MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

अनि हामी झनै जवान भएर फर्कियौँ

ऋग्वेद शर्मा – 

हिँड्दा हिँड्दै थच्च बस्न पाइयोस् । भेटेका कुरा कप्प खान पाइयोस् । अल्छि लागे सुत्न पाइयोस् । खुशी मानेर दौडन पाइयोस् । पैतलाले जहाँ मन लाग्छ टेक्न पाओस् । आँखाले जे मन लाग्छ देख्न पाओस् । यसो नगर भन्ने कोही नहोस् । यसो गर भन्ने कोही नहोस् ।  

चिठ्ठा परेर नसोचेको खुशी भेटिएजस्तो ‘गैएला र !’ भनेको ठाउँमा पुग्दा के गरौँ कसो गरौँको तालमा बुर्लुक्क उफ्रिन्छ मन । खै कसले कसो कसो गरी तान्छ स्वर्गकी जादुगर्नी भेटिएसरी । वर्षको एकपटक यस्तै यात्राले तान्छ कता कता । यसपटक पनि यसरी नै तानिएको हो । 

कतै जाने भनेपछि अघिल्लो रातदेखि नै निन्द्रा भाग्छ । आफू पुग्नुअघि मन पुगिसकेको हुन्छ । के होला, कस्तो होला भन्ने कल्पना त सामान्य नै भए । अनेक आकृति बनेर आँखाअघि आएको स्वरुप झनै भव्य बनिदिन्छ आफै पुग्दा । 

हावाको मन्द गतिमा नाचिरहेका रुख जस्तै निश्चल आँखा । आँखाबाटै देखिन्थ्यो उनीहरु भित्रको स्वच्छ स्वरुप । मानिस जस्तो प्रकृति । प्रकृतिजस्ता मानिस । हाम्रातिर झैँ भिन्न भिन्न छैनन् उनीहरु । टाढा टाढासम्म पनि कपट, स्वार्थको कुनै आभाष भेटिँदैन । यसैले हो यहाँ घुम्दा अरु केही याद हुँदैन । आँखा अघि जे छ त्यसैमा रमाउँछ मन, त्यसैमा हराउँछ । अनेक दुःख, झमेला, अशान्तिलाई विश्राम दिन पाउँदाको स्वर्गीय आनन्द यसै त कसरी मिल्ला र !

लखर लखर डुल्ने बानी त पुरानै हो । काम परेर पुगेको ठाउँको फोटो पोस्टेर ‘घुमियो’ भनेर त कति लेखियो कति । घुम्ने मात्र उद्देश्यले कतै जान थालेको पनि तीन वर्ष भएछ । यसरी घुम्नु अघि त्यस्ता केही विशेष उद्देश्य रहँदैनन् । केही उद्देश्य राखेर घुम्न निस्कँदा घुमाई काम बनिदिन्छ । अनि हृदय छेड्ने सुन्दर दृश्य पनि खल्लो बनिदिन्छ । त्यसैले ‘प्रकृतितर्फ फर्क’ को सुत्र झैँ मनमौजी पारामा हिँड्दा मजा निकै भेटिन्छ । लेखेर बुझाउन नसकिने, भनेर सुनाउन नसकिने अनौठो मजा । 

यस्तै मजाले हो लगातार ३६ घण्टाभन्दा बढीको बस यात्रा पनि निरस लागेन । झण्डै २२ घण्टाको पैदलले पनि अप्ठेरो अनुभव भएन । एक थाल सादा भातको तीन सय रुपैयाँ तिर्दा पनि मन्खत लागेन । बाटामा केही क्षण ‘अब होस्’ को महसुश नभएको भने होइन, तर जब राराको काखमा पुगियो । आँखाबाट विस्तारै विस्तारै राराको पानी मनसम्म पुग्यो, त्यो थकान बल बनिदियो, त्यो दुखाई रोजाइँ । 

हावाको झोकासँगै फेरिने छालको बाटो र वेग, राराको सुन्दर तस्बिर । तस्बिरमा देख्दै बोलाएको हो राराले । राराको बोलावट नकार्न कसरी सकिएला त ! घरी बेहुली झैँ लजाएकी, घरी पङ्ख फिजाएर मयुर झैँ नाचेकी प्रकृतिको सुन्दर उपहार । मुगुमा रहेको रारा दिनभर अनेक रङ्गमा देखिन्छ । रारा नपुग्दा गरेका धेरै कल्पना त्यो भन्दा ठूलो आकारका हुन्छन् यथार्थमा । 

समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाईमा रहेको नेपालकै ठूलो ताल राराले सबैलाई आफूजस्तै भव्य बनाइदिन्छ । जंगलको बिचमा रहेको तालले घामको प्रकाशसँगै रङ बदल्छ । १० दशमलव ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको राराको अधिकतम लम्बाई ५ किलोमिटर र अधिकतम चौडाई ३ दशमलव २ किलोमिटर छ भने गहिराई १ सय ६७ मिटर छ । यी अंकहरुको समूहभन्दा निकै ठूलो छ रारा । ब्याख्या भएका शब्दभन्दा निकै सुन्दर । 

काठमाडौंबाट कर्णाली यातायातको बस चढेको ३६ घण्टामा जुम्ला पुगियो । त्यतिन्जेल बस नै आफ्नो लागिसकेको थियो । बसका कर्मचारी परिवार । ढोकामा उभिने फुच्चे केटो घरी घरी हामीतिर हेरेर मुसुक्क हाँस्थ्यो । उसको हाँसोले बसमा बस्दाबस्दा थाकेको ज्यानमा अनौठो मालिस पुग्थ्यो ।

कहिले हामी चढेको बस बिग्रने कहिले अरु बस बिग्रिएर हामी अडिनुपर्ने । खाना, खाजा र शौच बाहेकका यस्ता विश्रामले पनि यात्रामा नौलो रोमाञ्चकता थप्यो । यात्रामा निस्कनु केही दिनअघि खुट्टा सुन्निनेगरी खेलेको फुटबलले बेला बेला मलाई झस्काइरहेको थियो । मनमा ‘जुम्ला पुग्दासम्म त कसो ठीक नहोला’ भन्ने आशले निराश हुनबाट रोक्यो । फेरि सम्झियो ‘दुई दिन त हिँड्नै छ ।’ 

बाटोबाटोमा भेटिएका नयाँ कुराले हामीलाई पनि नयाँ बनाइरहेको थियो । बुटवल कटेर उता नगएको मलाई त प्रत्येक ढुंगा नौलो लागिरहेको थियो । बाटो छेउमा उभिएको सल्लाको बोटले ‘को हो यो ?’ भनेर हेरिरहे जस्तो ।

हामी एकैछिन गाडी रोकिए तल ओर्लिएर खुट्टा तन्काउन पाउने आशमा हुन्थ्यौँ । हामी अर्थात सँगै थिए साथीहरु शिब बोहरा, अर्जुन पोख्रेल र उत्तम काप्री । शिब र अर्जुनसँग गएका दुई वर्ष पनि यात्रा बाँडिएको हो । हाम्रो टोलीमा नयाँ थिए उत्तम । हामी घुम्न जान लागेको थाहा पाएदेखि सबैले सोधेको प्र्रश्न हो, ‘तिमीहरु आफै घुम्ने ?’ हाम्रा उत्तर आआफ्नै थिए, म नबोलिकनै जवाफ दिन्थेँ ‘हो’ । 

बाटामै खाइयो चिया र बम पाउरोटी । साना केटाकेटीले बेचेका १० को चार दाना बेलौती । गुँरासे डाँडाको भात । गुँरासेमा बस रोक्नुअघि यात्रुहरुले भनेका थिए, ‘गुँरासेको भात मीठो हुन्छ । त्यसैले कोहलपुर, सुर्खेत कटेर दैलेख गुँरासेको भातका लागि बढेको हो बस । गुँरासे डाँडा चढ्दा मन चसक्क भयो । ‘भात खाने ठाउँसम्म त पुगिएला !’ उकालो साँघुरो बाटोमा एउटै मात्र रमाइलो थियो तल देखिने बजार र डाँडाको हरियाली ।

‘यहाँ गुँरास फूल्ने बेला आउँदा निकै रमाइलो देखिन्छ’ कोही बोल्यो । हाम्रो डराएको मन ‘गुँरासे... ल भात खान झर्नुस्’ सुनेर थामियो । बसभरि सुनेको तारिफजस्तो मीठो भने थिएन गुँरासेको भात । भात खाएर बसमा चढेपछि सायद अघि गुँरासेको भात भन्दै ब्याख्या गर्नेले नै थपे, ‘यहाँ होइन । मीठो भात अलि अगाडि थियो । गाडीहरुको मिलेमतोले यहाँ रोके ।’ आफ्नो भनाई टिकाउने उनको उपाय मलाई गजब लाग्यो । 

गुँरासेको डाँडाबाट फेरि उस्तै बाटो बस ओरालोतिर लाग्यो । चढ्दा जतिको डर नभए पनि बाटो सहज थिएन । बेला बेला मोडमा आँखा चिम्म गर्यो । अलि सजिलो जस्तो बाटोमा यसो बाहिर हेर्यो र फोटो खिच्यो । दैलेखको यस्तै कहिले झस्काउने, कहिले रोमाञ्चित पार्ने बाटो हुँदै कालिकोट पनि लागियो । बेलुकी भइसकेकाले आजको बास कालीकोटमा मान्ममै हुने भयो भन्ने मनमा थियो ।

तर जुम्लाबाट बिहान ५ बजे यात्रु लिएर फर्किनुपर्ने गाडीवालको तालिकाले रातै परे पनि हामी जुम्ला नै पुग्ने भयौँ । अध्यारोमा देखिने अलि अलि उज्यालोबाटै हेरियो मान्म । कर्णाली राजमार्गमा यात्रुवहाक गाडी राति ८ बजेपछि चल्न नदिने भए पनि मिलाएर, खुवाएर जसरी हुन्छ जुम्ला पुग्ने गाडीवालकै मनस्थितिसँग हामी पनि सामेल थियौँ । भनेजस्तै चेक प्वाइन्टमा रहेका प्रहरीलाई नास्ता पानीको व्यवस्था मिलाएर कन्डक्टरले बस राति पनि लान पाउने सूचना सुनाए । कालिकोट नाग्म पुगेर रातको खाना खाई हामी जुम्लातिर हानियौँ । 

रातको समय कर्णाली राजमार्गको साघुँरो बाटो । मुटु हत्केलामा राखेर नडराएको स्वाङ पार्नुपर्ने । साथीहरु बेला बेला मजाक पनि गर्थे ‘ला त एकछिन मेरो मुटु राखिथे ।’ दिउँसो बाटो अप्ठेरो भए पनि वरपर देखिने दृश्यले अलि आड दिन्थ्यो । रात परेपछि त डर मात्रै ।  डरै डरमा दैलेख, कालिकोट हुँदै जुम्ला पुगियो । जुम्ला पुग्ने बेला भने बाटो केही सजिलो थियो । ३६ घण्टाको बस यात्रा बल्ल सकियो । मनले शान्ति पायो । बस चढेदेखिका सबै कुरा सरर आए । धन्न अब केही दिन बस चढ्नु पर्दैन । हामी जुम्लादेखि हिँड्दै मुगु रारासम्म पुग्ने तयारीमा थियौँ । 

बिहान जुम्ला बजार र चन्दननाथ मन्दिर घुमेर हाम्रो रारा पैदल यात्रा शुरु भयो । जुम्लामा भेटिएका साथी भन्थे ‘हिँडेरै जानुहुन्छ ?’ हामी हिँडेरै रारा पुग्ने भन्दा धेरैले अचम्म माने । बाटोमा भेटिएकी एक दिदीले त यत्रो बाटो किन हिँड्नुहुन्छ मोटरसाइकलमा जानुस् भनेर नमागेको सल्लाह सित्तैमा दिनुभयो । हामी कर्णाली हेर्न चाहन्थ्यौँ । माटोको बास्ना लिन चाहन्थ्यौँ । रुख, पात पतिङ्गरसँग दोस्ती बनाउन चाहन्थ्यौँ । मानिसहरुको मन छुन चाहन्थ्यौँ । हाम्रो अथाह ज्ञान पाउने लालसा रारा पुग्नुमा मात्र सीमित थिएन । रारा पुग्दासम्मका हरेक गौडा हाम्रो परीक्षा थियो । हिँडेरै जाने हाम्रो अठोटलाई मानिसहरु निराश पार्दै थिए । हामी भने झनै उत्साही हुँदै थियौँ । 

डाँफे उकालो हाम्रो स्वागतमा झनै अग्लिएजस्तो थियो । यत्रो उकालो, चर्को घाम । शुरुको हिँडाइ भएकाले हामी एकै सासमा चढिसक्ने जोशमा थियौँ । उकालोमा भेटिएका आत्मीय साथ हाम्रा लागि केबलकार बनिरहेको थियो । आँट आउथ्यो, यसै सरर काटिन्छ यो गौडो । मनले मनलाई प्रश्न सोध्थ्यो, ‘यहाँका मान्छे किन यति बिघ्न राम्रा ?’

उकालोभरि कहिले छोरा बन्न पायौँ, कहिले भाइ, कहिले साथी । भेटिएकाहरुको बोलि मीठो । पानी नभएको ठाडै उकालामो रस थियो उनीहरुको बोलाइ । ‘भाइ तपाइँहरु उल्टो बाटो जानुभयो । त्यता होइन । फर्किनुस् । यताबाट जाने हो’ यो स्वर हाम्रा लागि शक्ति थियो । आहा ! कस्तो निश्चल मन । यति टाढा पुगेका हामीलाई बोलाई बोलाई सही बाटो देखाइदिने ती दिदीले नै मीठो खाजा बनाएरसमेत खुवाउनुभयो । 

ठूला ठूला पाटन । पाटनमा चरिरहेका घोडा । सिंहजस्ता देखिने भोटे कुकुर । नौला फूल । अनि सबैभन्दा राम्रा ... मान्छेजस्ता मान्छे । ठाडै उकालो अनि ठाडै ओरालो । हामी साधनका बानी परेकाहरुलाई उकालो ओरालोको भाषा सहज थिएन । 

उक्लँदा उक्लँदै उकालोमा
उक्लेको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दो रहेनछ ।
ओर्लंदा ओर्लंदै फेरि
ओर्लेको बाटो नै उक्लिएपछि
ओर्लनेको पनि केही लाग्दो रहेनछ ।
हिँड्दा हिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दो रहेनछ ।

कवि तुलसी दिवसको कविता सम्झँदै यात्राका उकाली ओराली र जीवनका उकाली ओराली तुलना गर्दै हिँडे । जीवनका उकाली ओराली करले चढ्नुपर्ने । करले झर्नुपर्ने । यात्राका उकाली ओराली रहरले चढिने रहरैले झरिने । 

‘बाबु यो लठ्ठी लिएर जाउ, 
भयो भयो पर्दैन, 
होइन होइन लग न । 
हवस्’

खाजा खाने पसलका बुवाको माया त्यतिबेला बुझियो जब अर्को खुट्टा नथपे दुई खुट्टा सर्ने स्थितिमै थिएनन् । जीवन जस्तै चढ्दा सहज, रमाइलो । झर्दा कष्ट, नरमाइलो । खुट्टा थिचिएर ओरालोको ती बाको मायाले निकै साथ दियो । खुट्टा मेसिन जस्तो भएको थियो । मस्तिष्कसँग कुनै सम्बन्ध नभई आफ्नै तालमा अघि बढीरहे जस्तो । काभ्रया पुग्दै बेलुकी भइसकेको थियो । तै पनि भोलिका लागि सहज बनाउने आशमा हामी जसोतसो चौथासम्म पुग्न कस्सियौ । मनले आँटेपछि शरीरले तान्छ भनेझैँ बेलुकी हामी बास बस्न जुम्लाको चौथा बजार पुगिछाड्यौँ ।

चौथा न्यू हिमाल होटलमा पाएको आतिथ्य यहाँ जति लेखे पनि पुग्दैन । यात्राभरको निकै आत्मीय क्षण बित्यो चौथामा । जहाँ जगजित भण्डारी एउटा बिर्सनै नसकिने नाम बनिदियो । उनी होटल मालिक भए पनि हाम्रा लागि दाइ, बुबा, काका थिए । भोक र थकानले लखतरान परेर पुगेका हामीलाई उनीहरुको सत्कार नै औषधी थियो । पारीवारिक गफसँगै तातो पानी, उसिनेको फर्सी, जडिबुटी चिया र मीठो भात त छँदै थियो, थाकेर आउनुभएको छ भनेर तताएर तेल घस्न दिँदा जुम्ली मायाको अनुपम सौगात पाइयो । 

हिमाल होटलबाट बिहानै उठेर हामी रारा यात्राको निरन्तरतामा लाग्यौँ । अघिल्लो दिनजस्तै उही बाटा उही मौसम । एक घण्टा हिँडेर भुलभुलेमा चिया बिस्कुट खान रोकियौँ । त्यसपछि थोरै पाटनको बाटो हिँडेपछि घना जंगलको ओरालो लाग्यौँ । भुलभुलेबाट अघि बढेर आर्मी चेक पोस्ट पुग्दा रारा जाने दुईवटा बाटा थिए । हामीलाई होटलका दाइहरुले झ्यारीको बाटो जानुस्, लेकको बाटो जानुभयो भने हराउनु होला भनेका थिए ।

त्यसैले आज्ञाकारी विद्यार्थीले झैँ हामीले झ्यारी हुँदै जाने लामो बाटो नै रोज्यौँ । उकालो, ओरालो, केही तेर्सो हुँदै हिँड्दा अब त मानिसहरु पनि भेटिन छाडेका थिए । ठाडो ओरालो सकिएपछि भेटिएका मानिसलाई सोध्थ्यौँ ‘अब झ्यारी पुग्न कति समय लाग्ला ?’ – आधि घण्टा । आधि घण्टा भनेपछिको ४० मिनेट हिँडेपछि सोध्दा पनि उही जवाफ आउँथ्यो, ‘अब आधि घण्टा ।’ सोध्दा कसैले १० मिनेट पनि भनिदिन्थे अनि हामी थाकेको शरीर बुरुक्क उफ्रेर फटाफट हिँड्थ्यौँ । 

यात्रासँगै जीवनकै ठूलो सपनाजस्तो भएको थियो झ्यारी । अब जहिले पुगिएला ठानेर कसैलाई नसोधी हामी बढीरह्यौँ । झ्यारी पुगेपछि पनि लौ है आयो भन्ने उत्साह रहेन । झ्यारीसँगै ठाडै उकालो थियो रारा पुग्न हाम्रा अघि । झ्यारीमा भात खाएर हामी उकालो लाग्यौँ । झ्यारीको भातले हो या राराको शक्तिले थाकेर ढल्न ठिक्क परेको शरीर उकालो पार गरी छाड्यो । राराको छेउछाउ पुगेको आभास त्यहाँको वातावरणले दिन्थ्यो । ‘दाइ घोडामा जाने हो ?’ भनेर सोध्न आउनेहरुबाट पनि हामीले अडकल लगायौँ अब रारा टाढा छैन । 

रारा भन्छ - मैसँग बसे हुन्न र ? (फोटो कथा)

उकालो सकिएपछि दुई दिनदेखि नबजेको हाम्रो मोबाइलमा रिङ टोन बझ्न थाले । कहाँ पुगे होला भनेर सोच्नेहरुलाई हामीले खबर गरिदियौँ, ‘हामी रारामा छौँ ।’ हामीले फोनमा ‘हामी रारामा छौँ’ भनिदिए पनि आँखा अघि रारा थिएन । थोरै चौरको बाटो । थोरै जंगल पार गरेपछि एकैपटक आँखामा ठोक्कियो विशाल रारा । राराको काखमै नपुगेसम्म लुक्दी रहिछिन् रारा । छेउमै पुगेपछि मात्रै खुलेर देखिइन् ।

ओ हो ! आइपुगियो । राराको अघि पुगेको खुशी कसरी देखाउने, कसरी रमाउने अलमल भयो । उफ्रन मन भयो । पानीमा गएर सुत्न मन भयो । एकैपटक पूरै रारालाई अंगालो हालौँ जस्तो । रारामा रमायौँ हामी । पानीमा खेल्यौँ । आमाको छातीमा टाउको राखेर निदाए जस्तो । प्रेयसीको काखमा सुतेर आकाश हेरे जस्तो । अझ त्यो भन्दा पनि बढी ।

कुनै उदाहरणले नपुग्ने कुनै बिम्बले नहुने सुन्दरताको काख हो रारा । धेरै सपनाले आकार लिए जस्तो । दुःखले थकाइ मारे जस्तो । तालको छेउ भएर वहने बतासले गाएको गीतमा नजाने पनि नाच्यौँ हामी । अनि झनै जवान भयौँ । 

 

अनि हामी झनै जवान भएर फर्कियौँ

अनि हामी झनै जवान भएर फर्कियौँ

अनि हामी झनै जवान भएर फर्कियौँ

अनि हामी झनै जवान भएर फर्कियौँ

अनि हामी झनै जवान भएर फर्कियौँ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया