MENU

समाज

प्राधिकरणमा चौथोपटक नेतृत्व परिवर्तन : पुनर्निर्माणको काममा खेलवाड

काठमाडौं, कात्तिक ६ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा चौथोपटक नेतृत्व परिवर्तन भएको छ । सरकारले पूर्व अर्थ सचिव युवराज भुषाललाई प्राधिकरणको जिम्मेवारी दिएपछि प्राधिकरणमा चौथोपटक नेतृत्व आएको हो । 

तत्कालीन सरकारले व्यवस्थापिका संसदबाट समयमै विधेयक पारित गराउन नसक्दा सुरुका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल स्वत बाहिरिनुभयो । २०७२ पुस १ मा प्राधिकरण ऐन संसद्बाट पारित भएपछि केपी ओली नेतृत्वको सरकारले सुशील ज्ञवालीलाई सिइओमा नियूक्त गरेको थियो ।

ज्ञवालीले काम थालेको एक वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ज्ञवालीलाई हटाउँदै फेरि पोखरेललाई नै गएको पुष २७ गते सिइओ नियुक्त गरेको थियो । सोमबार बिहान बसेको मन्त्रीपरिषद बैठकले पोखरेलको राजीनामा स्वीकृत गरी सिइओमा युवराज भुषाललाई नियुक्त गरेको हो । पोखरेलले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउनुभएको थियो । प्युठानबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न उहाँले राजीनामा दिनुभएको हो ।

पोखरेल नेपाली कांग्रेसबाट प्युठानमा चुनाव लड्न लाग्नुभएको हो । पटक पटक नेतृत्व परिवर्तनले पुनर्निर्माणको समग्र काम प्रभावित हुँदै आएको छ । घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा पुनर्निर्माणमा अझै आशालाग्दा काम भएका छैनन् । प्राधिकरणले आइतबार नै पोखरेलको नौ महिनाको कार्यकालमा भएका काम सार्वजनिक गरेको थियो ।

नौ महिनामा प्राधिकरणको नेतृत्व गरेका पोखरेलको कार्यकालमा घर र विद्यालय पुनर्निर्माणमा अरु भन्दा केहि आशालाग्दा काम भएका प्राधिकरणको दाबी छ । अहिले बन्दै गरेका र बनिसकेका घरको संख्या झण्डै दुई लाख पुगेको छ ।

प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा असोज मसान्त सम्म ८५ हजार बढी घरधुरीले दोस्रो किस्ता बुझिसकेका छन् । १ लाख ६ हजार बढी प्रभावितले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएको र ९७ हजारलाई दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको छ । ९ महिनाअघि २ सय शैक्षिक संस्था निर्माण सम्पन्न भएकोमा यो संख्या २ हजार ४ सय ५६ पुगेको छ ।

शिक्षा मन्त्रालय अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख इमनारायण श्रेष्ठले भूकम्पबाट क्षतिग्रस्त ८ हजार ९ सय २३ शैक्षिक संस्थामध्ये अहिलेसम्म ४ हजार ३ सय ८१ शैक्षिक संस्था निर्माणाधीन र निर्माण सम्पन्नको अवस्थामा पुगेको बताउनुभयो ।

प्राधिकरणले अनुदान सम्झौता गरिसकेका सबै प्रभावितले घर पुनर्निर्माणका लागि आउँदो असार मसान्तसम्म अनुदानको सबै किस्ता लिइसक्नुपर्ने व्यवस्था समेत गरेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया