MENU

समाज

Ncell Axiata

युएईमा अलपत्र परेर फर्केका युवा आफूलाई ठग्ने दलाल खोज्दै

मोहन पौडेल/उज्यालो

असोज २६ – धनुषाको नगराईनका रामचन्द्र ठाकुरका छोरा चिनेका मान्छेमार्फत विदेश जाने भन्ने सुनेर महोत्तरका ५ जना युवाले पनि विदेश जाने योजना बनाए । महोत्तरीमा बस्दै आएकी ठाकुरकी छोरीले आफ्ना दाइ विदेश जान लागेको सुनाएपछि उनीहरुले विदेश जाने सपना देख्न थाले ।

त्यसपछि पाँचै जनाले धनुषाका रामचन्द्र ठाकुरका छोरासँगै विदेश जाने निर्णयमा पुगे । केहिवर्षअघि सुनसरीको पकलीमा पढाउने क्रममा आफू बसेका घरका धनी श्रवणकुमार विश्वकर्मामालाई आफ्ना छोरालाई विदेश पठाई दिन रामचन्द्रले भन्नुभयो । 

विश्वकर्माले रामचन्द्रका छोरा राजकिशोर सहित महोत्तरीको रामगोपालपुरका रामदिनेश यादव, मन्जयकुमार यादव, रामलाल राय, राकेशकुमार यादव र राजकरण यादवलाई युएई पठाइदिने बताए । 

६ जना मध्ये रामदिनेश यादव, राजकिशोर ठाकुर, रामएकवाल महतोलाई पेट्रोल फिलरको काममा पठाउने भन्दै श्रवलकुमारले ३२ सय दिर्हाम तलब हुने बताए । त्यसमा खाना पनि कम्पनीले दिने बताएका श्रवणले ३ लाख ५० रुपैयाँ लाग्ने बताए । झण्डै ९० हजार कमाउने भएपछि उनीहरुले साढे ३ लाख तिर्न सहमति जनाए ।

 बाँकी तीन जनालाई फुड प्याकिङको काममा १६ सय दिर्हाम अर्थात झण्डै ४५ हजार तलब हुने भन्दै श्रवणकुमारले २ लाख ३० हजार रुपैयाँ लाग्ने बताए । सँगै गएका साथीहरु जान तयार भएपछि मन्जयकुमार यादव, रामलाल राय, राकेशकुमार यादव पनि फुड प्याकिङको काममा जान तयार भए ।

श्रवणकुमारले त्यति बेलै सबैसँग ५० हजार रुपैयाँ र पासपोर्ट लिए । तत्कालै उडाइहाल्ने बताएका श्रवणले एक वर्ष पुग्नै लाग्दा पनि विदेश पठाएन । त्यसपछि उनीहरुले श्रवणलाई नपठाउने भए पैसा फिर्ता दिन दबाब दिए । सबैको दबाब परेपछि श्रवणकुमारले पासपोर्ट र पैसा लिएको एक वर्षपछि गएको जेठमा उनीहरुलाई युएई पठाउने भए ।

अनि दुई जनासँग ३ लाख ५० र चार जनासँग २ लाख ३० हजार रुपैयाँ लिए । श्रवणकुमारले पैसा सुनसरीकै सदानन्द मेहताको नाममा पठाउन लगाए । श्रवणकुमारले भने अनुसार पैसा पठाएर काठमाडौंमा आएपछि ६ जनाले नै भिजिट भिसामा विदेश पठाउन लागेको थाहा पाए ।

त्यति मात्रै होइन् सुनसरीका श्रवणकुमार विश्वकर्माले काठमाडौंमा आफूलाई कुमार श्रेष्ठ भनेर चिनाउने गरेको पनि पत्तो लगाए । ‘त्यतिबेलै मलाई त शंका लागेको थियो तर के गर्नु पैसा बुझाइसकेका थियौं त्यसैले जान बाध्य भयौं’ रामदिनेश यादवले भन्नुभयो । 

भिजिट भिसाका बारेमा भने श्रवणकुमारले युएईमा आफ्नो छोरो रहेको र सबै काम उसैले मिलाउने भन्दै एक/एक हजार डलर हातमा थमाएर युएई पठाए । युएईमा उनीहरुलाई श्रवणका छोरा रोशनकुमार श्रेष्ठले विमानस्थलबाट कोठामा लगे । रोशनले उनीहरुसँग जाँदा बोकेको एक हजार डलर लिए ।

आफूलाई लगिएको कोठामा अरु १८ जना पनि देखेपछि उनीहरु झस्किए । रोशनले केही दिनमा काम हुन्छ भने पनि डेढ महिना पुग्दा पनि काम पाएनन् । त्यसपछि उनीहरुलाई थाहा भयो पहिल्यै लगिएका १८ जना मध्ये चार जनाको भिसाको म्याद सक्किँदा पनि काममा लगाउन नसकेको कुरो । ‘त्यसपछि त हामीलाई पनि काम दिलाउन सक्दैन भन्न एकीन भयो’ रामदिनेशले भन्नुभयो । 

ठगिएको थाहा पाएपछि उनीहरुलाई आफूहरुलाई टिकटका लागि लागेको पैसा काटेर फिर्ता दिन र नेपाल फर्काइदिन आग्रह गरे । सुरुमा त रोशनले हुन्छ भने । तर पछि भने आफूले नेपाल फर्काउन नसक्ने बताएपछि ६ जनाले नै घरमा नै टिकट काट्न लगाएर काठमाडौं फर्किए ।

काठमाडौं आएर फोन गर्दा श्रवणकुमारको फोन उठेन । ठगिएपछि उनीहरुले महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंमा उजुरी दिए । प्रहरीले फोन सम्पर्क नहुने व्यक्तिलाई भेट्न गाह्रो हुने भन्दै खोजेर खबर गरे पक्रिने बतायो । 

झण्डै दुई महिनामा पैसा डुबाएर खाली हात फर्किएका मध्ये दुई जना श्रवणलाई खोज्दै सुनसरी नै पुगे तर भेटेनन् । श्रवणको घरमा आमा मात्रै थिइन् । उनले छोरो कहाँ छ भन्ने कुरा आफूलाई नै थाहा नभएको बताइन् । 

केहीदिनमा राजकिशोरलाई श्रवणले आफैं फोन गरे । उनले लिएको पैसा फिर्ता दिन नसक्ने भन्दै अर्को देश पठाइदिने बताए । श्रवण त्यसपछि सम्पर्कविहिन छन् । उनीहरुले भने अब विदेश नजाने भन्दै पैसा फिर्ता दिलाइदिन सुनसरीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् । 

(सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सुनसरीको सहयोगमा) 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया