MENU

विचार/अनुभूति

Ncell Axiata

जुत्ता सिलाउने सियो, कैँची, हम्मर नै मेरा साथी

रोमबहादुर अछामी

–थाहै नपाई सियोले हात छेडेछ, भनन्न रिंगटा लागेर पक्लक्कै भुँईमा ढलेँ। बिउझिँदा भक्तपुर अस्पतालको इमर्जेन्सीमा रहेछु । आँखा खुलेपछि मैलै दोहोर्‍याएर सियो समाउने कल्पना पनि गरिन, तर अस्पतालबाट घर पुगेपछि साना छोराछोरीको निर्दोष आँखाले टुलुटुलु मलाई हेर्दा मैले फेरि सियो समाउनुको विकल्प पाइन । न त त्यो भन्दा अर्को सीप मेरो हातमा थियो न त मसँग तालिम लिएर अर्को काम सिक्ने समय नै ।

पैँतीस वर्षे व्यावसायिक जीवनमा घटेको सबैभन्दा डरलाग्दो दुर्घटना यही नै हो । त्यति बल गरेको पनि थिइन तर सियोले जुत्ताको सोलसँगै मेरो हत्केला पनि छेडेछ । 

२०३८ सालमा मेरो पढाईमा बिराम लाग्यो । आमाले छोरो लाठे भयो अब कमाएर घरमा सघाए हुन्थ्यो भन्ने इच्छा बारम्बार राखिरहेपछि मैले १५ वर्षको उमेरमा पढाईलाई हैन कामलाई महत्व दिए । तर भने जसरी काम पाइएन । ठूलाबडाकामा धाउने, चिनेजानेकोलाई गुहार्ने क्रम चलिरह्यो तर नौ महिना धाउँदा पनि जागिरको टुंगो लागेन । 

जुन काम गर्न पनि साइत चाहिन्छ भन्थे, नौ महिना बिना काम हल्लिएपछि जुत्ता बनाउने तालिम लिन गएँ । यसै क्रममा बाँसबारी छालाजुत्ता कारखानामा पनि एक महिना काम गर्ने अवसर पनि मिल्यो । बिस्तारै आय आर्जन हुन थाल्यो, दिनमा १० रुपैयाँको दरले ज्याला पाउन थाले । 

नौ महिनाको खाली बसाईले मलाई समयको महत्व बुझायो, अभावले कामको । हुन त गाउँमा तल्लो दर्जाको काम गर्ने भनेर हेला नपाएको हैन तर बिस्तारै उनीहरुले समयमा नै सेवा पाउन थालेपछि त्यो व्यवहार पनि परिवर्तन भयो । 
२०४८ सालमा भक्तपुरको भारवाचोमा आफ्नै पसल खोल्दा आँखा रसाएका थिए । अब मेरो मात्र मेरो पसल खुल्यो । त्यसपछि मलाई लाग्यो अब मैले कसैको टोकेसो सहिरहनु पर्दैन । 

जुत्ता सिलाउने सियोले हत्केला छेड्दा टन्केको घाउको पीडालाई आफ्नै संघर्षको कथाले हलुका पारिदियो र केही समय आराम गरेर म फेरि काममा फर्किएँ ।

त्यो निर्णय मेरो जीवनको अति नै महत्वपूर्ण निर्णय थियो । किनकी त्यसपछि मैले कहिले पछाडि फर्केर हेर्नु परेको छैन । जिम्मेवारीको नाममा आफूले बिचैमा पढाई छोडेपनि छोराछोरीलाई कहिले त्यो विवशतामा पारिन । तीन छोरीलाई स्नातक पढाएर विवाह गराएँ, छोरा स्नातकोत्तरको तयारीमा छ । 

देख्नलाई काम सजिलै छ, दिनभरी एउटा चकटीमा बस्यो, न घाममा हिँड्नुपर्छ, न धुलो खानुपर्छ, न त पानीमा रुझ्नुपर्छ । हुन पनि हो, मैले भारवाचोमा नै २६ वर्ष बिताएँ । तपस्या गरेँ । घरमा चाडबाड हुँदा बाहेक कतै गइन । नयाँ पुराना लाखौँ जुत्ता बनाएँ । ग्राहक नै मेरा लागि पाहुना भएँ, जुत्ता सिलाउने सियो, कैँची, हम्मर नै मेरा साथी । मैले मेरो कामलाई स्वीकारेँ, धैर्य गरेँ र यसलाई सजिलो बनाएँ । 

१० रुपैयाँ ज्यालामा सुरु गरेको काममा आज दुई सहयोगीसमेत राख्न सकेको छु । चाडबाडमा मिठो खाना खान सकेको छु, छोरा छोरीलाई केही किनिदिन सकेको छु । मसँगै भाइहरुले काम सिकेर स्वरोजगार भएका छन् । यो भन्दा मैले के नै कमाउनु छ र ?

लामो समय काम गरेको भएर पनि होला, मलाई नै काम दिन सम्झेर आउने पनि धेरै छन् । म नयाँ पुरानो काम भन्दिन । समय पनि फेरियो । फेसनेबल जुत्ता मात्र बनाउँछु, नयाँ जुत्ता मात्र बेच्छु भन्नेलाई टिक्न सारै गाह्रो छ । नयाँ पुरानो नभनी ग्राहकको चित्त बुझ्ने काम गर्न सक्नुपर्छ र मिठो बोलेमा ग्राहक आफै आउँछन् । 

मैले जे जानेँ त्यसैले मेरो जीवन रमायो, अब छोरा हुर्केको छ । उसलाई मैले यो काम सिकाएको छैन । आफूलाई जे गर्न मन लाग्छ गरोस् म रोक्दिन । काम गर्न सकुञ्जेल त मैले यो काम छाड्दिन, किनकी यसले मेरो अन्यौलको जीवनमा बाटो पहिल्याएको छ । मैले हात छेडेको पीडा भूलाएको छ । इच्छा यही छ, जुत्तामा सियो गाड्दा गाड्दै, सोलमा हम्मर ठोक्दाठोक्दै एक मुठ्ठी सास जाओस् ।

(कटुञ्जे घर भएका रोम बहादुर अछामीसँग उज्यालो अनलाइनका लागि सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अनि हामी झनै जवान भएर फर्कियौँ

    हिँड्दा हिँड्दै थच्च बस्न पाइयोस् । भेटेका कुरा कप्प खान पाइयोस् । अल्छि लागे सुत्न पाइयोस् । खुशी मानेर दौडन पाइयोस् । पैतलाले जहाँ मन लाग्छ टेक्न पाओस् । आँखाले जे मन लाग्छ देख्न पाओस् । यसो नगर भन्ने कोही नहोस् । यसो गर भन्ने कोही नहोस् ।

  • जापानको कृषिबाट नेपालले सिक्न सक्ने कुरा

    बर्षेनी हजारौ नेपाली युवा रोजगारका निम्ति विदेश राष्ट्रमा जाने गरेका छन् । धेरै नेपाली युवाको गन्तब्य बन्ने अर्को राष्ट्र हो जापान मिैले एसिया–प्रशान्त क्षेत्रको कृषि पढ्ने विधार्थीबीच भएको सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर जापान जाने मौका पाएको थिएँ ।

  • पोखरामा साक्षात देवी

    कोटको शिरान तिरका खुलै छोडिएकाले टाँकले छातीमा 'भि' आकारको डिजाइन बनाएका । वाह्य आवरणको त्यो आकर्षक डिजाइनले उघारेको भु-भाग छोप्न सेतो रंगको भित्री । कोटको माथिको गोजी रहने स्थानमा एयरलाइन्सको लोगो र नामथर स्पष्ट लेखिएको ट्याग । दबेका जस्ता देखिने सम्याइएका शालीन वक्षस्थल ।

  • ‘छक्का पञ्जा २’ किन भयो टाउको दुखाई ?

    हरेक सिनेमा यो काल्पनिक कथामा आधारित छ भनेर सुरु हुन्छ । त्यो भन्दा अघि सिनेमा सम्बन्धी नियमनकारी निकाय सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र सेन्सर बोर्डले चलचित्र हेर्छ । कानुनले बन्देज गरेको कुरा भए त्यसलाई काट्छ ।

  • बाम एकताले कांग्रेसमा ८ रेक्टरको भूकम्प

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन अप्रत्यासित हो । कांग्रेस र माओवादी केन्द्रको जुन गठबन्धन थियो र दुवै सरकारमा थिए । जसका कारण कांग्रेसको लागि यो ठूलै अचम्म भयो होला ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया