रीस उठे इँटा माथि पोख्छु । जो नजिक छ उसैसँग त पर्ने रहेछ ठाकठुक र लाग्दो रहेछ माया । एक खालको प्रेम भनौं न । नभए निर्जीवसँग यसरी सम्बन्ध पनि त रहने थिएन नि ।

बुबाआमाको एक्लो सन्तान लामो समयसम्म घर नफर्किंदा परदेशको मोहनीमा फस्यो भन्नेहरु पनि होलान् । चाडपर्व नजिकिंदा बुबा आमाको अनुहारभरी बेखुसीका रेखा दौडिँदा हुन् । श्रीमतीको उज्यालो, चम्किलो मुहारमा मेरो प्रतिक्षा ताजै झल्किंदो हो । बामे सरेर हिँड्न थालेकी छोरीले पनि बाबा भन्न सिकिन् होला । गाउँघरका सबैले कान्छो यसपटक पनि आउँदैन भनेर सोध्दा मन गाँठो पर्दो हो पक्कैपनि । म यो सबैबाट बेखबर छैन । 


आमाको कपाल ढकमक्क फुलिसक्यो होला । बुवाको अनुहार पनि चाउरिन थाल्यो कि ! बुवालाई घर व्यवहार चलाउन गाह्रो परेको छ होला । छोराले भनेजस्तो पैसा पठाएन भनेर मनले थकथकी मान्दै होला । सोच्नु हुँदो हो, अनि कहिलेकाहीँ त मेरो फोटो सुम्सुम्याउँदै भन्नुहुँदो हो यस्तै मात्र पैसा कमाउने भए विदेश नगएको भएपनि त हुन्थ्यो नि नाथु !

लहरै झुल्न तरखर गरेका धानका बाला, पहेलैं ढममक्क फुलेर सुगन्ध  छरिरहेका तोरीबारी, फुल्न थालेको कोदोबारी, मन कल्पनामा कावा खान्छ । दिनहुँ सपनामा घर आफन्त र नेपालकै कुनै ठाउँ मात्र देख्छु । भौतिक शरीर यो मरुभूमिमा रहेपनि मन आखिर आफ्नो देश र आफन्तहरुसँगै जो छ ।
सोच्छु, मन मेरो भन्दा तपाईंहरुको कँडिन्छ होला ।

हिमालको चुचुराले पनि वर्षैपिच्छे फेर्छ नयाँ हिउँ, तर बुवाको शिरको टोपी फेरिएको छैन । आमाका कान रित्ता भएका म जन्मेदेखि नै हुन् । श्रीमती र छोरीका रहर र चाहना त झनै कहिले हो पूरा गर्ने ? 

छिमेकीहरु सोच्दा हुन् पल्लाघरे साईंलाको छोरा, टाकुरा जेठाको छोराले मनग्य कमाएर शहरमा घर, घडेरी जोडिसके भनेर । हो बुवा, उनीहरुले जोडे । तर सबैको कमाई एकनासै कहाँ हुँदो रहेछ र ! यहाँ सोचेजस्तो कमाई छैन । एकदिन कसरी हाम्रा खुसीका दिन नफर्किएलान् र ! यो विश्वास मात्र छ सधैं जवान । 

बुवा चाडपर्व मनाउन घर फर्केका पर गाउँका रामु अंकलसँग केही पैसा पठाएको छु । मैले पठाएको पैसाले तपार्इं, आमा, श्रीमतीलाई नयाँ कपडा किन्न नपुगे पनि छोरीलाई भने किनिदिनुहोला । उधारो भएपनि दसैंमा मिठो मसिनो ल्याउनुहोला । पसलमा बाँकी लिनुहोला । मोबाइल किनेर पठाउँछु भनेको थिएँ, तर यसपटक सकिन । सकें भने तिहारसम्म पठाउनेछु । अनि फोनमा धित मरुन्जेल कुरा गरौंला । 

स्मार्ट फोन नै पठाउने रहर छ । त्यसपछि त मोबाइलमा भएपनि देखादेख पनि गर्न पाइनेछ । डाँडामाथिको जुन बनेका बा आमा अनि फूलबारीको कोपिला जस्ति छोरीको अनुहार हेर्न कम्ति नहतारिएको त म पनि कहाँ छु र ? 

दसैंमा धेरैजसो घर फर्किंदा अरुबेला शून्य लाग्ने गाउँ भरिए होलान्, हाम्रो घर बाहेक । 
अरुबेला मन बुझाउन खोजेपनि चाडपर्व भित्रिएपछि भने साह्रो पर्ने रहेछ । भक्कानो फुटेर आउँछ । कहिले सोच्छु यो जिन्दगीमा कतिसम्म परदेशमै जोतिरहनुपर्ने होला ? कति चाडपर्वहरुमा यसरी आँसुका मूल फुटाई नै रहनुपर्ने होला ?

शुक्रबार बिदाको दिन सम्भव भएसम्म यहाँ नजिक रहेका नेपाली दाजु भाइसँग भेटघाट हुन्छ । हरेक मंगलबार रेडियोमा आउने भाइ सागरको कार्यक्रम सुनिरहन्छु । नेपालगंन्ज एयरपोर्टमा कार्यरत दाई किशोर आचार्यसँग कुरा भइरहन्छ । काठमाडौंमा बायोमेडिकल इन्जिनियर पढिरहेकी छोरी रक्षासँंग पनि हिजो कुरा भएको थियो ।  

अब त जमरा पनि अंकुराउन थाले होलान् । घरमा सानो हुँदा आमा तपाईंले जमरा छर्दा म कत्ति खुसी हुन्थें है । यस्ता सम्झनाले पनि मन गाँठो पारिदिन्छन् । 
मनका कुराहरु लेखेर कहिल्यै सकिंदैन । भोगाइको मूल नसकुन्जेल भावनाका भंगालाहरु त आइरहन्छन् नि । यसवर्ष त मिलेन अर्को बर्षको दसैंमा आउन पाउँछु भन्ने आशा छ । ४ वर्षपछि बाआमाको हातबाट टीका र जमरा लगाउने रहर अर्को वर्ष पूरा हुनेछ । आजलाई यति मै ओझेल पर्छु । 
आफ्नो ख्याल गर्नुहोला । 

उही तपाईंहरुको छोरा/श्रीमान र बुबा दिपक
कतार 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया