MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

व्यंग्यः मिल्न लागेका वामलाई नाम र झण्डा बाधक

मिलन तिमिल्सिना –

दसैँमा धेरै खाएर यिनीहरुले चुपचाप हल्ला गरेका हुन् कि भन्ने धेरैलाई लागेको थियो । तर हल्ला भन्दा धेरै सल्लाह नै गरेर सगोलमा बस्न लागेको भन्दै ठूला वामहरु गमक्क छन् । साँच्चै सधैँका लागि सगोलमा बस्ने हो भने वामहरुले नाम र झण्डा नफेरी नहुने भएको छ । नत्र त्यही नाम अनुसारको काम र झण्डाको धारले उनीहरुलाई फेरि बर्बाद बनाउन बेर छैन ।

वामहरुको नाम कम्युनिष्ट । कम्युनिष्ट भनेर कन्नुभन्दा कमनिष्ठ भन्नु धेरै सजिलो । कमनिष्ठ अर्थात निष्ठा कम भएको । कम्युनिष्टहरुले अहिलेसम्म कमनिष्ठकै व्यवहार देखाइरहेका छन् । बढि निष्ठा अर्थात निष्ठावान भएको भए त पद र कुर्सीकै लागि पटपटक फुट्ने, बरालिने, भौंतारिने, घुक्र्याउने, फुर्क्याउने किन गर्थे होला र ?

विश्वका कम्युनिष्टहरुलाई एकजुट हुन आह्वान गर्दै हाम्रा कमनिष्ठहरु अहिलेसम्म फुट र गुटमै रमाइरहे । सगोलमा हुँदा सबैलाई मुली हुने अवसर मिल्दैन । मूलीलाई बेलाबेला मूला बनाएपनि मूला बनाएको मुली मूलाजत्रो नाक ठाडो पारेर बसिरहन्छ । मुलीको लागि पालो पर्खंदापर्खंदै काल बित्छ । सगोलमा बसेर कचकच गर्नुभन्दा छुट्टिएर मुली बन्नुको फाइदा धेरै छ । बाहिरबाट मूला देखिएपनि ऊ मुली नै कहलिन्छ ।

त्यसमाथि ठूलो आकारभन्दा सानो आकार हुँदा नै घुसपैठ र चलखेल गर्न सजिलो हुन्छ । ठूला आकार भएकाहरुलाई न्वारनदेखि बल लगाउँदासम्म कुर्सी भेट्न मुश्किल । सानाहरुलाई त कहिले यसकोमा, कहिले उसकोमा छिर्दै, आड लिँदै पालैपालो सत्ताको स्वाद लिन फाइदा हुन्छ । त्यसैले ठूलो परिवारमा रुमल्लिएर हराउनुभन्दा एक्लिएर स्वाद लिनुको मजा नै बेग्लै । त्यसैले हाम्रा कमनिष्ठहरु संसारकालाई एक हुन आह्वान गर्दै आफू चिराचिरामा एक्लिएका हुन् । 

फुटाउन र चिरा पार्न बाहिरी हातहतियार भन्दा आफैंभित्रका स्वभाव र चिज नै काफी छन् । चरचर चिरा पार्ने हँसिया र ब्वाङ की ब्वाङ्की ठोकेर चोइटाउने हथौडा खोज्न अन्त भौंतारिनु नै पर्दैन । आफ्नै झण्डाभित्र छ । हँसिया भन्दा तिखा जिब्रा सबै नेताको मुखभित्र छ । धार भुत्तिन लागेको हँसिया उदाउँदै र टाउको खियिएर दोब्रिन लागेको हथौडा सोझ्याउँदै उनीहरु बेलाबेला घरको भित्ता फोर्न र थाम काट्न जाइलाग्छन् ।

आफ्नै खुट्टामा घाऊ लागेको पत्तो नपाएर उनीहरु घर भत्काएर निस्कन पाएकोमा खुशी हुन्छन् । छोडेर हिंडेको घरलाई धारे हात लगाउँछन् । अस्तिसम्म मिलेर बसेका परिवारका सदस्य अब उनीहरुका लागि सबैभन्दा शत्रु ठहरिन्छन् । आफू बस्दासम्म चिरिच्याट्ट मिलेको घरलाई उनीहरु कुरुप र काम नलाग्ने देख्छन् । 

हँसिया भन्दा तिखो जिब्रो भएका कम्निष्ठहरु छुट्टाभिन्न हुने बित्तिकै अघिसम्म अँगालोमा बेरिएको अर्कोलाई सत्तोसराप गर्छन् । भित्तामा रहेको ठूलो ऐना अगाडि उभिएर उनीहरु अर्को कम्निष्ठलाई चोर औंला ठड्याई ठड्याई गाली गर्छन् । बिसर्जनवादी, फूटवादी, पदलोलुपतावादी, अन्तर्घाती, आत्मघाती, अवसरवादी मात्रै होइन चोर, फटाहा, गधा, तँलाई हरियो बाँसमा... सम्म भन्न पछि पर्दैनन् । 

कमनिष्ठहरु आफूलाई वाम पनि भन्छन् । कोही कोही वाम आकारका पनि हुन खोज्छन् । तर वाम हुन लागेको बेला फेरि उनीहरुलाई झिँगे हुने रहर लाग्छ । बेला बेला उनीहरु सबै वाम एक ठाम भन्दै उफ्रिए । तर चाहिने भन्दा बढी उफ्रँदा पोखरीका सबै वाम पाखामा पछारिए । केहीबेरअघिको वाम छिनभरीमै झिँगे भयो । कोही नामोनिशान भएर मेटिने बाटो लागे, कोही पानीमा तैरिए । तैपनि मभन्दा ठूलो कोही छैन भनेर झिँगे ताऊ मारिरहे । 

अहिलेसम्म उनीहरु झिँगाले झैं सत्ता, पद र स्वार्थको वरपर भन्किए । आफ्नो आकार र औकात खिइएको पत्तो नपाएर आफूलाई फेरि कमनिष्ठ नै भनेर भुत्ते हँसिया र कुच्चिएको हथौडा उचालेर बुरुकबुरुक उफ्रिए । तातो न छारोसँग उफ्रँदा त्यही हँसिया र हथौडाले आफ्नो टाउको ठोक्किएपछि रन्थनिए । तैपनि कहिल्यै चेतेनन् ।

यसपटक उनीहरु मिल्न आँटे झैं गर्दैछन् । कम्युनिष्ट अभियानमा अनिष्ट हुन नदिन निष्ठावान भएर सँगै हिँड्ने भन्दैछन् । तर मन चिरा पार्ने हँसिया र आपसमा ठोकाठोक गर्ने हथौडा बाँकी नै छ । मिल्न नभ्याउँदै कतै त्यही हँसिया हथौडाले फेरि छिन्नभिन्न बनाउने त होइन हाम्रा महान तथा गौरवशाली कमनिष्ठहरुलाई ?

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • प्रेम प्यासीको ‘आँसुका थोपा’ सार्वजनिक

    तेह्रथुम, २८ मंसिर –कवि प्रेम प्यासीको पहिलो साहित्यिक कृति ‘आँसुका थोपा’ शोक काव्य बिहीबार सार्वजनिक भएको छ ।

  • स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस आज

    काठमाडौं, मंसिर १९ – स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।

  • नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

    काठमाडौं, मंसिर १७ – नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ ।

  • कविता - मेरो ओठमा हाँसो सुहाउँछ

    -जब मैले प्रतिवाद गरेँ नि, त्यतिबेला झर्नै आँटेको वीर्य पाइपनलीमै अड्किँदा कसरी छटपटाएका थियौ तिमी हो, त्यो भन्दा कैयौँ पीडा हुन्छ मलाई झर्नै खोजेको आँशु फेरि भित्र धकेलेर फिस्स मुस्कुराउनु पर्दा !

  • १३ जना कविद्वारा लिखित संयुक्त महाकाव्य ‘आरोहण’ सार्वजनिक

    काठमाडौं, मंसिर १६ – नेपाली महाकाव्यको इतिहासमा पहिलोपटक १३ जना कविद्वारा लिखित संयुक्त महाकाव्य ‘आरोहण’ लोकार्पण भएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि समेत महाकाव्य ‘आरोहण’ तयार गरिएकोे प्रकाशक संस्था शिखा बुक्सले जनाएको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया