MENU

अर्थ

Ncell Axiata
NIC Asia

​राँगोबाटै वार्षिक साढे ३ लाख कमाई

प्रकाश धौलाकोटी/उज्यालो । 

तेह्रथुम, असोज २० – भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी गर्न सकिन्छ भन्दा अनौठो नहोला । तर यहाँका केही किसानले भने राँगो पालेरै भैँसीबाट भन्दा धेरै आम्दानी लिइरहेका छन् ।

बीउका लागि ल्याएका उन्नत जातका राँगो पाल्ने यहाँका किसानले भैँसीलार्ई बीऊका लागि बहालमा सेवा दिएरै वार्षिक लाखौँ रुपैयाँ कमाउने गरेका हुन् । 

पहाडी जिल्लाका लेकाली गाउँमा घरै पिच्छे जस्तो भैँसी पाल्ने चलन अझै हराएको छैन । गोठमा दुहुनो भैँसी भएमात्र घरको मुहार उज्यालो हुने पुख्र्यौली कथन पनि छ । तर भैँसीलाई चाहिने बीऊको राँगोलाई स्यहार गर्ने किसानको संख्या भने वर्षेनि घट्दै छ । त्यसैले पनि गाउँमा राँगो पाल्ने र बहालमा लगाउने किसानका दिन फिरेका हुन् । 

राँगो पालेर भैँसीको जत्ति आम्दानी लिन नसकिने भएपछि राँगोलाई मासुको रुपमा प्रयोग गर्ने चलन छ । खानपिन र स्याहार धेरै मेहिनेत गर्नुपर्ने भएकैले पनि राँगो पालन त्यति सजिलो छैन । तर गाउँमा भैँसीलाई बीऊ राँगो पाउन छाडेपछि फेदाप गाउँपालिका–२, ओयाक्जुङका उमानाथ रिमालले बीऊका लागि किनेको राँगो अहिले आम्दानीको राम्रो श्रोत बनेको छ । 

रिमालले राँगोलाई स्याहार गरेबापत राँगोको बहाल उठाएर वार्षिक ३ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । बीऊका लागि पालेको राँगोको एउटै भैँसीबाट दूरी हेरेर १ हजार देखि २ हजार ५ सय रुपैयाँसम्म बहाल लिने गरेको रिमाल बताउनुहुन्छ । ‘बिहान उठेदेखि साँझसम्म राँगोको स्याहारमै बिताउँछु’, रिमाल भन्नुहुन्छ, ‘राँगोको स्याहार गरेर सबै साथीभाईको चित्त बुझाउन सके आम्दानी पनि राम्रै हुने रहेछ ।’

रिमालले ओयाक्जुङसँगै जलजले, पौठाक, श्रीजुङ, म्याङलुङ, साब्ला, तम्फुला, आम्बुङ र सोल्मासम्म राँगो लगिदिएर सेवा दिने गरेको बताउनुभयो । आजभोलि रिमालको परिवारको आम्दानीको मुख्य श्रोत नै राँगो बनेको छ । राँगोबाट आएको आम्दानीले नै सामान्य खर्चदेखि चाडपर्वसमेत धान्ने गरेको छ । 

राँगो पालेर बीऊका लागि प्रयोगमा ल्याएर आफूले पनि राम्रो आम्दानी गरेको बताउनुहुन्छ, फेदाप गाउँपालिका–५, इसिवुका कृषक धर्मसिङ बस्नेत । गाउँमा बीऊकालागि राँगो पाउन छाडेपछि यहाँका भैँसीपालक किसानले लुकुवा चौतारा सामुदायिक वन समूहमार्फत नै कृषक बस्नेतलाई राँगो किन्न सघाएर गाउँमै बीऊ राँगो पालिएको हो । सामान्य आर्थिक अवस्था भएका बस्नेत अहिले राँगोबाट आएको आम्दानी नै छोराछोरीको पढाई, बिहान बेलुकाको छाक टार्न र चाडपर्वको खुशी बन्ने गरेको बस्नेत बताउनुहुन्छ । 

बीऊका लागि खरिद गरी ल्याएको राँगोबाट सिम्ले र ईसिवु तथा सम्दुकासमेत किसानलाई सेवा दिँदै आएका बस्नेतले पनि ३ लाख रुपैयाँ बढी कमाउने गरेका छन् । बस्नेतलाई सामुदायिक वन समूहले बहुसरोकारवाला वन कार्यक्रम अन्तर्गत २५ हजार रुपैयाँ बिना ब्याज ऋण उपलब्ध गराएर सहयोग गरेको थियो । सामुदायिक वनमा नेपाल ग्रामीण पुनःनिर्माण संस्था र सामुदायिक वन उपभोक्ता जिल्ला महासंघले साझेदारीमा बहुसरोकारवाला वन कार्यक्रम सन्चालन गरेका थिए । 

बस्नेतले पालेको राँगोबाट यहाँका दुई सय बढी घरधुरीले प्रत्यक्ष र अरु दुई सयले अप्रत्यक्ष रुपमा सेवा लिइरहेका छन् । ५० हजार रुपैयाँमा खरिद गरी ल्याएको राँगोको बहाल नजिकमा जाँदा १५ सय र टाढासम्म जाँदा दुरी अनुसार लिने गरी निर्धारण गरिएको छ । राँगोकै आम्दानीले अहिले राँगो खरिदका लागि लिएको ऋण चुक्ता गरेर अरु दुई वटा दुहुना भैँसी पनि जोडिसकेको बस्नेतले बताउनुभयो । 

गाउँमै उन्नत जातको राँगो ल्याएर व्यवसायिक रुपमा नै पाल्न थालेपछि अहिले बहाल उठाउन पनि खासै समस्या नरहेको ओयाक्जुङका अम्बिका दुलालले बताउनुभयो । उन्नत जातको बीऊ राँगोको प्रयोगबाट गाउँका भैँसीमा दूध घ्युको मात्रामा वृद्धि हुनुका साथै पाडा–पाडी पनि फष्टाउन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया