MENU

विचार/अनुभूति

ujyaalo forign call inside

वाम एकताको अभियानः आशा भन्दा आशंका धेरै

मिलन तिमिल्सिना–

एमाले, माओवादी र नयाँ शक्ति पार्टीले चुनावी तालमेलसँगै पार्टी एकता नै गर्ने भए भन्ने सुन्दा अझै पनि धेरैलाई विश्वास लागेको छैन । दसैँको रमझम नसकिँदै एकाएक देखिएको राजनीतिक तरंगले धेरै आश्चर्य चकित भएका छन् । मंगलबार तीन पार्टीका शीर्ष नेताहरुले सहमतिपत्रमा हस्ताक्षर र हातेमालो गर्दै एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष गर्दा आशासँगै आशंका गर्नेहरुको जमात पनि बढेको छ । यो एकीकरण चुनावसम्म मात्र हो कि त्यसपछि साँच्चै एउटै कम्युनिष्ट पार्टी बन्छ भन्नेमा स्वयं नेता कार्यकर्ता समेत अलमलमा छन् ।

पहिलो कुरा त चुनावको मुखमा कम्युनिष्ट पार्टीहरुबिच एकता हुनु सकारात्मक संकेत हो । यसले छरिएर रहेका अरु कम्युनिष्ट पार्टीहरुलाई पनि एक ठाउँमा उभ्याउन बल त मिल्छ नै । आन्तरिक किचलोमा अल्झिएको नेपाली कांग्रेसलाई समेत एक ढिक्का बनाउन दबाब पुग्छ । त्यसैले वाम पार्टीहरुलाई एक ठाममा ल्याउन र अरु पार्टीहरुको आन्तरिक एकता बलियो बनाउनको लागि यो सकारात्मक संकेत हो ।

अर्को महत्वपूर्ण कुरा, वाम एकताको यो अभियानले देशमा राजनीतिक स्थिरता ल्याउँछ भन्ने धेरैको विश्वास छ । लामो समयदेखि कुनै पनि एक पार्टीको बहुमत नआउँदा सरकार सञ्चालनमा गठबन्धनको संस्कृति भित्रियो । यसले राजनीतिक विकृति मात्र ल्याएन, विकास निर्माणको काम पनि पछि धकेलियो । बाम धु्रवीकरणको अभियानले प्रजातान्त्रिक शक्तिलाई पनि एक ठाउँमा उभिन दबाब पुग्छ । अनि आगामी चुनावबाट कुनै एक दलको बहुमत आउने निश्चित हुन्छ । 

हुन त एकता अभियानको घोषणा कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले एकै स्वरमा चुनावपछि कम्युनिष्टहरुको दुई तिहाई बहुमत पुग्ने दाबी गरेका छन् । भर्खरै सकिएको स्थानीय चुनावको परिणामलाई विश्लेषण गर्दा नेताहरुको दाबी असम्भव पनि देखिँदैन ।

कार्यकर्ता व्यवस्थापन र चुनावी तालमेललाई त्यसै ढंगले अगाडि बढाउन सके भने आउँदो चुनावमा कम्युनिष्टहरुको बहुमत आउन सक्छ । चुनावी तालमेलले भनेजस्तो परिणाम आयो भने उनीहरुलाई पार्टी एकता गर्न दबाब पनि पुग्छ । कम्युनिष्टहरु एक ठाउँमा उभिने बित्तिकै कांग्रेससहित अरु प्रजातान्त्रिक शक्तिलाई पनि एक ढिक्का बन्न प्रेरणा मिल्छ । जसले राजनीतिक स्थिरतलाई नै बल पुर्याउँछ ।

आशंका झन् धेरै

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमतिले आउँदो चुनावपछि देशमा राजनीतिक स्थिरता आउने सन्देश त दिएको छ । तर आशा र अपेक्षाभन्दा आशंका धेरै छन् । 

नेपालका कम्युनिष्ट पार्टीहरुमा जुट्ने भन्दा फुट्ने प्रवृत्ति धेरै छ । एउटै पार्टीभित्र पनि गुट, उपगुट झाँगिएको छ । व्यक्तिगत र पार्टीगत स्वार्थले प्रायः सबै नेता ग्रसित छन् । कुर्सीको लागि जे गर्न पनि तयार हुन्छन् भन्ने कुरा विगतमा उनीहरुले देखाएको व्यवहारबाटै पुष्टि भैसकेको छ ।

यसअघि ओलीलाई प्रधानमन्त्री बनाउँदा, प्रधानमन्त्रीबाट हटाउँदा अनि पछिल्लोपटक पार्टी एकताको अभियान घोषणा गर्दा प्रचण्डले राजनीतिमा असम्भव भन्ने कुरा केही छैन भन्ने कुरा दोहोर्याउनुभएको छ । अहिले चुनावी तालमेल र पार्टी एकताको अभियान घोषणा हुनुलाई यही अर्थ लगाउने नेताले भोलिपर्सि फेरि गठबन्धन तोड्दै ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन’ भनेर व्याख्या नगर्लान् भन्ने आधार के छ ?

त्यसमाथि एमाले, माओवादी र नयाँ शक्ति पार्टीका विचार र अडानमा आकाश पातालको फरक छ । संविधान र मधेसलाई हेर्ने दृष्टिकोण फरक छ । नेता र कार्यकर्तामा एकअर्काप्रतिको तिक्तता कायमै छ । तीनै पार्टीका नेताबिच एकअर्काप्रति आलोचना नगर्ने सहमति त भएको छ । तर पार्टी एकता अभियानको घोषणासँगै नेता कार्यकर्ता पंक्तिबाट क्रिया प्रतिक्रियाबाट पार्टीहरुको आन्तरिक व्यवस्थापनमा ठूलो चुनौती देखिन्छ ।

एउटै पार्टीबाट चुनाव लड्दा पनि उम्मेदवारका आकांक्षी धेरै थिए । तालमेलको घोषणा हुनुअघि केही जिल्लामा एमाले र माओवादीले उम्मेदवार टुंगो समेत लगाइसकेका छन् । अब तालमेल मिलाउँदा आकांक्षीलाई थामथुम पार्न निकै कठिन हुने देखिन्छ । हिजोसम्म एकअर्का पार्टीप्रति आलोचना गर्दै आएका नेता कार्यकर्ताको मनोविज्ञानलाई मिलाउन पनि उत्तिकै चुनौती छ । जसोतसो चुनावमा यी चुनौतीलाई पार लगाएपनि त्यसपछि पार्टी एकीकरणको बेला त्यसको व्यवस्थापन कसरी हुन्छ भन्ने आशंका झन् बढी उब्जिएको छ ।

अनि पहिले पनि कम्युनिष्ट एकता हुनुपर्छ भन्ने तर टुट, फुट र गुटमा रमाउने उनीहरु अहिले किन एक ठाउँमा उभिन तयार भए भन्ने आशंका गर्नेहरु पनि धेरै छन् । हुन त नेताहरुले चुनावी तालमेल र पार्टी एकीकरणको अभियान कांग्रेस लगायत अरु कसैको बिरुद्धमा होइन त भनेका छन् । तर व्यवहारबाट यो कुरा देखिन जरुरी छ । 

जे होस् कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु उनीहरुका लागि मात्र होइन देशकै लागि सकारात्मक सन्देश हो । देशमा राजनीतिक स्थायित्व र विकास निर्माणले फड्को मार्छ भन्ने संकेत पनि हो । तर उनीहरुको एकता चुनावबाट सत्ता चलाउनको लागि मात्र हो या त्यसपछि एउटै कम्युनिष्ट पार्टी बनाएर देशमा आर्थिक क्रान्ति ल्याउने उदेश्यले पनि हो भन्ने भरपर्दो र विश्वासिलो आधार अझै पनि देखिएको छैन । 

एकता अभियानको घोषणा गर्दा हातेमालो गर्ने तिनै शीर्ष नेताहरुका विगत व्यवहारबाट आमनागरिक मात्र होइन, उनीहरुकै कार्यकर्ता समेत आशावादी छैनन् । आफ्ना कार्यकर्तासँगै आमनागरिकमा आशा र विश्वास जगाउने काम तिनै शीर्ष नेताहरुको आगामी कदम र व्यवहारमा भर पर्छ ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

  • खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता

    एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया