MENU

साहित्य/ कला

‘लिंकन इन द बार्डो’ का लागि जर्ज सान्डर्सलाई म्यान बुकर प्राइज

काठमाडौं, कात्तिक १ – अमेरिकी लेखक जर्ज सान्डर्सले ‘लिंकन इन द बार्डो’ पुस्तकका लागि म्यान बुकर पुरस्कार जित्नुभएको छ । सान्डर्सले पुरस्कार स्वरुप ५० हजार अमेरिकी डलर पाउनुभएको छ ।

उहाँ यो पुरस्कार जित्ने दोस्रो अमेरिकी नागरिक हुनुहुन्छ । छोटा कथा लेखेर चर्चित हुनुभएका सान्डर्सले पहिलो उपन्यास ‘लिंकन इन द बार्डो’ का लागि प्रतिष्ठित पुरस्कार जित्नुभएको हो ।

यो उपन्यासमा चिहानमा बिताएको एक रातको कथा समेटिएको छ । यसमा आफ्नो छोराको निधनपछि अब्राहम लिंकनको दुःख तथा छोराको चिहानमा लिंकनको यात्रालाई बयान गरिएको छ । बेलायतको लण्डनमा भएको एक विशेष कार्यक्रमका बिच डचेज अफ बार्नवालले पुरस्कार वितरण गर्नुभएको हो ।

५८ वर्षका सान्डर्ससँगै यो पुरस्कारका लागि बेलायती लेखक अली स्मिथ र फियोना मोजन्ले, अमेरिकी लेखक पल पउल अस्टर र एमिली फ्रिडलुण्ड तथा पाकिस्तानी मुलका बेलायती लेखब मोहसीन हामिद अन्तिम सूचिमा रहेका थिए ।

टेक्सासमा जन्मिएका सान्डर्स अहिले न्यूयोर्कमा बस्दै आउनुभएको छ । उहाँले यसअघि आफ्नो कथाका लागि फोलियो पुरस्कार तथा स्टोरी पुरस्कार पाइसक्नुभएको छ । ‘लिंकन इन द बार्डो’ उहाँको पहिलो उपन्यास तथा नवौं पुस्तक हो । 

उहाँले यो पुस्तक सत्य घटनामा आधारित भएर लेख्नुभएको हो । सन् १८६२ को फेब्रुअरी २० मा  ११ वर्षको उमेरमा लिंकनका छोरा विलीको निधन भएको थियो । विलीको चिहान वाशिङ्टन डिसीमा बनाइएको थियो । यहि विषयलाई आधार बनाएर सान्डर्सले यो उपन्यास लेख्नुभएको हो ।

पुरस्कार पाउनु अघि टाइम म्यागजिनसँग सान्डर्सले आफू लिंकनका बारेमा लेख्न नचाहेको भएपनि लिंकन छोराको चिहानमा जाने गरेको कथाले आफूलाई प्रभावित गरेको र त्यसैले यो पुस्तक तयार भएको बताउनुभएको थियो । 

यो पुस्तक ब्लुम्सबरीले प्रकाशित गरेको हो, यो प्रकाशनको पुस्तकले म्यान बुकर पुरस्कार पाएको यो तेस्रो पटक हो । सिराक्यूज विश्वविद्यालयमा अध्यापन गराउने सान्डर्सलाई सन् २०१३ मा टाइम म्यागजिनले विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचिमा राखेको थियो । 

सन् २०१४ देखि अमेरिकी लेखकका लागि पनि म्यान बुकर पुरस्कारको ढोका खुलेको थियो । गएको वर्ष यो पुरस्कार अमेरिकी लेखक पल बेटीले द सेलआउटका लागि पाउनुभएको थियो । 

- तस्बिरः म्यान बुकर प्राइजको ट्वीटर ह्याण्डल र एजेन्सी

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया