MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

विपत्तिको महामारीमा विश्व, जलवायु परिवर्तन मजाक होइन

टंक ढकाल/उज्यालो । 

काठमाडौं, असोज १२ – क्यारेबियन क्षेत्र, अमेरिकाको फ्लोरिडा तथा टेक्सासमा ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति पुर्‍याएको हार्बी, इर्मा र मारिया समुद्री आँधीपछि जलवायु परिवर्तन बारेको चर्चा फेरि उत्कर्षमा पुगेको छ । 

विश्वमा पछिल्लो दशकमा प्राकृतिक विपत्तिको दर बढ्दै गएको र त्यो भन्दा पनि त्यस्ता विपत्तिले निम्त्याउने क्षतिको घनत्व बढी रहने गरेको देखिएको छ । यहि विपत्तिसँग जोडेर जलवायु परिवर्तन र त्यसको प्रभावका बारेमा कुरा हुँदै आएको छ । 

गएको महिना हार्बी र यो महिनाको सुरुमा इर्मा र मारिया आँधीका कारण भएको क्षतिको विश्लेषण गर्दै वैज्ञानिकले समुद्रको सतह बढ्नु तथा समुद्रको तापक्रम बढ्दै जानु जस्ता जलवायु परिवर्तनको प्रभावका कारण क्षतिको स्तर बढेको बताएका छन् । 

तर जलवायु परिवर्तनको प्रभाव र त्यसबाट बाहिर निस्कनका लागि औपचारिक नीति नियम बनाउने तथा कार्यक्रमको नेतृत्व गर्ने राजनीतिक निकायले भने यसलाई अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैज्ञानिकको कुरालाई हावादारी भन्दै जलवायु परिवर्तनका कारण हार्बी र इर्मा आँधीले बढी क्षति पु¥याएको कुरा अस्वीकार गर्नुभएको छ । 

जलवायु परिवर्तन र यसको प्रभावका बारेमा अनुसन्धान गर्दै आएका वैज्ञानिकले भने जलवायु परिवर्तनको प्रभावका कारण पछिल्लो दशककै नराम्रो आँधीलाई थप खराब बनाएको बताएका छन् । जलवायु परिवर्तनका बारेमा अनुसन्धान गर्दै आएको क्लाइमेट सेन्ट्रलका वैज्ञानिक सन सब्लेटले सिएनएनका वेन ड्रयाससँग भन्नुभएको छ, ‘अघिल्ला दशकमा भन्दा यो समयमा यस्ता आँधीको क्षतिको घनत्व बढेको छ । छोटोमा भन्दा जलवायु परिवर्तनले यस्ता खालका खराब आँधीलाई थप खराब बनाएको छ ।’ सबै क्षति र आँधीको कारण नै जलवायु परिवर्तन भने होइन तर जलवायु परिवर्तनले आँधीलाई थप शक्तिशाली र बिनासकारी बनाउन सहयोग गरेको उहाँको भनाई छ ।  

        तस्बिर : बिबिसी
...
गएको साउनको अन्तिम हप्ता नेपालको तराईमा आएको बाढी । त्यसले पु¥याएको क्षति र विस्थापन । यसलाई पनि नेपालमा जलवायु परिवर्तनका बारेमा अध्ययन गर्दै आएका विज्ञले जलवायु परिवर्तनको असरका रुपमा हेरिनु पर्ने बताएका छन् । 

बाढी प्राकृतिक विपत्ति हो । तर यो प्राकृतिक विपत्तिलाई जलवायु परिवर्तनको असरले बारम्बार र त्यसको क्षतिलाई सघन बनाएको जलवायु परिवर्तन र त्यसको असरका बारेमा अनुसन्धान गर्दै आउनुभएका डा. अरुणभक्त श्रेष्ठले बताउनुभयो ।

जलवायु परिवर्तन

आफू वरपरको वातावरण र वातावरीय प्रक्रियामा परिवर्तन आउनुलाई जलवायु परिवर्तनको रुपमा लिन सकिन्छ । जलवायु परिवर्तन तापक्रम वृद्धि हो । वर्षामा आउने परिवर्तन हो । हिम नदीम आउने परिवर्तन हो । तर जलवायु परिवर्तन यत्ति मात्रै भने होइन । यो वातावरणीय तथा जलवायुमा आउने एकीकृत परिवर्तन हो, जसका कारण प्राकृतिक विपत्तिको दर तथा त्यसको प्रभावको घनत्व बढ्छ । 

नेपालको सन्दर्भमा जलवायु परिवर्तनको प्रभाव उच्च हिमाली क्षेत्रदेखि तराईसम्म परेको छ । तर यसको प्रभाव देखिने गरी भने उच्च क्षेत्रमा बढी छ । अहिले कै पुस्ताले साना हिमताल बढ्दै गएको, हिम नदीको आकार फेरिएको, हिम ताल फुटेको तथा तापक्रम बढेको देखेका छन् । यसले गर्दा हिमाली क्षेत्रमा जलवायु परिवर्तनलाई अनुवभ बढी गरिएको यस क्षेत्रमा काम गर्दैआएका वैज्ञानिकले बताएका छन् ।                 

                              तस्बिर : सिएनएन

यसको अर्थ पहाडी तथा तराई क्षेत्रमा जलवायु परिवर्तनले केही असर नै नगरेको भने होइन । तर यि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव स्पष्ट रुपमा नदेखिएको जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका डा. अरुणभक्त श्रेष्ठले बताउनुभयो । 

‘जलवायु परिवर्तन बृहत विषय हो । यही मात्रै जलवायु परिवर्तन हो भन्न गाह्रो छ । कोहीले तापक्रम वृद्धि, कोहीले हिम नदीमा आउने परिवर्तन, कोहीले समुद्रको न्यानोपना त कोहीले वातावरणीय रुपमा हुने विभिन्न विपत्तिको दरलाई जलवायु परिवर्तन र त्यसको असरको रुपमा लिने गरेका छन्’ उहाँले भन्नुभयो, ‘विभिन्न प्राकृतिक विपत्तिको कारण जलवायु परिवर्तन मात्रै हो भन्न मिल्दैन, तर जलवायु परिवर्तनले प्राकृतिक विपत्तिको दरलाई छिटो तथा क्षतिको मात्रा भने बढाउँछ ।’

यसरी हेर्दा जलवायु परिवर्तन न्यानोपन बढ्दै जानु, हिउँ पग्लने तर तीब्र हुनु, हिमतालको आकार बढ्नु, वर्षाको पक्रिया आउने परिवर्तन (समयमा पानी नपर्नु, एकचोटी धेरै पानी पर्नु, खण्डवृष्टि र अनावृष्टिको दर बढ्नु), मानव तथा जीवजन्तुको जीविकोपार्जनमा पर्ने असर र आउने परवर्तन जलवायु परितर्वन र त्यसको प्रभाव हो । 

नेपालमा जलवायु परिवर्तन : अवस्था र अनुकुलन

मानवीय कारणले वातावरणमा हरितगृह ग्यासको उत्सर्जन बढ्दै गएको छ । विशेष गरी विकसित र औद्योगिक देशले प्राकृतिक स्रोतसाधनको क्षमता भन्दा बढी दोहन गरेका कारण कार्बन उत्सजर्नको मात्र बढेको छ । 

तर यसको नकारात्मक प्रभाव भने नेपाल जस्ता विकासशील तथा कम विकसित देशले पनि भोग्नु परेको छ, जसको कार्बन उत्सजर्नमा निकै नगन्य मात्रै हिस्सा रहेको छ । यसो भन्दैमा हाम्रो जस्ता देशले जलवायु परिवर्तनको मुख्य कारणको रुपमा रहेको हरितगृह ग्यास उत्सर्जन गरेका नै छैनन् भन्ने होइन । तुलनात्क रुपमा हाम्रो जलवायु परिवर्तनमा भागिदारी कम छ । 

तर जलवायु परिवर्तका कारण उत्पन्न नकारात्मक प्रभावको भागिदार भने हामी बन्नुपरेको छ । यसको उदाहरणको रुपमा पानी नपर्ने हिमाली क्षेत्रमा पछिल्ला वर्षमा पानी पर्न थालेको छ । स्याउ जस्ता फलफूल फलाउनका लागि पहिले भन्दा लेक (उच्च क्षेत्र) मा जानु परेको छ । पहाडी क्षेत्रमा तराईमा देखिने झिंगा तथा किटाणुको देखिन थालेका छन् । तराईमा नयाँ जीवाणु तथा रोक देखिन थालेका छन् भने खोला र खहरेको स्वरुपमा परिवर्तन आएको छ । 

यसरी हेर्दा जलवायु परिवर्तनले आफ्नो आकारलाई स्पष्ट बनाउन थालेको जलवायु परिवर्तन र त्यसको असरका बारेमा अध्ययन गर्दै आउनुभएका अजय दीक्षितले बताउनुभयो । खडेरी, डढेलो, बाढी, मनसुनी प्रक्रियामा आएको परिवर्तनका कारण स्थानीय स्तरका बासिन्दा बढी प्रभावित भएका छन् । यो अवस्थाको सामना गर्न वा त्यस अनुसार जनजीविकालाई समाजायोजन गर्नका लागि सहभागितामूलक प्रयासको खाँचो रहेको दीक्षितको भनाई छ । 

जलवायु परिवर्तन र त्यसको प्रभावलाई कम गर्ने एउटा उपाय हो, कारण अर्थात कार्बन उत्सजर्न कटौती गर्ने । यसका लागि एउटा मात्रै होइन सबै राष्ट्रको एकीकृत प्रयास चाहिन्छ । विकसित देशले ताक्रम वृद्धिको मुख्य कारणको रुपमा रहेको कार्बन उत्सर्जन कम गर्ने र नेपालजस्ता विकासशील तथा कम विकसित देश, जसले कार्बन उत्सर्जन कम गर्न सहयोग गरिरहेका छन्, त्यस्ता देशलाई आर्थिक सहयोग उपलब्ध गराउने गरी सम्झौता भएको छ । 

पछिल्लो पटक सन् २०१५ मा पेरिसमा भएको सम्मेलन र सन् २०१६ को अप्रिलमा भएको सम्झौतामा यो कुरालाई थप प्रभावकारी रुपमा उल्लेख गरिएको छ । तर अमेरिकाले जलवायु सम्बन्धी पेरिस सम्झौताबाट आफू बाहिरिने निर्णय गरेसँगै यसको कार्यान्वयमा अवरोध आएको छ । पछिल्लो पटक पनि अमेरिकाले तत्काल पेरिस जलवायु सम्झौतामा फर्किने कुनै सम्भावना नरहेको उल्लेख गरेको छ । 

अर्को उपाय हो, अनुकुलन । मानवीय कारणले भएको परिवर्तनले गर्दा वातावरणीय विपत्तिको दर तथा क्षतिको घनत्व बढेको छ । यसबाट बच्नका लागि फेरिएको परिवेसमा जीविकोपार्जनलाई समायोजन गर्नु अर्थात अनुकुलन नै हो । 

फेरिएको मनसुनी पक्रियासँग खेती प्रणालीलाई समायोजन गर्नु, प्राकृतिक विपत्ति थप विनाशकारी बनेर आउने सम्भावनालाई ध्यानमा राखेर पूर्व तयारी गर्नु लगायतका काम अनुकुलनमा पर्ने एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) मा कार्यरत जलवायु परिवर्तन विज्ञ डा. अरुणभक्त श्रेष्ठले बताउनुभयो । 

‘जलवायु परिवर्तनको प्रभाव र असर मुस्ताङ, गोरखा वा तराईमा फरक हुन सक्छ । त्यही फरकपनलाई विचार गरेर अनुकुलन सम्बन्धी प्रयास गर्नु पर्छ’ उहाँले भन्नुभयो ‘त्यसका लागि माथिबाट तलसम्म कार्यक्रमलाई प्रभावकारी बनाएर लैजानु पर्छ ।’

हिन्दकुश–हिमालय क्षेत्र, जसमा नेपाल पनि पर्छ । यस क्षेत्रमा जलवायु परिवर्तनको असरसँग जुध्ने तथा अनुकुलन प्रयासका लागि केही कठिनाइ रहेको छ । यसको मुख्य कारण यो क्षेत्रमा सीमित मात्रै अनुसन्धान हुनु रहेको नेपालमा रहेर जलवायु परिवर्तनका बारेमा अध्ययन गर्दै आउनुभएका अजय दीक्षितले बताउनुभयो । नेपालमा प्राकृतिक विपत्तिको दर कहिले उच्च रहने गरेको र भौगोलिक तथा सामाजिक परिवेश फरक रहेकाले अनुकुलनको प्रयासलाई पनि त्यसै अनुसार समायोजन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

जलवायु परिवर्तन जनचेतना र अनुकुलन प्रयासमा नेपाल

डा. श्रेष्ठका अनुसार जलवायु परिवर्तनको वकालत र जनचेतानमा नेपालको अवस्था राम्रो रहेको छ । ‘हामी नीतिगत रुपमा पनि राम्रै अवस्थामा छौं । नापा (नेशनल एडप्सन प्रोग्रामस् अफ एक्सन), लापा (लोकल एडप्सन प्लान्स फर एक्सन) पनि बनिसकेको छ’ उहाँले भन्नुभयो ‘अब यसलाई कार्यान्वयमा लैजानु पर्छ ।’ 

जलवायु परिवर्तनका कारण प्रभावित हुने स्थानीय बासिन्दासम्म यस्ता कार्यक्रम पुग्नु पर्ने उहाँले बताउनुभयो । त्यसका लागि सरकारी, गैरसरकारी तथा राजनीतिक र स्थानीय बासिन्दाको एकीकृत प्रयास आवश्यक रहन्छ । जलवायु परिवर्तनका कारण प्रभावित भए पनि नेपाललाई अवसर पनि रहेको यो क्षेत्रमा लागेका विज्ञले बताउने गरेका छन् । अवसर यो अर्थमा कि, अहिले देखिनै सचेत भएर काम गरे भविष्यमा सघन भएर आउने विपत्तिको सामना तथा त्यो अवस्थासँग समायोजन गर्न सक्ने क्षमता बन्न सक्छ । ‘विपत्तिको क्षति न्युनिकरणमा हानी नहुनुलाई पनि मुनाफाको रुपमा लिनु पर्छ’ डा. श्रेष्ठले भन्नुभयो ‘जलवायु परिवर्तनमा अनुकुलनको प्रयास पनि त्यस्तै हो, अहिले नै नतिज नदेखिएला तर यसको प्रतिफल भने राम्रो नै हुनेछ ।’ 

जलवायु परिवर्तन मजाक होइन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन हावादारी कुरा रहेको बताउने गर्नुभएको छ । तर यो क्षेत्रका वैज्ञानिक तथा अभियन्ताले भने जलवायु परिवर्तन सत्य रहेको बताउँछन् । डा. श्रेष्ठले भन्नुभयो, ‘जलवायु परिवर्तनलाई शंका गर्ने वा हाँसोमा उडाउने होइन, यो सत्य हो । अब त बरु अनुकुलनका लागि काम गर्नुपर्छ । पछि पछुतो गर्नु भन्दा अहिले नै पूर्व तयारी गर्नु राम्रो हो ।’ 

यही सन्दर्भमा ‘बिफोर द फ्लड’ नाम वृतचित्रका निर्माता रहेका अभिनेता लियोनार्डो डिक्याप्रियाले दुई वर्षअघि ‘द रेभेनान्ट’ चलचित्रका लागि ओस्कार अवार्ड लिँदा भनेका थिए, ‘जलवायु परिवर्तन साँचो हो, हाम्रो साझा घर पृथ्वी समस्यामा छ । जीवजन्तु र बोट बिरुवा समस्यामा छन्, हामी अप्ठ्यारोमा छौं । त्यसैले एक भएर काम गरौं । प्रकृतिलाई माया गरौं ।’ विज्ञले पनि प्रकृतिको माया गर्नु र समस्यासँग जुध्नका लागि तयार रहनु नै उत्तम उपाय रहेको बताउँदै आएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​उद्योगी र उखु किसानबीच सहमति

    सर्लाही, मंसिर २७ –उद्योगी र उखु किसानका प्रतिनिधिबीच गत वर्षकै न्यूनतम मूल्य रहने गरी उखु क्रसिङ सुरु गर्ने सहमति भएको छ ।

  • काठमाडौंमा आज यो वर्षकै कम तापक्रम

    काठमाडौं, मंसिर २७ – काठमाडौंमा बुधबार बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया