MENU

राजनीति

Ncell Axiata

चुनावको नमेटिने घाउ : एउटै चुनावमा दुई वटा टिकट खोसिएको क्षण

उजिर कार्की/उज्यालो । 

काठमाडौं, असोज २५ – ‘ल तपाईंले टिकट पाउनुभयो, अब चुनाव जितेर आउनुस्’ एमाले नेता राजन राईलाई २०७० सालको चुनावमा पार्टीका शीर्ष नेताले भने । त्यो दिनभरि, रातभरि, नेता राजन राईको मोबाइलले विश्राम पाएन । बधाईको एसएमएस र फोनको घण्टि बजिरह्यो ।उहाँले पनि फोन गर्ने सबैलाई भन्नुभयो, ‘हजुर.. टिकट पाइयो अब सहयोग गर्नुपर्छ है ।’ भोलिपल्ट बिहानै दोश्रो संविधान सभाका उम्मेद्वारको टिकट लिन उहाँ पार्टी कार्यालय पुग्नुभयो । 

तर उहाँ पुग्दा खोटाङ क्षेत्र नं. १ को टिकट बाँकी थिएन । उहाँलाई दिन्छौं भनेको टिकट पाँचकर्ण राईले लगिसकेका थिए । त्यसपछि राजन राईसँग लगिसकेको टिकट खोस्ने शक्ति थिएन र उहाँको स्वभावले त्यो दिँदैन थियो पनि । अघिल्लो दिन टिकट पाएकोमा बधाई भनेका खोटाङका नेता कार्यकर्ता पनि छक्क परे । 

राजनीति सहज हुन्न भन्ने उनीहरुले पनि बुझेका थिए । तर यहाँसम्म पार्टीभित्रैबाट होला भन्ने उनीहरुले सोच्न सकेनन् । टिकट वितरण भइसकेको भए पनि १२ वटा जनवर्गिय संगठनले राजन राईलाई नै टिकट दिन माग गर्दै विज्ञप्ति जारी गरे । 

पार्टीभित्र असन्तुष्टि चुलियो तर राजन राईले आफ्ना कारण त्यसो हुन दिनुभएन । विज्ञप्ति निकाल्ने कार्यकर्तालाई साथ लिएर पार्र्टीको चुनावी सभामा अघि लाग्नुभयो । खोटाङको उत्तरी भेगमा उहाँको नेतृत्वमा तीन दिनदेखि चुनावी कार्यक्रम चलिरहेको थियो । 

नेकपा एमालेका पोलिटव्युरो सदस्य धर्मनाथ साहले फोन गरेर जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गरेर समानुपातिक तर्फको टिकटका लागि नागरिकता पठाउन भन्नुभयो । राजन राईलाई नमागेको टिकट पार्टीले दिनेभयो । प्रत्यक्षमा जिल्याए पनि पार्टीले समानुपातिक तर्फको सभाषद बनाउने आशा देखायो । 

आफ्ना कागजात पठाइसकेपछि समानुपातिक उम्मेदवारको हैसियतमा उहाँले गाउँ गाउँमा चुनावी सभालाई सम्बोधन गर्न थाल्नुभयो । प्रत्यक्षतर्फका उम्मेद्वार पाँचकर्ण राईले आफ्नो र राजन राईको फोटो सहितको पोष्टर छाप्नुभयो । काठमाडौंमा तयार गरेका पोष्टर लिएर कार्यकर्ता गाउँ फर्किंदै थिए । तर बाटैमा खबर पुग्यो, समानुपातिकतर्फको टिकट हरि पोख्रेलले पाए भनेर । समानुपातिक तर्फको उम्मेद्वार बनेर गाउँका चुनावी सभालाई सम्बोधन गरिरहेका राजनलाई भने न धर्मनाथले फोन गरे न त पार्टीले आधिकारीक जानकारी नै गरायो । 

नेता राजान राई त्यतिबेला पार्टीको जिल्ला सचिव हुनुहुन्थ्यो । पार्टीका आधिकारिक उम्मेद्वारलाई जिताउन कुनै कसुर बाँकी राख्नु भएन । एमाले कमजोर ठानिएको क्षेत्र नं. १ सहित जिल्लाका दुवै क्षेत्रमा एमालेले विजय प्राप्त गर्‍यो । क्षेत्र नं. १ बाट पाँचकर्ण राई र २ बाट विशाल भट्टराई सभासद बने । 

राजन राईले भने सोझो भएर पछि परेको सुझाव पाउनुभयो । त्यसो त राजन राईको पार्टीमा त्याग नभएको पनि होइन । न त जनमतको नै कमी थियो । राजनीति नबुझ्दै २०३६ सालमा खोटाङको वाँसपानी बाटै पार्टीका सांगितिक कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । 

त्यतिबेला एमालेले गर्ने कार्यक्रममा नाटक गर्न भन्दै हौसिने राजनको वास्तविक जीवन पनि बेलाबेला नाटककारकै जस्तो बितेको छ ।  २०४० सालमा बाक्सीलामा पढ्दा उहाँ अखिल पाँचौंमा आवद्ध हुनुभयो । 

‘बिहानीलाई बादलले छेकिन्न, आउने युगलाई रोकेर रोकिन्न’ जस्ता प्रगतिशिल गीतगाउँगाउँमा नाच्दै हिँडेका राजन राईले लामो समय अखिलमै बिताउनुभयो । २०५४ सालमा पार्टी फुट्दा पनि उहाँ एमालेमै रहनुभयो । 

माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले कू गरेका बेला दुई चार जना साथी लिएर भाषण गर्न सडकमा ओर्लिनुभयो । तर त्यसको भोलिल्ट उहाँलाई प्रहरीले गिरफ्तार ग¥यो । साढे दुई महिना हिरासतमा बसेपछि अदालतले रिहा गर्न आदेश दियो । तर उहाँलाई प्रहरीले कागजमा सही गर्न लगाएर रिहाई गरेन । 

रिहाइ नगरेपछि उहाँले प्रहरी उपरिक्षकलाई सोध्नुभयो, ‘अदालतले हामीलाई रिहाई गर्नु भनेको छ किन नछाड्नु भएको ?’

ती प्रहरी अधिकारीले भने, ‘अदालतले त रिहाई गर्नु पो भनेको छ त, फेरि नपक्रिनु त भनेको छैन नी !’ यो जवाफपछि तत्कालीन समयमा जेल बस्नुको विकल्प उहाँसँग भएन । साढे तीन महिना जेलमा बिताउनुभयो । 

परिवर्तनको मुख्य आन्दोलन मानिने २०६२/०६३ को जनआन्दोलमा अनेरास्ववियुबाट जनआन्दोलन परिचालनको संयोजन गर्ने भूमिका निभाउनुभयो । आन्दोलनमा ठूला नेताको सुरक्षा गर्ने जिम्मा उहाँहरुलाई थियो । हट्टा कट्टा ज्यान गरेका राईको काम आन्दोलनमा घाइते भएकालाई असपताल सम्म पुर्‍याउनु पनि थियो । काँधमा बोकेर धेरैलाई अस्पताल लानुभयो । 

तेश्रो पटक उम्मेदवार सिफारिस

जिल्ला सचिवालय सदस्य हुँदा २०६४ सालमा पनि उहाँलाई पार्टीले सभाषदको उम्मेदवार सिफारिस गरेको थियो । तर टिकट दिएन । २०६८ सालमा पार्टीको जिल्ला सचिव हुनुभयो । 

२०७० सालमा त दुई पटक झुक्याइयो । हाल वैकल्पिछ केन्द्रीय सदस्य राईलाई आउँदो मंसिर १० र २१ गते हुने चुनाावका लागि पनि जिल्लाले प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । 

यतिबेला देशै भरिका सबै पार्टीका सबैजसो नेता टिकटका लागि रस्साकस्सीमा छन् । टिकट पाउने आश बोकेका नेता जितेर सांसद बन्ने मोहमा छन् । नपाउने साना नेता आफ्नो प्रोफाइलका लागि भए पनि सिफारिसमा पार्न जोडबलमा । 
यहि भीडमा हुनुहुन्छ राजन राई । केन्द्रिय सदस्य भए पनि उहाँलाई आफूले टिकट पाउनेमा शंका छ । र पार्टीले टिकट दिइहालेपनि चुनाव आउन्जेल रहन्छ कि रहँदैन भन्ने । किन कि उहाँको विगत यस्तै छ । 

पार्टी टिकटको टुंगो लगाउने अन्तिम तयारीमा जुटिरहँदा उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ‘म एमालेको त्यस्तो अभागी कार्यकर्ता हुँ, जसले संविधानसभाको एउटै चुनावमा दुई वटा टिकट पायो र कुनै नराखी गुमायो । सामान्य मान्छे, म जस्तै सामान्य मान्छेको जिन्दगीको दायरा साँघुरो नै किन नहोस् भोगचलन त उस्ले पनि गर्छ । आत्मावृतान्त हुँदैन औसत मान्छेका, संस्मरण त हुन सक्छ पक्कै पनि । त्यसैले मलाई लेख्न मन लागेको छ, त्यो बेला मैले प्राप्त गरेको र गुमाएको प्रत्यक्ष र समानुपातिकको दुई/दुईवटा टिकट । त्यो समयको लगातार खुशी र पीरमा बिताएका अनिदा रातहरु, माननीय पिके राईले छाप्नु भएको तर दुधकोशी र सुँगुरका खोरमा फालिएका हाम्रो तस्बिरसहितका पोस्टरहरु....। मलाई फेरि बोल्न मन लागेको छ, उमेदवारको रुपमा मैले गरेको भाषण र आफैँले पचाएको लाज ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया