MENU

खेल

Ncell Axiata
NIC Asia

रुस यात्राः कुन कुन देश छनौट भए, अब कति सिट बाँकी ?

टंक ढकाल/उज्यालो । 

काठमाडौं, असोज २५ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा अहिलेसम्म आयोजक रुससहित २३ टिम छनौट भएका छन् । यसरी छनौट हुनेमा आयोजक रुससहित बेल्जियम, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया र स्पेन रहेका छन् । यस्तै इजिप्ट, नाइजेरिया, इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, कोस्टारिका, मेक्सिको, पानामा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे र कोलम्बियाले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन् । 

अब ९ टिम छनौट हुन बाँकी छ । बाँकी टिम मध्ये अफ्रिकाबाट तीन टिम छनौट चरणबाटै समूह विजेताको रुपमा छनौट हुनेछन् । यस्तै युरोपबाट प्ले–अफमा पुगेका ८ टिमबाट दुई लेगको खेल जित्ने चार टिमले रुस यात्रा तय गर्ने छन् । यस्तै पेरु तथा न्युजिल्याण्ड र होण्डुरस तथा अस्ट्रेलियाबिचको प्ले–अफबाट दुई टिमले विश्वकपमा स्थान पक्का गर्ने छन् ।

युरोप 

आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको समूहगत छनौटका खेल सकिएको छ । यसबाट ९ समूहका विजेताले रुस यात्रा तय गरेका छन् । यसरी समूह विजेता बन्दै रुस यात्रा तय गर्नेमा समूह ‘ए’ बाट फ्रान्स, समूह ‘बी’ बाट पोर्चुगल, समूह ‘सी’ बाट साबिक विजेता जर्मनी, समूह ‘डी’ बाट सर्बिया, समूह ‘ई’ बाट पोल्याण्ड, समूह ‘एफ’ बाट इंग्ल्याण्ड, समूह ‘जी’ बाट स्पेन, समूह ‘एच’ बाट बेल्जियम र समूह ‘आई’ बाट आइसल्याण्ड रहेका छन् । 

युरोपियन क्षेत्रबाट अब चार देशले विश्वकपमा स्थान बनाउने छन्, प्ले–अफ मार्फत । त्यसका लागि ९ समूहका उत्कृष्ट ८ उपविजेताले प्ले–अफमा स्थान बनाएका छन् । यसरी प्ले–अफमा स्थान बनाउनेमा स्वीट्जरल्याण्ड, इटाली, क्रोएसिया, डेनमार्क, नर्दन आयरल्याण्ड, स्वीडेन, रिपब्लिक अफ आयरल्याण्ड र ग्रिस छन् । समूह ‘एफ’ उपविजेता बनेको भएपनि स्लोभाकिया उत्कृष्ट ८ समूह उविजेतामा पर्न सकेन र प्ले–अफमा पुगेन । युरोपियन क्षेत्रको प्ले–अफका लागि आउँदो सोमबार ड्र सार्वजनिक हुनेछ । 

दक्षिण अमेरिका 

१० देश रहेको दक्षिण अमेरिका क्षेत्राबाट चार टिम सोझै विश्वकपमा छनौट भएका छन् । यसरी छनौट हुनेमा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया रहेका छन् । यो क्षेत्रबाट पेरुले प्ले–अफमा स्थान बनाएको छ । उसले अब ओशिनिया क्षेत्रको न्युजिल्याण्डसँग दुई लेगको प्ले–अफ खेल्नेछ । यो क्षेत्रबाट स्टार खेलाडी एलेक्स सान्चेज, अटुरो भिडाल, क्लाउडियो ब्राभोसहितको चिली भने छनौट हुन सकेन । खतरामा रहेको अर्जेन्टिनाले इक्वेडसँगको अन्तिम खेलमा मेस्सीको ह्याट्रिकसँगै विश्वकप यात्रा तय गर्न सफल भयो । 

अफ्रिका 

अफ्रिका क्षेत्रबाट नाइजेरिया र इजिप्टले स्थान पक्का गरिसकेका छन् । अफ्रिका क्षेत्रको छनौटमा पाँच समूह रहेका छन् । हरेक समूहको शीर्ष स्थानमा रहने टोली विश्वकपमा छनौट हुनेछन् । अफ्रिका क्षेत्रमा प्ले–अफको व्यवस्था छैन । अफ्रिका कप अफ नेशनसको विजेता क्यामरुन विश्वकपमा नहुने पक्का भएको छ । ट्युनिसिया, मोरक्को र सेनेगल अहिले समूहको शीर्ष स्थानमा छन् । 

एसिया

एसियाबाट इरान, जापान, दक्षिण कोरिया र साउदी अरेबिया गरी चार टिम छनौट भइसकेका छन् । अब अस्ट्रेलियाले होण्डुरससँग प्ले–अफ खेल्नेछ । एसियाली देश सिरियाको अस्वभाविक विश्वकप फुटबल सपना भने टुटेको छ । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौटका लागि भएको पहिलो चरणको प्ले–अफमा अस्ट्रेलियाले सिरियाको विश्वकप सपना तोडेको हो । प्ले–अफको दोस्रो लेग अन्तर्गत मंगलबार बेलुका भएको खेलमा अस्ट्रेलियाले सिरियालाई २–१ ले हरायो र समग्रमा ३–२ को जितसहित होण्डुरससँगको अर्को चरणको प्ले–अफमा स्थान बनाएको हो । 

उत्तर तथा मध्य अमेरिका र क्यारेबियान 

यो क्षेत्रबाट मेक्सिको, कोस्टारिका र पानामा गरी तीन टिमले रुसमा स्थान पक्का गरिसकेका छन् । अब यो क्षेत्रको होण्डुरसले विश्वकपमा स्थान बनाउका लागि अस्ट्रेलियासँग प्ले–अफ खेल्नेछ । 

यो क्षेत्रबाट पानामा पहिलोपटक विश्वकपमा छनौट भएर इतिहास बनाउन सफल भएको छ । उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा कोस्टारिकालाई २–१ ले हराउँदै पानामाले रुस यात्रा पक्का गरेको हो । तर ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएको अमेरिकाले भने विश्वकपमा स्थान बनाउन सकेन । 

ओशिनिया

यो क्षेत्रबाट न्युजिल्याण्डले प्ले–अफमा स्थान बनाएको छ । उसले अब विश्वकप प्रवेशका लागि दक्षिण अमेरिकी क्षेत्रको पाँचौं स्थानमा रहेको टोली पेरुसँग प्रतिस्पर्धा गर्नेछ । 

- तस्बिरः एजेन्सीहरु

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया