MENU

समाज

Ncell Axiata

दसैँमा भोकै बसेकी विष्ना भन्छिन् – बरु मर्न पाए नि हुन्थ्यो

डिबी विष्ट/उज्यालो । 

बझाङ, असोज २७ – नेपालीको महान चाड दसैँमा सबैका घरमा खुसीयाली छायो । आफ्नो क्षमता अनुसारको मिठो मसिनो खाने कुरा खानुका साथै एकसरो कपडा सबैले लगाए  होलान् । तर केहीको दसैँ यस्तो बन्यो लगाउने कपडा त परको कुरा एक छाक खान समेत धौ–धौ भयो ।‘दसैँको समयमा एक छाक भात खान पनि पाइएन, नयाँ कपडा लगाउनु त सपना को कुरा  हो’ एकल महिला केदारस्यँ गाउँपालिका– ८ झोता बजारमा बस्दै आउनु भएकी विष्ना बादीले भन्नुभयो । 

‘सानै उमेरमा आमा बुबा वित्नुभयो । बुंगल नगरपालिका पाउटामा बस्ने टिका बादीको जिम्मा लगाई दिए आफन्तले, विवाह गरेको केही महिना नवित्दै श्रीमानको निधन भयो । आफन्तले अलच्छिनी भन्दै घर निकाला गरी दिए । माइतीघर जाँउ भने कोही आफन्त छैनन् । घर निकाला नै गरी दिएपछि के मुख लिएर जानु ? विवाह गरे पनि सन्तान भएनन् । अहिले यही झोपडी मुनि बसोबास गर्दै आएकी छु’ पराल, चाउचाउ विष्कुटका काटुनहरु र प्वालै प्वाल भएको पाल टागेर बनाएको झुपडी देखाउँदै उहाँले भन्नुभयो  ‘यही हो मेरो बास बस्ने ठाउँ ।’

बादी यो झुपडीमा बस्न थालेको झण्डै १० बर्ष भइसक्यो । दिनभरी माग्दै हिँड्ने बादी कसैले काम दिए काम पनि गर्नुहुन्छ ।

‘कति मागेर खानु ? सुरु सुरुका दिनमा त सबैले दिन्थे सधै माग्दा अहिले त दिन पनि छाडे, काम गरेर खाँउ काम पाइदैन, व्यापार गरौं सक्दिन’ आँखा भरी आँसु पार्दै दसैँको दिनलाई सम्झदै विष्नाले भन्नुभयो ‘सबैका घरमा खुसीयाली थियो, मागेर खानका लागि मलाई लाज लागेर आयो, एक दुई घरमा चामल माग्न गए घर नजिक पुग्ने बित्तिकै उ फेरि आई हाली अलच्छिनी भन्न थाले  अनि रित्तो हात फर्किए । अरु घरमा माग्न जाने आँट आएन र दसैँको रात भोकै सुते ।’  

विष्ना बादी विगत १० बर्षदेखि  झोता बजारमा बस्दै आएको स्थानीय बासिन्दा अम्मरसिंह लुहारले बताउनुभयो । ‘कहिले काम गरेर छाक टार्नुहुन्छ, कहिले भोकै बस्नुहुन्छ । यस्ता नागरिकलाई सरकारले पनि हेर्नुपर्ने हो तर यहाँ त सरकार भए नभएको केहि आभाष नै छैन’ उहाँले भन्नुभयो । 

विष्टा बादीका अनुसार उहाँको उद्धारका लागि धेरै मानिसले उहाँ बस्ने झुपडी र उहाँको फोटो खिचेर लगेका छन् । तर कसैले उहाँलाई सहयोग गरेको छैन् । अब त आफूलाई सोधपुछ गर्न आउने र फोटो खिच्ने मान्छे दखेर पनि झर्को लाउन थालेको उहाँले बताउनुभयो ।

५५ वर्ष पुग्नुभएकी विष्नालाई अहिलेसम्म त जसोतसो बाँचियो भन्ने लागेको छ । तर अब बुढेसकालले थलाउँदै लगेपछि कसो गर्ने भन्ने पिर लाग्न थालेको गुनासो गर्नुहुन्छ । ‘मर्न पाए नि हुन्थ्यो जस्तो लाग्छ, खै काल पनि आउँदैन’ उहाँले भन्नुभयो  ‘मरे पनि लगेर फाल्ने मान्छे कोही हुँदैन होला ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया