MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

लस भेगास गोलीकाण्डः ५९ जनाको ज्यान लिने बन्दुकधारी को हुन् ?

असोज १७ – अमेरिकाको लस भेगासमा कम्तिमा ५९ जनाको ज्यान जाने गरी अन्धाधुन्ध गोली चलाउने ६४ वर्षे स्टीभन प्याडकका बारेमा प्रहरीले केही जानकारी खुलाएको छ । तर अहिलेसम्म प्याडकले किन गोली चलाएका हुन् भन्ने चाहिँ खुलेको छैन र प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ । 

लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा स्थानीय सयम अनुसार आइतबार राति प्याडकले अन्धाधुन्ध गोली चलाएका हुन् । प्याडकले होटलको ३२ औँ तलबाट अन्धाधुन्ध गोली चलाएको प्रहरीले बताएको छ । 

को हुन् प्याडक ?

नभाडाको मेस्किटका बासिन्दा प्याडक पूर्व एकाउन्टेट (लेखापला) हुन् । उनी आर्थिक रुपमा सम्पन्न रहेको र उनले अवकासपछिको जीवन बिताइरहेका थिए । उनी सेप्टेम्बर २३ देखि लस भेगासको मान्डेले बे रिजोर्टको ३२ औँ तलमा रहेको कोठामा बस्दै आएका थिए । 

उनले स्थानीय समय अनुसार आइतबार राति रिजोर्टको बाहिरी क्षेत्रमा भइरहेको ओपन एयर काउन्टी म्युजिक फेस्टिभलमा अन्धाधुन्ध गोली चलाउँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । घटनामा ५ सय २७ जना घाइते भएका छन् । 

लस भेगास प्रहरीले प्याडक बसेको होटल कोठाबाट २३ वटा बन्दुक बरामद गरेको छ । यस्तै उनको नभाडाको घरबाट थप १९ वटा बन्दुक बरामद भएको प्रहरीले दिएको जानकारी उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ । उनको घरमा बन्दुकसँगै विस्फोटक पदार्थ, हजारौं राउण्ड गोलाबारुद र केही विद्युतीय सामग्री फेला परेको प्रहरीले जनाएको छ । उनको कारबाट पनि केही गोलबारुद बरामद भएको सिएनएनले उल्लेख गरेको छ । 

प्याडकसँग पाइलट तथा हंटिङ्ग (शिकार) लाइसेन्स रहेको सरकारी अधिकारीले बताएका छन् । प्याडक विरुद्ध यसअघि कुनै पनि आपराधी आरोप नलागेको प्रहरीले जनाएको छ । सम्बन्ध विच्छेद गरेका व्यक्ति रहेको र उनका छोराछोरी छैनन् ।

प्याडकका पूर्व छिमेकीले उनी व्यवसायिक जुवाडे रहेको र उनको स्वभाव अजिव किसिमको रहेको बताएको बिसिसीले जनाएको छ । प्याडकले किन गोली प्रहार गरे भन्ने अहिलेसम्म नखुले पनि उनमा मानसिक समस्या रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । 

लस भेगास गोलीकाण्ड पछिल्लो समय अमेरिकाको इतिहासमा सबै भन्दा प्राणघातक हो । यसअघि सन् २०१६ को जुमा फ्लोरिडाको ओरलान्डोमा रहेको नाइट क्लबमा भएको गोलीकाण्डमा ४९ जनाको ज्यान गएको थियो । 

प्याडकले अन्धाधुन्ध गोली चलाएपछि प्रहरी उनलाई खोज्दै होटलसम्म पुगेको थियो । तर उनले प्रहरी नजिक आएपछि आफैलाई गोली हानेको र उनको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । लस भेगास गोलीकाण्डपछि अमेरिकामा आन्तरिक आतंकवाद तथा बन्दुकको लाइसेन्समा नियम र नियन्त्रण गर्ने विषयमा चर्चा चुलिएको छ । 

- तस्बिरः एजेन्सी

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया