MENU

विचार/अनुभूति

ujyaalo forign call inside

हातखुट्टा रहेनछ भन्ने थाहा पाउन आठ वर्ष लाग्यो

आनन्द पासवान -

मेरो जन्मघर भारत हो । म जन्मजात नै अपाङ्ग हुँ । मेरो दुईवटा हात र एउटा खुट्टा जन्मिदा नै थिएनन् । मेरो बुबाकोे काठमाडौं आउने कुनै योजना नै थिएन । बुबाको काठमाडौंमा नै रहनुभएका साथीले ‘तिम्रो छोरालाई काठमाडौं लैजाने हो भने धेरै पैसा कमाउन सक्छ’ भनेपछि मलाई बुबाले काठमाडौं ल्याउनु भएको रहेछ । त्यत्तिबेला म साढे १ वर्षको मात्र रहेछु ।  

काठमाडौंमा ल्याएपछि बुबाले दैनिक सडकमा ल्याएर छाड्नुहुन्थ्यो । सडकमा हिँड्ने मान्छेले मलाई दया गरेर दिएको ५/१०,१००/५० रुपैयाँ नै हाम्रो बाँच्ने आधार बन्यो । बुबाले बिहान ल्याएर सडकमा छोड्नु हुन्थ्यो अनि साँझ भएपछि लिएर जानु हुन्थ्यो । अरुले दिएको पैसा बुबाले के गर्नु हुन्थ्यो त्यो त मलाई थाहा भएन ।  

सडकबाट शुरु भयो चित्रकारिता 

म तीन चार वर्षको भएपछि सडकमा मसिना सिन्का तथा काठका टुक्राहरु टिपेर चित्र कोर्न थालें । बाटोमा हिँड्ने मानिसले मैले बनाएको चित्र मन पराएर मलाई कलम र कापी ल्याइ दिनुहुन्थ्यो । मैले बिस्तारै कलमको सहायताले चित्र बनाउन थालें । देख्नेहरु मेरो चित्र मन पराउनुहुन्थ्यो, राम्रो छ भनेर हौसला दिनुहुन्थ्यो । त्यही दिनदेखि मैले सडकमा नै बसेर चित्र कोर्न थालें । अहिले पनि सडकमा नै बसेर चित्र कोर्छु । सुरुमा म सुन्धाराको धरहरा नजिकै बसेँ । त्यहाँ मैले झण्डै १४/१५ वर्ष विताएँ । त्यसपछि भने रत्नपार्क सरेको हुँ । अहिले म रानीपोखरी नजिक बसेर चित्र बनाउँछु ।

मेरा दुवै हात छैनन् तर केही गर्न सक्दिन भन्ने मलाई कहिल्यै लागेन । सबै कुरा गर्न आँट गर्नुपर्ने रहेछ । म गर्न सक्छु भन्ने कुरा मनमा लियो भने आँट आउने रहेछ । हात र औला नै सबै कुरा होइन रहेछ जस्तो लाग्छ अहिले मलाई । मेरो निरन्तरको प्रयासले अहिले म यहाँ सम्म आउन सकेको हु्ँ । प्रयास गरे के नहुने रहेछ र ? पहिला सडकमा बस्दा दुई चार रुपैयाँ कमाई हुन्थ्यो । मान्छेले दया गरेर दिन्थे । तर चित्र कोर्न थाले पछि भने आम्दानी बढ्न थालेको छ । मैले चित्र कोर्दा भीड लागेर हेर्ने मान्छेहरु कति सहयोग गर्छन । त्यही सहयोगले नै मेरो जीवन गुजारा भइरहेको छ । ‘मैले बनाएको चित्र हेरेर सहयोग गरिदिनुहोस र मैले बनाएको चित्र बेच्छु पनि यसको मूल्य दुई सय ४० भन्दा माथि जति दिएपनि हुन्छ’ भनेर लेखेरै राखेकोे छु । चित्र किन्ने भन्दा पनि त्यतिकै प्रभावित भएर सहयोग गर्ने धेरै हुन्छन् । चित्र किन्न सबैसँग पैसा नहुन सक्छ । त्यसैले होला चित्र किन्ने भन्दा हेरेर सहयोग गर्ने नै धेरै हुन्छन् ।  

हातखुट्टा रहेनछ भन्ने थाहा पाउन आठ वर्ष लाग्यो 

शुरुमा मलाई मेरो दुईवटा हात र एउटा खुट्टा छैनन् भन्ने थाहा नै थिएन । मलाई बुबाले हरेक दिन सडकमा ल्याएर छोड्नु हुन्थ्यो । भुईमा सुतेर म अरुलाई हेर्थें । मानिसहरु हिडेको देखेपछि म पनि उभिने प्रयास गरें तर लडें । पछि थाहा पाएँ मानिसहरु खुट्टाको सहायताले हिडेका रहेछन् । त्यसपछि लाग्यो, मसँग चाहिँ किन नभएको होला ? आफ्नो यस्तो अवस्था थाहा पाउन मलाई आठ वर्ष लाग्यो । त्यो भन्दा अगाडि मलाई म असामान्य छु भन्ने नै लाग्दैन थियो । 

यसरी उभिएर हिँड्न सक्ने भएँ 

एक दिन म वीर अस्पतालमा आफन्तलाई भेट्न गएँ । त्यहाँ जाँदा एक जना मान्छे वैशाखीको साहराले हिडिरहेको देखें । मैले त्यो मान्छे एक खुट्टा छोटो हुँदा पनि कसरी हिड्न सकेको होला ? उसले टेकेको के हो भनेर सोधें ? त्यहाँ भएका मानिसले मलाई त्यो वैशाखी हो, तिमी पनि वैशाखीको साहराले हिड्न सक्छौ भन्ने सल्लाह दिए । तर मलाई म वैशाखीको साहराले हिड्न सक्छु जस्तो नै लागेन । किन कि हिड्ने प्रयास गर्दा धेरै पटक लडेको थिएँ । त्यसैले आँट गर्नै  सकिन । तर सबैले सक्छौ भनेपछि सडकबाट नै सहयोग मागेर वैशाखी किने । 

वैशाखीकै साहरामा हिड्दा पनि म धेरै पटक लडें तर मैले मेरो कोशिसलाई छाडिन । मलाई वैशाखीमा बानी पार्न पनि ६ महिना लाग्यो । अहिले चाहिँ म वैशाखीकै साहरामा हिड्छु । यो वैशाखी टेकेर हिड्न थालेको पनि ६ वर्ष जति मात्र भयो होला । वैशाखीको सहरामा हिड्नु भन्दा पहिला म बामे सारेर विरोलो जस्तै गरी हिड्थेँ । 

मैले बाहिरको दुनियाँ देखेकै थिईन । वैशाखी पनि हुन्छ भन्ने कुरा पनि थाहा थिएन । म रेडियो सुन्दिनथें, टेलिभिजन हेर्दिनथें न त मोवाईल नै चलाउँथें । आफैंले अस्पतालमा वैशाखी देखेपछि भने यस्तो पनि हुँदो रहेछ भन्ने लाग्यो र किनें । वैशाखी भएकोले मलाई अहिले सजिलो भएको छ । मान्छेको अगाडि जान पनि सहज भएको छ । पहिला मान्छेको अगाडि जाँदा पनि घिस्रेर जानु पर्ने भएकाले कपडामा फोहोर लाग्थ्यो । अफ्ठ्यारो पनि लाग्थ्यो । अहिले चाहिँ म पनि सवालाङ्ग मान्छेले हिडे जस्तै गरेर हिड्न सक्छु । अहिले साथीहरुसँगै उभिएर हिड्न सकेको छु । त्यसैले मलाई साह्रै खुशी लाग्छ ।  

सडक नै स्कूल, साथीभाइ हुन् शिक्षक 

मैले औपचारिक रुपमा विद्यालयको आँगन पनि टेकेको छैन । मेरो बाल्यकाल त सुन्धारा र रत्नपार्कमा नै वित्यो । तर साथीको संगतले मलाई अक्षर चिन्न सक्ने बनायो । साथीहरु ट्युसन पढ्न जाँदा म पनि पछि पछि लागेर गएको भरमा ए वि सि डि र क ख ग घ सिक्न पाएँ ।  यो पनि धेरै समय होईन २ महिना जतिमै सिकें ।  यही दुई महिनाको सिकाई पनि मेरो लागि १२ पास भए जत्तिकै हो । म सडकमा नै बसेर बाटोमा हिँड्नेलाई नजानेको कुरा कसरी लेख्ने भनेर सोध्थेँ । मेरो स्कुल नै सडक हो । साथीभाइ मेरा शिक्षक हुन् । 

सडकमा बस्दा मैले धेरै गाह्रो साह्रो सहेको छु । आन्दोलन हुँदा ढुंगामुढा हुँदा भाग्न सक्दैनथें । मेरो साथमा कोही थिएनन् । सामान लिएर जान सक्दैनथें । पानी पर्दा ओत लाग्न सक्दैनथें । त्यतिबेला मलाई लाथ्यो मेरो दुईवटा खुट्टा मात्र भईदिएको भए नि सामान काखीमा च्यापेर भाग्न सक्थें होला । अहिले पनि नियती उही हो । अहिले पनि मलाई त्यस्तै लाग्छ । 

सडकको जिन्दगीबाट निस्कन चाहन्छु  

जिन्दगीलाई पछिल्तिर फर्केर हेर्दा मैले बेकारको जिन्दगी जिएछु भन्ने लाग्छ । मैले धेरै गर्न सक्थें, राम्रो जिउन सक्थें मलाई राम्रो सहयोग गर्ने कोही नहुँदा मैले दुःख पाएँ भन्ने लाग्छ । तर अगाडि हेर्दा जिन्दगी किताब जस्तो लाग्छ । हामी जिन्दगीको जुन जुन पाना पल्टाउँदै जान्छौं रहस्य अझै थाहा पाउँदै जान्छौ जस्तो लाग्छ । भोलिको कुरा त नभए सम्म कहाँ थाहा हुने रहेछ र ? भोली के हुन्छ के थाहा ? तर मलाई मेरो जिन्दगी यतिकै सडकमा नै वित्ने होला त जस्तो लाग्छ । मैले पनि जिन्दगीको बारेमा सोचेको छु । सडकमा नै बसेर जिन्दगीको सपना देखेको छु । मलाई आफ्नै एउटा सानो व्यापार गर्ने रहर छ । मलाई अभिनय गर्न मन छ । म गाउन पनि सक्छु । त्यसैले म यो सडकको जिन्दगीबाट निस्कन चाहन्छु ।  

आमाको उपचार पनि आनन्दकै भरमा 

तीन वर्ष अगाडि सम्म मेरो मम्मी पनि यही फुटपाथमा कपडाको व्यापार गर्नु हुन्थ्यो । तर अहिले उहाँ विरामी भएकोले केही गर्न पनि सक्नुहुन्न । उहाँको दुवै मृगौलामा समस्या छ । मेरै कमाईले कोठा भाडा, खान बस्न देखि आमाको औषधी उपचार सम्म गर्नु परेको छ । मम्मी अस्वस्थ भएकोले अहिले घरको काम पनि आफैंले गर्नुपर्छ । नसक्ने भन्ने केही पनि हुँदैन रहेछ । परिस्थितिले सिकाउने रहेछ सबै कुरा । मान्छेको सिकाई भनेको गाह्रो भएपछि हुँदो रहेछ । गाह्रो नभए सम्म कसैले केही पनि सिक्न सक्दैन भन्ने कुरा मैले बुझेको छु ।

मम्मी विरामी भएपछि मैले समयमा खान पनि पाईन । भोक लाग्थ्यो बनाउन सक्दैनथें । विस्तारै मैले स्टोभ बाल्न आफूलाई दक्ष बनाएँ । स्टोभ बाल्न खोज्दा कतिपटक सलाईले पोलेर फोका उठेको छ । तर पनि मैले हार खाईन । कोशिस गरिरहेँ र खाना बनाउन सकें । अहिले म घरको सबै काम गर्न सक्छु । 

हामी जस्तो अपाङगता भएका व्यक्तिहरुलाई अपहेलना भन्दा पनि अवसर दियो भने धेरै गर्न सक्छौं । आफ्नो बालबच्चा अपाङग भएर जन्मेको छ भने हेला गरेर होईन माया गरेर पाल्नुहोस्, अवसर दिनुहोस् । उनीहरुले पनि धेरै गर्न सक्छन् । उनीहरु पनि जीवनमा अगाडि बढ्न सक्छन् । म जस्तालाई तपाईहरुको माया चाहिएको छ, घृणा होईन । म दुईवटा हात र एउटा खुट्टा नभएर पनि सबै काम आफैं गर्न सक्छु । त्यसैले मलाई तपाईंको माया र आशिर्वाद दिनुहोस् अवसर दिनुहोस् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया