MENU

समाज

Ncell Axiata

पहिलो छोरा जन्मिदा गाउँलेलाई खसी दिने चलन

इन्द्रसरा खड्का/उज्यालो ।

बैतडी, असोज २६ – गाउँ ठाउँ अनुसार मान्छेका चाल चलन फरक फरक हुन्छन्, जो सुन्दै अचम्म पनि लाग्न सक्छन् । बैतडीको मेलौली नगरपालिका–९ असुरमा पहिलो छोरो जन्मेपछि औँसीमा गाउँलेलाई खसी काटेर बाड्नुपर्ने चलन रहेको छ । गाउँका परिवारमध्ये पहिलो छोरो जन्मेका हरेक परिवारले तिहारको औँशीको दिन खसी काटेर गाउँलेलाई बाड्नुपर्ने चलन रहेको स्थानीय बासिन्दा बताउँछन् ।

गाउँमा रहेका ३ सय ५० परिवारमध्ये तीन दलित छन् । यो ठाउँमा अहिले पनि यस्तो चलन कायमै रहेको छ ।  स्थानीय बासिन्दाले पाँच पुस्तादेखि यो परम्परा मान्दै आएका छन् ।

छोराछोरीमा विभेद हुने गरी पहिलो छोरा जन्मदाँ खसी दिने परम्परा भएकाले लैंगिक विभेद भएको भन्दै पछिल्लो समय स्थानीय युवा यसलाई हटाउनुपर्ने आवाज उठाउन थालेका छन् । छोरी जन्मदा थाहै नहुने समाजमा छोरो जन्मदा एक वर्ष भएपनि खसी दिने चलनले छोरीमाथि अन्याय भएको अहिले यहाँका नागरीकले आवाज उठाउँदै आएका छन् ।

जसले गर्दा आर्थिक अवस्था कमजोर भएका गरिब परिवारले खसी किनेर खुवाउने क्षमता नहुँदा ऋण लिनुपर्ने अवस्था आएको वडासदस्य भीमदत्त भट्टले बताउनुभयो ।  यही चलनका कारण गाउँमा पक्षविपक्षका बिच हरेक वर्ष तिहारमा झैझगडा र मनमुटाव हुने गरेको छ ।

दलित समुदायले खसी दिए पनि खसीको भागबण्डा गैरदलित पक्षले लगाउने गरेका छन् । दलित समुदायलाई यसले जातका आधारमा विभेदसमेत गरेको स्थानीय बासिन्दा नै बताउँछन् । लैंगिक, जातीय विभेद र गाउँमा विवाद निम्ताउने यो चलनलाई हटाउनुपर्ने भन्दै स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया