MENU

विचार/अनुभूति

Ncell Axiata
NIC Asia

बाम एकताले कांग्रेसमा ८ रेक्टरको भूकम्प

पुरञ्जन आचार्य – 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन अप्रत्यासित हो । कांग्रेस र माओवादी केन्द्रको जुन गठबन्धन थियो र दुवै सरकारमा थिए  । जसका कारण कांग्रेसको लागि यो ठूलै अचम्म भयो होला । तर देशको ऐतिहासिक क्रमबाट हेर्दा, वाम आन्दोलनलाई हेर्दा नेपालको कम्युनिस्ट आन्दोलनको ईतिहास पल्टाउँदा यस्ता एलाइन्स भईरहेकै छन् ।

अहिले दुई वटा निर्वाचनका अगाडि भएकोले नेपाली कांग्रेसलाई झड्का लागेको छ । माओवादी र एमालेको गठबन्धन सुन्ने वित्तिकै कांग्रेसमा त ८ रेक्टरको भूकम्प नै गयो । कांग्रेस अहिले त्यो झड्काबाट तङग्रिदै छ । उसले पनि लोकतान्त्रिक गठबन्धन गर्दै छ । 

नेपालको वाम आन्दोलनको पृष्ठभूमि कम्युनिस्ट आन्दोलनको पृष्ठभूमि हेर्दा मलाई चाहिँ त्यति अनौठो, अस्वभाविक, अचम्म, आश्चर्य लागेको छैन । नेपालमा वाम एकताको कुरा झण्डै सात सालदेखि नै चलिरहेको हो, तर यसले मूर्तरुप लिएको कहिल्यै पनि छैन ।

विभिन्न चरणमा विभिन्न किसिमले कुराहरु उठेका छन् । चाहे मनमोहन हुँदा होस चाहे पुष्पलाल हुँदा होस् चाहे झापाली आन्दोलन हुँदा नै किन होस् । बेला बेलामा बाम एकताको कुरा उठ्ने गरेको छ । तर हुन सकेको छैन । अहिले पनि १८–२० वटा वाम शक्तिहरु विभाजित छन् नेपालमा । त्यो पृष्ठभूमिलाई हेर्दा नेपालको कम्युनिस्ट चरित्रको विपरित व्यवहार देखिन्छ यो गठबन्धनमा । कम्युनिस्टहरु फुट्नु स्वभाविक देखिन्छन् । जुट्ने चरित्र चाहिँ अलि अस्वभाविक देखिन्छ । माओवादी छ पटक फुटिसक्यो । 

तर पनि ठूलो वाम एकता भएको चाहिँ वाममोर्चाको नाममा ४६ सालको आन्दोलनमा भएको थियो । त्यसको अध्यक्ष चाहिँ सहाना प्रधान हुनुहुन्थ्यो । त्यतिबेला नेपाली कांग्रेससँग मिलेर आन्दोलन गरेको थियो । त्यो एउटा पृष्ठभूमि भने छ वाम एकताको ।

त्यसमा मनमोहन अधिकारीले नेतृत्व गरेको माक्र्सवादी र तत्कालीन झापा आन्दोलनबाट उद्भव भएको र मदन भण्डारीले नेतृत्व गरेको पार्टीबिचमा एकता भएको थियो । त्यो चाहिँ आजको एमाले हो । त्यो नै ठूलो वाम एकता हो । त्यसैलाई ठूलो वाम एकता मान्नु पर्छ । त्यसपछि नेपालमा खासै कम्युनिस्ट एकता हुन सकेको छैन । वाम एकता गौण भएर गयो । 

५० प्रतिशत मत हुने बाम शक्ति संसदमा सधैं कमजोर

नेपालमा जनमत चाहिँ वाम शक्तिको छ । झण्डै ५० प्रतिशत कम्युनिस्ट मत छ । तर त्यसले संसदमा र राज्यमा सहि उपस्थिति हुन सकेको छैन । त्यो मत खेर गई रहेको थियो । पचास प्रतिशत भन्दा धेरै मत हुने तर तिनीहरुको संसदमा र राज्यमा उपस्थिति कमजोर भई रहेको थियो । यो कुरालाई बुझेर र अब मत खेर जान नदिउँ भन्ने सोचेर नै केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन र पार्टी एकताको कुरा गर्नुभएको हो । 

वाम शक्तिलाई एक ठाउँमा ल्याएर देशको रुपान्तरणमा हामी अब कांग्रेसलाई चुनौति दिन्छौं भन्ने पनि उहाँहरुलाई लागेको हुन सकछ । मिलेर चुनावमा गयौं भने दुई तिहाई जितौला वा बहुमत ल्याउला भन्ने सोचबाट एकता भएको हो भने जनताको सहि प्रतिनिधित्व यो गठबन्धनले गर्छ । बाम गठबन्धनबाट कसैले टाउको दुखाउनु पर्दैन । 

तर यो सोचबाट गठबन्धन नभएको पनि हुन सक्छ । माओवादी र कांग्रेस मिलेर स्थानीय तहको चुनावमा भाग लिए । एमालेले सोचे जस्तो परिणाम आएन । भोलिको दिनमा दुईवटा चुनाव हुँदै छ । प्रदेश र केन्द्रको । प्रदेश र केन्द्रको चुनावमा एमालेले दुईवटा कुरा ठान्यो । 

एउटा मनोवैज्ञानिक रुपले सत्ताबाट टाढा जाँदै छु भन्ने । स्थानीय तहको चुनावमा जस्तै मिलेर गएमा कांग्रेस माओवादीको गठबन्धनले पाँच वर्षसम्म सत्ता चलाउने भए । यो डर, त्रास र भयले एमालेलाई गाज्यो । 

अर्को के हो भने प्रचण्डलाई एमालेसँगबाट थुतेर कांग्रेसले लगेकै हो । प्रचण्डलाई एउटा राम्रो प्रस्ताव दिउँ र नेपालमा वाम शक्ति निर्माण गरौं, एकीकरण हुन नसके पनि निर्वाचनमा वामशक्ति मिल्दा कम्युनिस्टहरुको बाहुल्य रहन्छ र कांग्रेसलाई साइजमा राख्न सकिन्छ भन्ने एमालेको बुझाई छ । 

मेरो अनुमान के छ भने एमालेले प्रचण्डका कारण ओली नेतृत्वको सरकार ढालेको, कांग्रेसले यसमा सहयोग गरेको ठान्दै आएको छ । 

अर्को चाहिँ के भने कांग्रेस र कम्युनिस्ट मिल्यो भने एउटा कम्युनिस्ट पार्टी चाहिँ किनारामा पर्ने सोच्यो सायद । एमालेले अहिलेको स्थानीय तहको निर्वाचन हेर्‍यो ।

एकीकरण नगरि सरकारमा पुगिदैन, एकीकरण नगरि बहुमतमा पुगिदैन । गठबन्धन नगरि अगाडि बढ्न सकिदैन भन्ने बुझ्यो । यो एकीकरण कांग्रेससँग गरेर त भएन । यसका लागि सहज भनेको एउटै ऐतिहासिक पृष्ठभूमि भएको, एउटै वैचारिक दर्शन भएको, विकासक्रमको यात्रा पनि एउटै भएको माओवादीलई एमालेले देख्यो । 

माओवादीको हैसियत २० प्रतिशत 

तर माओवादी आफैँ लत्रेर एमालेसँग जानेवाला थिएन । तँ ठूलो कि म ठूलो भन्ने कुरा दुई पार्टी बिच छिनोफानो हुन बाँकी नै छ । पहिलो संविधानसभाको चुनावबाट माओवादी ठूलो पार्टी बनेको हो भने एमाले सानो पार्टी बन्यो तर दोस्रो संविधानसभा चुनावमा माओवादी सानो पार्टी हुन पुग्यो । 

त्यसकारण नेपालको कम्युनिस्ट धारको सहि पार्टी को हो भन्ने छिनोफानो नभई रहेको बेलामा सानो तिनो अफरले प्रचण्डले मान्छन् भन्ने एमालेलाई लागेको थिएन । त्यसैले पार्टी एकीकरण गर्ने र ४०–६० बाट जाने, एउटा ठूलो वाम शक्ति बनाउने र कांग्रेसलाई चुनौति दिने प्रस्ताव एमालेले प्रचण्डसामु राख्यो ।

स्थानीय तहको जनमत हेर्ने हो भने पनि माओवादीले एमालेसँग पाएको ४० प्रतिशत धेरै हो । माओवादीको अहिलेको हैसियत त २० प्रतिशत पाउने पनि छैन ।

एकता चुनावसम्मको हनिमुन

मैले एमाले र माओवादीबिच भएको छ बुँदे सहमति पत्रलाई १० पटक पढेँ । यो चुनावसम्मको हनिमुन हो जस्तो लाग्छ । पार्टी एकीकरणपछि चुनावमा गएको भएर र सूर्य चुनाव चिन्ह लिएर गएको भए त्यो सहि रुपमा पार्टी एर्कीकरण हुन्थ्यो । तर त्यो हुन सकेन । पार्टी एकीकरण भएर एउटै चुनाव चिन्ह लिएर चुनावमा गएको भए अहिले अवस्था हेर्दा दुई तिहाई नभए पनि बहुमत चाहिँ सहज रुपमा ल्याउथे होला । 

६ बुँदेमा के देखिन्छ भने ६०–४० को चुनावी तालेमेल गर्ने । यहाँ नेर प्रचण्डले खेल खेलेका छन् । उनले आफ्नो ४० प्रतिशत सुरक्षित गरेका छन् । ४० प्रतिशत उसले सिट पाउँदा पार्टी एकीकरण नभएको अवस्थामा आ–आफ्नै चुनाव चिन्हबाट चुनावमा जित्यो भने एमालेको भन्दा माओवादी बार्गेनिङ शक्ति बढी हुन्छ । 

एमालेको भन्दा माओवादी सिट बढी आउनै पर्दैन । माओवादीको कारणले सरकार बन्ने सम्भावना छ भने प्रचण्डनै प्रधानमन्त्री बन्न सक्छन् त्यो पनि कांग्रेससँग मिलेर । प्रचण्डको चरित्र नै त्यस्तै छ । कुन बेला कोसँग मिल्छन्, कसलाई कसरी झट्का दिन्छन् भन्न सकिदैन ।

त्यसैकारण अहिले नै यो वाम एकता हो यसले ठूलो रुपान्तारण गर्छ यसले लामो यात्रा तय गर्छ भन्नका लागि एमाले र माओवादीको पृष्ठभूमि र हिजोको कम्युनिस्ट आन्दोलनको यात्राक्रम हेर्दा शंका छ । 

गठबन्धन चुनावसम्म मात्र

तर पनि नेपालमा स्थिर सरकारका लागि वाम एकता जरुरी छ । साथै सेन्टरबाट लेफ्ट पार्टीको पनि जरुरी छ । एमालेको नेतृत्वमा माओवादी पनि मिलेर सेन्टरबाट लेफ्ट तिर गयो भने सामाजिक न्यायका कुराहरुका साथै यसको चरित्र बोक्ने पार्टी चाहिएको छ । 

अब कांग्रेस सेन्टरबाट दायाँ तिर लाग्छ । राप्रपा तथा मधेसवादी दलसँग मिल्नु भनेको हिजोका दिनमा राजा कुरा, धर्मका कुरा भाषा तथा जातिका कुरासँग मिल्नु हो । 

अब पार्टीको नामले भन्दा पनि गठबन्धनको नामले चिनिन्छन् पार्टीहरु दुई तीन वटा चुनावमा गई सके पछि । यसरी हेर्दा नेपालमा दुई पार्टी प्रणाली हुन पनि सक्छ भविष्यमा । यो अत्यन्त जरुरी पनि छ । यसका लागि एमाले र माओवादीले जुन बाटो तय गर्नुपथ्र्यो ती बाटाहरुमा सुविचारित कडीहरु मिलाउन सकेका छैनन् ।

जिल्ला जिल्लामा यसको छलफल भएकै छैन । वैचारिक डकुमेन्टहरु पनि फरक छन्  । एउटाले बहुदलीय जनवाद भन्छ अर्कोले जनवादी क्रान्तिको धङधङी छोडेकै छैन । एउटाले राज्यले वितरण गर्ने हो भन्छ अर्कोले आर्थिक वृद्धिका लागि स्वतन्त्रताको कुरा गर्छ । त्यसैले एमाले र माओवादी राजनीतिक र आर्थिक एजेन्डालाई यथावत राखेर चुनावमा मात्र मिलेका हुन् भन्ने आधार भेटिन्छन् । 

त्यसलाई छ बुँदेले पनि पछाडी धकेलेको छ । यो चुनाव सम्मको लागि मात्र छ त्यसको यात्रा । त्यसपछि के गर्ने भन्ने छैन । पछि यसले समस्या ल्याउँछ । सिट बाँडफाँडमा समस्या, विचारमा समस्या, चुनाव चिन्हमा समस्या आउँछ, नाममा समस्या आउँछ, गन्तव्यमा समस्या आउँछ, रणनीति र कार्यनीतिमा समस्या आउँछ । टि बाँडफाँडमा त समस्या नै आई पनि सक्यो । 

एमाले कार्यकर्तालाई हसिया हथौडामा भोट हाल्नको लागि दार्चुलादेखि ताप्लेजुङगसम्म र झापादेखि कञ्चनपुरसम्म प्रशिण र तालिम दिनु आवश्यक छ । यसका लागि समय लाग्छ । यो गठबन्धन अपर्झट, अप्रत्यासित रुपमा आएको छ। यसलाई एकीकरणसम्मको यात्रा भनेर सैद्धान्तिक लेपन मात्र गरिएको छ । यात्राका क्रममा आउने दुर्घटनालाई संवोधन गरिएकै छैन । 

मैले बुझेको राजनीति अनुसार यो गठबन्धन चुनाव सम्म मात्र हो । तर यसले देशको राजनीतिलाई मात्र नभएर अरु क्षेत्रमा पनि तरङ्गित पारेको छ । यसले समाजको हरेक तप्का र वर्गलाई छोएको छ । 

म कम्युनिस्ट पार्टी छोडेर हिँडे भनेका बाबुराम भट्टराई पनि मिसिन आएका छन् । उनी वृहत कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । उनी आफूले पार्टी चलाउन सक्दिन, नयाँ शक्तिमा सबैले छोडेर गए तिमीहरुले छोडेर गएपछि मलाई मात्र के त भन्ने झोकमा गठबन्धनमा आएका हुन सक्छन् । फेरि अहिले राट्रिय राजनीतिमा उनको उपस्थिति पनि थिएन । वृहत कम्युनिस्ट एकतामा आए केही भूमिका दिईहाल्छन् कि, देश रुपान्तरणमा मेरो पनि योगदान रहन्छ कि भन्ने भएर पनि होला एकतामा आएको ।  

एकताको दीर्घकालीन प्रभाव

अहिलेको गठबन्धनले देश दुई पार्टी प्रणालीमा जाने संकेत देखिन्छ । वाम एकताले लोककल्याणकारी राज्य निर्माण गर्ने, वृद्धभत्ता अझै वृद्धि गर्ने, किसानलाई राहत दिने वितरण प्रणलीमा यो जान्छ ।

जानैपर्छ । यो चाहिँ सेन्टरबाट लेफ्टतिर जाने पार्टी अथवा कम्युनिस्ट पार्टीले गर्छ । त्यस्तै अर्को भनेको सेन्टरबाट राइटतिर लाग्ने पार्टी जसलाई कांग्रेसले नेतृत्व गर्छ । यसले कर्पोरेट हाउसलाई मद्दत गर्ने, वितरण भन्दा उत्पादन वृद्धिमा लाग्ने । तर यी दुवैमा चुनौति देखिएका छन् । 

एउटामा सामाजिक न्यायमा अभाव देखिन्छ अर्कोमा उत्पादनमा अभाव देखिन्छ । यसको प्रभाव देशको आर्थिक वृद्धिमा पर्छ । राज्य प्रणालीमा पर्छ । राजनीति पार्टीमा पर्छ ।

पार्टी शुद्धीकरणको प्रक्रिया पनि यसबाट सुरु हुन्छ । अहिले साना पार्टीले ठूलापार्टीलाई विभिन्न बहानामा धम्क्याई रहेका छन् । पार्टी एकता भयो भने यस्ता साना पार्टीलाई वेवास्ता गरेर पनि अगाडि बढ्ने संभावना रहन्छ । वाम पार्टीको एकता हुने वित्तिकै कांग्रेसको पनि एकता सुरु भएको छ । 

वाम एकताको अर्को प्रभाव भनेको अब कांग्रेसले पनि म सबै भन्दा ठूलो पार्टी म लोकतान्त्रिक पार्टी भन्ने हैसियतमा रहेन । उसलाई पनि एकतामा जानै पर्‍यो । वैचारिक रुपमा स्पष्टता चाहिने रहेछ , गठबन्धन पनि चाहिने रहेछ अनि एकता पनि नगरि नहुने रहेछ । टिकटमा पनि बाँडफाँड गर्नुपर्‍यो । यसरी हेर्दा नेपाली राजनीतिमा नयाँ सँस्कारको सुरुवात भएको छ । 

यहाँ एमाले र माओवादीको एकीकरण स्वभाविक हो । दुवै राजनीतिक दलको विचार मिल्छ । दुवै कम्युनिस्ट हुन् । दुवैले माक्र्स र लेनिन विचारलाई छोड्न सक्दैनन् । कार्यनीति फरक भए पनि दुवैले हतियार उठाएकै हुन् । तर यहाँ कांग्रेसलाई ठूलो समस्या छ । जन्मकालदेखि नै यो सेन्टरबाट लेफ्ट तिर थियो । यसले गाउँको विकासको कुरा गर्छ, वृद्धका कुरा गर्छ । समाजवादको कुरा गर्छ । तर एकताका लागि राजाको कुरा गर्ने राप्रपा र पहिचानका लागि जातीय मुद्दा उठाउने मधेसवादी दलसँग यसको एकीकरण हुन्छ ।

नेपाली कांग्रेसलाई जातिको प्रेसर पर्छ भोलि धर्मको पनि प्रेसर पर्छ । उसले आफ्नो मौलिक पहिचानबाट पछि हट्नु पर्ने हुन सक्छ । त्यसैले कांग्रेसलाई वैचारिक रुपमा संकट आउनेवाला छ । त्यसैले कांग्रेस पार्टीमा अहिले छटपटी भएको छ । यसलाई जिल्ला जिल्लामा कसरी मिलाउने भन्ने र हाम्रो अस्तित्व के भन्ने ठूलो चुनौती कांग्रेसलाई छ । 

बाम एकताले कांग्रेस सक्रिय

वाम एकताले कांग्रेसको सक्रियता बढाएको छ । वाम एकतामा चाहिँ केही समयमा नै हुने चुनावमा यसले हामीलाई सकाउने हो कि भन्ने डर छ । कांग्रेस भित्र देखिएको समस्या र एमाले र माओवादी बिचको एकताबाट आएको संकटबाट कांग्रेसलाई बाहिर ल्याउन सक्षम नेतृत्व कांग्रेसमा छैन । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको क्रियाकलापले पनि नागरिकमा कांग्रेस प्रतिको विश्वास पलाउन सकेन । 

कांग्रेस नेतृत्वले अहिले निर्णय आफैंले गरे पनि कांग्रेसलाई कसरी अगाडि बढाउने भनेर नागरिक सामू पुग्नु आवश्यक थियो । यो एमाले र माओवादीले पनि त्यो गरेनन् । अहिले नागरिक तथा कार्यकर्तासँग नजिक भएका जोडिएका नेता कम भए । 

केपी ओली र प्रचण्डले पनि हैकमवादी शैलीमा निर्णय गरे । कार्यकर्तालाई हामी निर्णय गर्छौं तिमीहरु हामीले भनेको मान है भन्ने शैली अपनाए । कुनै पनि पार्टीले कार्यकर्ता भेला गरेर के गर्ने भन्ने बारेमा छलफल गरेनन्, यसलाई जरुरी नै ठानेन् । 

– सुफल काफ्लेसँगको कुराकानीमा आधारित ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • कांग्रेस हार्‍यो, तर देउवा र देशले हारेनन्

    यो सफलताले यसअघि देउवामाथि लाग्दै आएको ‘असक्षम’ र ‘भर पर्न नसकिने’ नेताको उपनाम च्यातिएको छ । नेतृत्वकर्ताका हैसितमा सम्बन्धित पार्टीलाई चुनावमा सफलता दिलाउन सक्नु नेतृत्वकर्ताको पहिलो कर्तव्य हो । तर, योपटकको चुनावमा देउवा त्यो दायित्व पूरा गर्न चुके पनि देशप्रतिको दायित्व पूरा गर्नुभएको छ ।

  • किन हार्यो कांग्रेसले ?

    तर यसपटकको चुनावको जुन नतिजा आएको छ त्यो नेपाली कांग्रेसको दुर्भाग्य हो । नेतृत्व तहमा बस्नेले अरुको कुरा सुन्नुपर्छ भनेर कानमा कपास कोचेपछि हामी जस्ता प्रजातन्त्रको शुभेच्छक सामान्य व्यक्ति (जसलाई भुसुनाको रुपमा हेर्ने चलन छ ) राम राम भन्नु बाहेक अरु के पो गर्न सकिदो रहेछ र ?

  • चुनावका लागि दिइने चन्दाले देशलाई पार्ने दीर्घकालीन असर

    अहिले राजनीतिक दलहरुले चुनावलाई लक्षित गरी चन्दा उठाइरहेका छन् र त्यस्तो चन्दाको स्रोत उद्योगी व्यवसायीलाई बनाइरहेका छन् । चन्दा दिनेले पनि आफ्नो घर घरनाबाट दिने त होइन, आफ्नो बाउ बाजेको सम्पत्ति बेचेर त कसैले पनि दिँदैनन् ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    रगतमा ग्लुकोजको मात्रा धेरै देखिएपछिको अवस्था मधुमेह हो । शरीरमा इन्सुलिन उत्पादनमा घटबढ भयो अथवा उत्पादन नै भएन भने मधुमेह हुन्छ । यो दीर्घरोग हो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया