MENU

विचार/अनुभूति

Ncell Axiata

नाना, पापा, चिची र टिकीको औधी रहर हुने त्यो दसैँ

सामान किन्न मलेखु जाने बेला बाले सबैलाई बोलाएर खुट्टाको नापो लिनुहुन्थ्यो । बालाई हुने चप्पल आमालाई मिल्थ्यो । आमा र बाको भन्दा अलि ठूलो आकारको हजुरबालाई चाहिन्थ्यो । बा नै पसल जाने भएकाले उहाँहरुको नापो लिनै परेन । तर हामी दाजुभाइको चाहिँ एउटा कागजको पन्नामा खुट्टा राखेर वरपर पेन्सिलले कोरेर बाले नापो लिनुहुन्थ्यो ।

यसरी जुत्ता चप्पलको नापो दसैँको बेलामा नै लिइन्थ्यो । अरुबेला आक्कलझुक्कल मात्रै हाम्रो नयाँ चप्पल र जुत्ताको रहर पूरा हुन्थ्यो । छिनेको तुना दश ठाउँमा गाँसेर एउटै पुरानो चप्पलले महिनौं काम चलाइन्थ्यो । जुत्ता त झन् वर्षौंसम्म टिकाउनुपथ्र्यो ।

बाले नयाँ ल्याउने समयभन्दा अघि नै जुत्ताचप्पल फाट्यो भने खाली खुट्टा नै हिंड्नुपथ्यो । पैतालामा काँडा बिझाउँदै र दशतिर ढुंगोमा औंला ठोकाउँदै यसरी खाली खुट्टा धेरै हिंडियो । खाली खुट्टा हिंड्दा ठेस लाग्ला भनेर कति पटक त दुई औंला धागोलेसमेत बाँधियो । यसो गर्दा ठेस लाग्दैन भनेर आमाले भन्नुहुन्थ्यो ।

अरुबेला खाली खुट्टा हिँडेपनि दसैँको बेला भने हाम्रो चुरीफुरी नै बेग्लै हुन्थ्यो । बेलुका बा मलेखुबाट फर्किएपछि नयाँ लुगासँगै चप्पल पनि पाउँदा हामी केटाकेटी तीनबित्ता उफ्रिन्थ्यौं । पट्याक पट्याक चप्पल बजाउँदै बाटोमा हिँड्दा गाडी चढेको भन्दा बढी आनन्द महशुस हुन्थ्यो ।

चप्पल पाएर हजुरबा र आमा पनि दंग पर्नुहुन्थ्यो । कपडाको हरियो रंगको मेल्टरी जुत्ताको ऊबेला अलिक बढी फेशन थियो । ठिटादेखि बुढासम्मको खुट्टामा यही जुत्ता देखिन्थ्यो । हजुरबा र बाले पनि यही लगाउनुहुन्थ्यो ।

आमा पनि बाक्लो फित्ता भएको चप्पल लगाएर पानीपँधेरा र घाँस दाउरा गर्नुहुन्थ्यो । घरका सबैलाई लुगासँगै जुत्ता चप्पल हुन्थ्यो । तर हजुरआँबैलाई भने मजेत्रो, धोती, पटुका जस्ता लुगा मात्रै, चप्पल हुँदैनथ्यो । किनकी हजुरआँबैले चप्पल लगाउनुहुन्न थियो ।

नयाँ लुगा सिउनेबेलाको रमाइलो झनै बढी हुन्थ्यो । पिठ्युँमा लुगा सिउने कल बोकेर परबाट रने दाइ घरतिर आउँदै गरेको देख्ने बित्तिकै हामी केटाकेटीका भूईंमा खुट्टा हुन्नथ्यो ।

रने दाइ नयाँ लुगा सिउने बेला मात्र घरमा आउँथे । पिँढीको छेउमा कल बिसाएर उनी एकपटक खुईय... सुस्केरा हाल्थे । हामीसँग गुन्द्री माग्थे र आँगन या पिँढीको एक छेऊमा ओछ्याएर कल मिलाउँथे । खल्तीबाट धागो झिकेर कलमाथिको छेस्कोमा राख्थे । कलको बिँड फनननन घुमाएर धागो बेर्थे ।
अनि यता र उता उनेर एकैछिनमा लुगा सिउन मिल्ने गरी धागो फिटफाट पार्थे । सियोको सानो प्वालमा उतिखेरै धागो छिराउँथे उनी । हामीलाई सियोमा धागो घुसाउन निकैबेर लाग्थ्यो । तर रने दाइ सियोमा राम्ररी नहेरीकनै एकैक्षणमा धागो छिराउँथे ।

कलमा धागो फिटफाट गरेपछि उनी लुगा मगाउँथे । हामी बुरुकबुरुक उफ्रिँदै भित्रबाट आमासँग मागेर लुगा ल्याउँथ्यौ । लुगा छेक्ने भनेर उनी हामीलाई अगाडी बोलाउँथे र फित्ताले नापो लिन्थे । उनी हामी केटाकेटीलाई पनि तपाईं भनेर बोलाउँथे ।

हामी ठूला केटाकेटी कपाल दाह्री फुल्नै लागेका ती दाइलाई तिमी भनेर बोलाउँथ्यौ । उनलाई मात्रै होइन बुढाबुढी भैसकेका सबै दलितहरुलाई हामी यसैगरी सम्बोधन गथ्र्यौं । उनीहरुलाई तपाईं भनेर बोलाउनुपर्छ भनेर हामीलाई कसैले सिकाएन । अरुले उनीहरुलाई तिमी भनेर सम्बोधन गरेकोले हामीले पनि त्यही सिक्यौं ।

तपाईं भनेर बोलाउन नमिल्ने र छुन नहुने तिनै रने दाइले सिएको नयाँ लुगा लगाउन पाउँदा हामी दंग परेर फुरफुर हुन्थ्यौं । उनले लुगा सिउँदासम्म कहिंकतै हलचल नगरी एकटकले हेरिरहन्थ्यौं ।

नयाँ लुगाको बास्ना पनि सुँघिरहन मन लाग्ने । कहिलेकाहीं घरमा सिलाउन नभ्याएको लुगा रने दाइले उनकै घरमा लगेर सिलाउँथे । अनि त्यो लुगा लिन बा आमाले हामीलाई पठाउँथे ।

स्कूलबाट फर्कने बेला लुगा लिन हामी उनको घर जान्थ्यौं । धेरैपटक उनको घर जाँदा लुगा सिएकै हुन्नथ्यो । रने दाइलाई सितिमिति घरमा भेट्न समेत मुश्किल । उनको घर जान नपरोस् जस्तो लाग्ने ।

उनको घरमा गाईभैंसी हुँदैनथ्यो, तर देख्दै डरलाग्दो भुक्ने कुकुर चाहिँ सधैं आँगनमा बसिरहेको हुने । तगारामै सुँगुरको खोर । च्याऊँच्याऊँ कराइरहने त्यो सुँगुर पनि खोरबाट निस्केर टोक्ने हो कि भन्ने डर । तैपनि नयाँ लुगा लिन बेलाबेला रने दाइको घर गइरहनुपथ्र्यो ।

टाढा घर भएका रने दाइ लुगा सिउनको लागि मात्र हाम्रो घरमा आउँथे । घर नजिकका अरु दमाइ दाईहरु दशैं डाक्ने बेला बाजा बजाउन आइपुग्थे । जमरा राख्ने आसपासको दिन केसरे दाइ काँधमा नरसिंगा भिरेर आँगनमा झुल्कन्थे ।

काँधबाट नरसिंगा झिक्थे । तल्लो छेउ जोड्थे र सानो प्वालमा यसो मुख रगड्थे । अनि एकपटक टुर्र, टुरुरु पारेपछि नरसिंगाको ताल निस्कन्थ्यो । अनि भन्थे, ल ठूल्बाबु दसैँ डाकिदिएँ । अनि हामी फुरुंग उफ्रन्थ्यौं ।

हाम्रो लागि दसैँ ल्याउन मरिहत्ते गर्ने यी दाईहरुलाई मनमनले धन्यवाद दिन्थ्यौं । नरसिंगा बजाएर दसैँ डाक्ने केशरे दाई र चिटिक्कको नयाँ लुगा सिइदिने रनेदाइ हामीलाई दसैँ ल्याइदिने असली पात्र थिए ।

घरमा हजुरबा, बा, हजुरआँबै र आमाहरुले त पहिलेदेखि नै दसैँ ल्याइदिनुहुन्थ्यो । हजुरबाले बाबियो भिजाएर पिङको डोरी बाट्नुहुन्थ्यो । बाले बर्रोको दाउरा मठारेर कापे बनाइदिनुहुन्थ्यो । काकाले आँगनमा खाँबो गाड्नुहुन्थ्यो । उतिखेरी आँगन छेउको घिरौंला पातलाई मच्चिएर छुन मिल्ने गरी पिङ बन्थ्यो ।

आमा र हजुरआँबैहरुको छुट्टै काम । ढिकीमा पहिले धान कुट्ने दाँत भएको मुसल झिकेर सोलोमोलो काठको मुसल फेर्नुहुन्थ्यो । छेउमा अँगेना बनाएर हाँडी बसाल्नुहुन्थ्यो । भिजाएको धान ल्याएर कार्कीले भुट्नुहुन्थ्यो । आमाले भकुर्नुहुन्थ्यो । हजुरआँबै तल बसेर घान लाउनुहुन्थ्यो ।

आमाले ढिंकी उचालेको बेला हजुरआँबैले ओखलमा हात हाल्दा कतै लाग्ने हो कि भनेर हामीलाई डर लाग्थ्यो । तर यस्तै काम गरेर बानी भएकी हजुरआँबै हामीभन्दा चलाख हुनुहुन्थ्यो ।

धान कुटेको बेला ढिंकीको वरपर नपर्ने बा, हजुरबाले पनि चिउरा कुटेको बेला चाहिँ सघाउनुहुन्थ्यो । ढिकीका कुटेको तातो चिउरा मुखमा हाल्नु कम स्वादको हुन्नथियो । नाना, पापा, चिची र टिकी दसैँको त्यो रमझम अहिले त सम्झनामा मात्र छ । फेरि यसैगरी दसैँ मनाउन पाए पो !

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बन्दी चेतनाको ‘जाँच प्रयोग’

    “यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए ।

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया