MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

सर्ता

सर्ता

- विप्लव प्रतीक

सातै जाने गरेर ढ्याम्म आवाज आयो । खाटमा पल्टिएर किताब पढिरहेको अविजित झस्कियो । हावाले झ्याललाई जोडले थप्पड हानेको आवाज थियो त्यो । पढेको ठाउँ सम्झिन अलिकता पन्ना मोडेर चिनो लगायो र खाटबाट ओर्लियो ऊ । झ्यालनेर पुग्यो र देख्यो झ्यालको खापा नमिलीकन लागेको रहेछ । त्यसलाई मिलाएर ढप्क्यायो र चुकुल लगाइदियो । अर्को झ्याल बन्द थियो र तेस्रो झ्यालचाहिँ खुला । त्यो खुला झ्यालबाट बाहिर हेर्‍यो । बाहिर कुनै चहलपहल थिएन । यो बाटो मानिसहरू त्यतिसारो हिँड्दैनथे । उसले आकाशतिर हेर्‍यो, काला बादल घुम्रीघुम्रीकन बटारिँदै आकाशमा गुड्दै थिए । गडङडङडङ बादल गर्जियो र तेज गतिमा बर्सातको पानीले जमिनलाई ठुङ्न थाल्यो । अविजितले त्यो झ्याल पनि लगाइदियो र खाटमा आएर पल्टियो । 

बाहिर धररर पानी परेको आवाज कोठाभित्र पनि सुनिँदै थियो । कोठा चिस्चिसो थियो । उसले दोलार्इंले आपूmलाई गुटुमुटु पार्‍यो । एकछिनपछि उत्तानो पर्‍यो र ससानो ठाउँ बनाएर दुवै हात झिक्यो अनि अघि पढिरहेको पुस्तक पल्टायो । अघि लगाएको चिनो हटाएर अगाडि पढ्न थाल्यो । गोपालप्रसाद रिमालको ‘यो प्रेम’ नामक नाटक थियो त्यो । हेलेनले शङ्करलाई भनेको संवादबाट पढाइ सुरु भयो । किताबमा हेलेन भन्दै थिइन्, “प्रेम जीवन हो !”

अचानक अविजितले हरिकलालाई सम्झियो । उज्यालो अनुहार, सुम्ला उठेको ओठ, उठेको गालाको हड्डी र त्यसमा लागेको प्राकृतिक लाली, बफ अर्थात् तालुमा पुट्ट उठाइएको केश अनि दाहिने गालामा तुर्लुङ्ग झरेको अल्का काफी थिए, हरिकलाको सौन्दर्यबाट वशीभूत हुन । त्यसमाथि जवानीको शृङ्गारले गरेको जादु भनिनसक्नु थियो । किताबमा ध्यान रहेन अब अविजितको । तर, यतिखेर किन याद आयो यो कुरा ? शायद मौसम हो कि ? बायाँतिर खाटको खाली भागमा किताबलाई राखेर गुटुमुटु भयो र दुवै हातलाई तिघ्राको बीचमा च्याप्यो । बाहिर पानी एकनास पर्दै थियो र हावाले सर्ररसर्रर पानीलाई काट्दै गरेको आवाज पनि थपिएको थियो । उसले आँखा चिम्लियो ।

कल्पनामा कालो टीका, हरियो झुम्का, घिउ रङको चोलो, कालो सारी र कालै जुत्तामा हरिकला झुल्किइन् । रोमाञ्चित भयो अविजित । तर, हठात् ऊ दोलाईं फ्यालेर उठ्यो । तन्ना कस्न थाल्यो । दोलाईं पट्याएर भित्तातिर मिलाएर हुत्यायो । अनि, जब ओछ्यान मिलाउने काम सकियो, अर्को काम भेटेन उसले, बडो लाचार देखियो । उसको दिमागले के गर्ने भनेर भ्याएन । कोठामा एक्लो थियो अविजित । तर, उसको मनमा असङ्ख्य विचार थिए, जसले उसलाई लछारपछार पारिरहेका थिए । विचारसँग जति भाग्न खोज्यो, उति लखेट्छ त्यसले । नभागी बस्दा बरु भाग्छ कि विचार ? के थाहा ?

सधैँजसो सबै जना हूल बाँधेर हिँड्ने साथीहरू आज थिएनन् । भुवन गुठीको भोजमा गएको थियो । मघैया र बलराम कुनै कामले गर्दा बेफुर्सदी थिए । न्हैकन्तलाको तीन तलामाथि भट्टीमा विजयलाल र अविजित मात्रै बसेका थिए ।

“ए, बेलाबोस, वः धइगु गो ?”, विजयलालले साहुनीकी छोरीलाई बाराबारे सोधपुछ गर्‍यो । साहुनीकी परमसुन्दरी छोरीलाई त्यसताकाको हिन्दी सिनेमाको एक जना चर्चित अभिनेत्रीको नाम दिएको थियो विजयलालले । उसले बेलाबोस भन्दा फुरुङ्ग पर्थी अष्टलक्ष्मी, जुन उसको सक्कली नाउँ थियो । विजयलालले भन्नु र बारा तयार हुनु सँगै भयो । अष्टले बारा ल्याइदिई ।

“त्यसो भए हरिकलाको सम्झनाले मार्‍यो होइन त ?”, विजयलालले अविजितलाई उडाउने सुरमा भन्यो ।

“त्यस्तो होइन, तिमीलाई यस्तो भयो भनेर सुनाएको पो त ! दिमागमा खेलाइरहनु भन्दा साथीलाई सुनाउँदा रमाइलो हुन्छ भनेर पो भनेको त ! तिमीलाई भने दाउ पर्‍यो कि छोप्नैपर्छ हैन ?”, अविजितले हाँस्दै भन्यो ।

“कति वर्ष भयौ तिमी ? गरे भयो नि त बिहे !”

“तिमीलाई थाहा छ विजय, मलाई बिहेको कुरा सम्झिनेबित्तिकै सकस हुन्छ । किन थाहा छैन । कहिले लाग्छ, मलाई उद्धार गर्नु छ कसैको । यो समाजमा पीडित भएर बाँचेको कसैको उद्धार गर्नु छ मलाई । हरिकलाजस्ता युवतीले त जत्ति भने पनि केटा पाइहाल्छन् नि ! जसले केटा पाउँदैनन् बिहे गर्न, त्यस्ताका निम्ति आपूmलाई साँचेको छुजस्तो लाग्छ मलाई ।”

“अर्काको उद्धार गर्ने सोच लिएको महाशय, मलाई थाहा छ– तिमीले कसै न कसैको उद्धार गर्नेछौ र आपूmचाहिँ भड्खालोमा पर्नेछौ । आदर्शको शिकार भएको मेरो साथी, मैले तिमीलाई सम्झाएर न अहिले बुझ्छौ, तिमीले न मसँग बुझाउन सक्ने सीप छ । समयले सिकाउला तिमीलाई कुनै दिन ।”, आफ्नो प्यालामा भएको रक्सी उचाल्यो विजयलालले र अविजितको प्यालालाई आँखा सन्काएर देखाउँदै भन्यो, “अहिलेलाई कुरा मिलाऊँ र यो सिध्याऊँ ।”

मुसुक्क हाँस्यो र अविजितले स्वाट्ट पार्‍यो, विजयलालले अर्को गिलास मगाउन ‘बेलाबोस’ भन्न लागेको मात्र के थियो, अन्ती लिएर हाजिर भई अष्ट । उसले ध्यान दिएर हेरिरहेकी हुन्थी यिनको समूहलाई । पुगनपुग सकेसम्म भन्नुअगावै आइपुग्थ्यो । रक्सी थपेर फर्किने बेलामा अर्को हातमा लिएको सानो तानचिनको रिकापीमा केही टुव्रmा छ्वयला त्यहीँ छाडेर गई, “का थ्व फ्वसा वगु ल्वसा !” विजयको बानी छैन फोसा माग्ने । तर, सधैँ अष्टलक्ष्मीले नबिर्सीकन दिइरहेकी हुन्छे ।

घरभित्र छिर्ने बेलामा तीनचोटि हाच्छिउँ आयो अविजितलाई ।

कसैकसैले हाच्छिउँलाई अलच्छिन पनि भन्छन् । केही काम गर्नलाग्दा हाच्छिउँ आयो भने त्यो काम नगर्नू पनि भन्छन् । तर, अविजितलाई यस्ता कुरामा पत्यार लाग्दैनथ्यो । यसको वैज्ञानिक प्रमाण जुटाऊ अनि कुरा गर भन्थ्यो । अन्तिम हाच्छिउँ गर्दासम्म ताल्चा खुलिसकेको थियो र ऊ भित्र छिरिसकेको थियो । ढोकाको चुकुल लगाएर ऊ माथि उक्ल्यो ।

कपडा फेरेर ओछ्यानमा के छिर्न लागेको थियो, अविजितलाई गाह्रो भएर आयो । दौडेर झ्यालमा गयो, मुखमा आएको अमिलो पानी थुक्यो र एकछिन केही हुन्छ कि भनेर पर्खियो । एकैछिनमा जे ज्युनार गरेर आएको थियो, सबै झ्यालबाहिर समर्पण गरेर फर्कियो ऊ । भान्छामा आएर एक करुवा पानी लिएर झ्यालबाहिर कुल्ला गर्‍यो अनि उसले अलिकता पानी पियो ।

बिहान तीन बजेतिर अविजित ब्युँझियो । लुगा सबै निथु्रक्क भिजेको थियो उसको । शरीर तातो थियो । शायद ज्वरो आयो क्यार ! बिस्तारै उठ्यो, भान्छामा गयो, एक फाँको जिरा मुखमा हाल्यो । सानोतिनो रुघाखोकी र ज्वरो ऊ भान्छाको मसलादानीमा भएका मसलाहरूले निको पाथ्र्यो । कोठाभित्र छिरेपछि उसले रुमालले जीउ पुछ्यो, तन्ना फेर्‍यो र लुगा फेरेर अर्को दोलाईं ओढेर पल्टियो । जिराको रस चुस्दै कतिखेर निदायो, थाहै पाएन ।

कसैले बडो जोडले ढोका ढकढक्याइरहेको आवाजले अविजित ब्युँझियो, मुखमा रस निख्रिएको जिराका दानाहरू फुलेर बसेका थिए, बगैँचातिरको झ्यालबाट सबै थुकिदियो उसले । अनि, आँगनतिरको झ्याल खोलेर हेर्‍यो । ढोकामा कोही थिएन । तर, अलि पर कोही मान्छे फर्विmँदै थियो । ढकढक गर्दागर्दा ढोका नखुलेपछि थाकेर गएको हुनुपर्छ आगन्तुक ।

“कसलाई खोज्नुभएको हो कुन्नि ?”, आगन्तुकले सुन्ने गरी अविजितले भन्यो ।

सुन्नेबित्तिकै आगन्तुक फनक्क फर्कियो । अविजितलाई देखेर ट्वाल्ल परे आगन्तुक तर अविजितले चिनिहाल्यो हर्कवीर रहेछन्, भिनाजुका मान्छे । अलि अकमकाउँदै हर्कवीरले लेघ्रो तानेर भने, “नमस्कार !”
हर्कवीरलाई ठम्याउन गाह्रो भए पनि अविजितलाई भएन, “नमस्कार ! आउनोस्, आउनोस् ।”

अविजित ढोका खोल्न ओर्लियो । “सुरुमा त चिन्नै मुस्किल पर्‍यो ।”, हर्कवीरले भन्यो । अविजितले तरुनो हर्कवीर देखेको थियो । चेहरा अहिले पनि फेरिएको थिएन । त्यसैले चिन्न गाह्रो भएन । तर, चेहरा उस्तै भए पनि उमेर ढल्किएको थियो । अविजितले देख्नेबित्तिकै चाल पायो । मुहारले उमेर लुकाए पनि घाँटीमा टाँसिएका रेखाहरूले उमेरको भेद खोलिदिन्छ । अनुहारपछि गर्धनतिर ध्यान गएको थियो अविजितको । हर्कवीरलाई जिन्दगीले लखेटेको जस्तो महसुस गर्‍यो उसले । नरमाइलो लाग्यो अविजितलाई ।

“बस्नोस् !”, चकटी दियो अविजितले ।

हर्कवीरले एकछिन अविजितको अनुहार हेर्‍यो, त्यसपछि कोठालाई नियाल्यो । उसले भिनाजु सपरिवार सिमला बसाइँ सरेको समाचार सुनायो । जुन कुरा अविजितले परारै सुनेको थियो । तर, विस्तृत थाहा थिएन । एक जना राणाजीकै चाकरीमा सिमला सरेको कुराचाहिँ अविजितलाई थाहा थिएन । भिनाजुले थप्पड हानेकोमा निकै पछुतो मानेको कुरा पनि सुनायो । अविजितलाई भिनाजुको माया लाग्यो र दिदीको सम्झनाले हठात् न्यास्रो बनायो । तर, भिनाजुकै सन्दर्भलाई जोडेर भन्यो, “पछुतो मान्नु नै किनपथ्र्यो र ? त्यही सुनौलो थप्पड हो, जसले मलाई जीवनको नौलो मोडमा प्रवेश गर्न धाप मार्‍यो । अहिले जे छु, राम्रै छु ।”

हर्कवीरले मानेन । उसले भन्यो, “अनि, त्यसैपछि होइन, त्यत्रो ज्यान जाने जोखिममा परेको ?” अब कसले सम्झाओस्, जिन्दगी भनेकै जोखिमसँगको लुकामारी हो, अविजितको दिमागमा यस्तो आयो । अनि, उसले कुरा मोड्न चाह्यो, “अरू सुनाउनुस् न के छ ? कसरी फेला पार्नुभो घर ?”

“बानेश्वरको उकालोमा छ भन्नेसम्म सुनेको थिएँ । आएको दुई दिशामा चारवटा उकाला छन् । धन्न, खोला तरेपछि एउटा दोकान देखेर सोधेको । ठ्याक्कै बताइदिए ।”

“अनि अरू खबर ?”, अब हर्कवीरको ध्यान मोडिइसकेको थियो ।

“के हुनु बाबु ? पत्तै नपाई उमेर बित्यो । तर, टन्टाहरू जिउँदै छन् ।”, लामो सास छाड्दै हर्कवीरले भने । अनि, उनले सुनाए यहाँ आउनुको मक्सद ।

चौध जना दाजुभाइ र दिदीबहिनी रहेछन् हर्कवीरका । तीमध्ये कान्छीको बहिनीको समस्या लिएर आएका रहेछन् उनी । बिहे गरेर पठाएको तर त्यो घरमा बस्नै नमानेर माइती फर्केको घटना उनले अविजितलाई सुनाए । भने, “कतै कुनै ठाउँमा सुसारेको काम पाए कल्याण हुन्थ्यो उसको ।”

“यस्तो कुरामा किन चिन्ता लिनुहुन्छ ? मेरा चिनेका साथीहरूकहाँ भनिदिन्छु । कतै चाहिएको रहेछ भने तपाईँलाई खबर गरुँला ।”, अविजितले भन्यो ।

“ठूलो गुण लगाउनुभो यति भनेर । कति ठाउँमा धाएँ तर यस्तो आश्वासन सुन्न पाएको थिइनँ ।”

“के नै भनेँ र मैले ? जति बेला काम बन्ला, त्यति बेला पनि मैले गुण लगाएको हुन्नँ किनभने सबैको तकदीर आआफ्नै हुन्छ । काम पाइन् भने उनकै तकदीरले पाएकी हुन्छन् । र, हर्कवीर दाइ भलो हुने काम गर्न पनि तकदीरले नै पाइन्छ । सक्ने कुरा छ भने यस्तो काममा कमसेकम मलाई पछि पर्न मन लाग्दैन ।”, अविजितले भन्यो । 

दङ्ग परेर सुनिरह्यो हर्कवीर । के यही त्यो फुच्चे हो, जसलाई घोडाको सवारी गर्दा तिघ्रा पाछेको थियो ? यही त्यो केटो हो, जसको औँला होलीमा ढोलक पड्काउँदा उखु जत्रो सुन्निएको थियो ?

शनिबारको दिन थियो । छुट्टीको दिनको आफ्नै चरित्रगत विशेषता हुन्छ । घाममा बसेर जीउ रन्कायो, बिहानै अविजितले । बजार गएर हरियो लसुन, मुला र एक पाउ खसीको मासु किनेर ल्यायो र भान्छामा छिर्‍यो । लसुनको मुठा छोडाउन बाँकी नै थियो । मुला र मासु काट्यो पहिले । अचानक भान्छामा घद्रयाक्क आवाज आयो । बाँदर छिरेको रहेछ । लसुनको मुठा झ्याप्प उठाएर भाग्यो । उसको दिमागले तुरुन्त काम गर्‍यो । बाँदर झ्यालबाट हाम्फाल्नुअघि नै अविजित भर्‍याङ ओर्लिसकेको थियो । 

बाँदर बगैँचामा भएको भोगटेको रुखको पहिलो हाँगामा बसेर लसुनको मुठालाई ओल्टाइपल्टाइ हेर्न थाल्यो । त्यतिखेरमा अविजित रुखमुनि उभिइसकेको थियो । उसले बाँदरको हातमा भएको लसुनको मुठा च्याप्प समातेर खोस्यो । यो अवस्थामा उसभित्र डर थिएन वा बाँदरले टोके घाइते होइन्छ भन्ने कुराको सुद्धि पनि थिएन । आफ्नो सामान फिर्ता लिने जोस, आँट र हिम्मत मात्र थियो । बाँदरले जोड लगाएर तान्यो, अविजितले पनि छाडेन । दुईबीच एकछिनसम्म खोसाखोस चलिरह्यो । आखिरमा बाँदरले हार मानेर लसुनको मुठा अविजितलाई नै छाडेर भाग्यो, हाँगैहाँगा हुँदै । अविजित लसुन लिएर फर्कियो । आँगनबाट सबै कुरा देखिन्थ्यो । त्यहीँ बसेर हेरिरहेथ्यो हर्कवीर अविजितलाई ।

“बाफ रे ! कस्तो डर नलागेको ? टोकेको भए ?”, हर्कवीरले भन्यो । मुसुक्क हाँस्यो मात्रै अविजित । अलि अगाडि बढेर उसले हर्कवीरलाई नमस्कार गर्‍यो । नमस्कार गरेको के थियो, अविजित मूर्ति बन्यो । जहाँको तहीँ अडियो ऊ । हर्कवीरको पछिल्तिर उभिएकी बालाले उसको सारा ध्यानाकर्षित गरिन् ।

निख्खर कालो, चिल्लो र रेशमी घुँघुँरो केश, बदामी आँखा, बाटुलो गोरो मुहार, सुलुत्त परेको नाक, सुन्तलाका केस्राजस्ता ओठ, चार फिट नौ इन्च जतिको उचाइ, भरिएको वदन, प्याजी रङको टीकाबुट्टे साडी र कालो चोलीभित्र साक्षात् सुन्दरी उभिएकी थिइन् । यसअघि या त उसले नारीहरू देखेकै थिएन, या त तिनलाई नियालेर हेरेको थिएन । सोच्यो, जीवनका रचनाकारले केही दिन फुर्सद निकालेर मात्रै यी सुन्दरीलाई रचेको हुनुपर्छ । यतिखेर अविजितको कल्पनामा ती षोडसी बादलको पृष्ठभूमिमा, इन्द्रेणीले बेरिएर, फूलको मोहक सुवास छर्दै थिइन् र बास्नाको नशाले अविजितको स्थितिचाहिँ ‘अब ढल्यो, अब ढल्यो’को थियो ।

“सरिता, नमस्ते गर अविजितबाबुलाई !”, हर्कवीरले भनेपछि मात्र अविजित होसमा आयो । र, यो होस उसलाई त्यति प्रिय लागेन । एकछिन हर्कवीर हराए हुन्थ्यो आँगनबाट । या, हर्कवीरको अघिल्तिर सरिता र अविजित केही बेरका लागि अन्तध्र्यान भए पनि हुन्थ्योजस्तो लाग्यो उसलाई । तर, दुवै सम्भव थिएन । र, ऊ बाध्य थियो, अप्रिय होसमा रहन । तर, यो कस्तो अवस्था थियो ? ऊ होसमा त आएको थियो तर कस्तो होस थियो यो ? अभिव्यक्तिको चेतना गुमेको होस । सरिताले नमस्कार गर्नुअघि नै उसले दुई हात जोड्यो । जुन अस्वाभाविक त देखिन्थ्यो नै, असहज पनि लाग्थ्यो । उमेर पनि अविजितको भन्दा बाह्र–तेह्र वर्ष कम देखिन्थ्यो, ती बालाको ।

“माथि जाऊँ न !” 

भर्‍याङ उक्लिसकेपछि मात्र अविजितको मुखबाट निस्कियो । दुवै जना अविजितको पछिपछि माथि उक्लिँदै थिए । माथि उक्लिसकेपछि किन बोल्नुपर्‍या होला मलाई भनेर फिसिक्क हाँस्यो ऊ । हर्कवीर र सरिता अहिले तुरुन्तै गए हुन्थ्योजस्तो पनि नलागेको होइन उसलाई । तर, कहिले नजाऊन्जस्तो पनि लागिरहेथ्यो । यसअघि उसले कहिल्यै पनि महसुस नगरेका थरीथरीका भाव चलिरहे, अञ्जान रसायनहरू दिमागमा र शरीरमा रसाइरहे । हर्कवीर त्यहाँ हुन्जेल उसले के–के बोल्यो ? के–के गर्‍यो ? पछि सम्झिँदा उसलाई बिलकुल याद रहेन । एउटा राम्रो ठाउँमा कामका लागि कुरा चलाउने र हप्तादिनभित्रै खबर आउने कुराको जिम्मा कुन्नि कुन सुरमा उसले लिएको, हर्कवीरलाई आत्मविश्वासका साथ सुनाएको र हर्कवीरले खुशी हुँदै अर्को शनिबार आउने जवाफ दिएको चाहिँ कताकता धमिलोधमिलो याद रह्यो उसलाई ।

खाना पकाउँदा के–के गर्‍यो ? हेक्का रहेन उसलाई । खाएको याद छैन । भाँडा पखालेको पनि बिर्सियो उसले । दिनभरि अविजित मात्र उडिरह्यो । औडाहा भयो उसलाई । हुटहुटी जाग्यो, कुनै कुराको उसलाई । तर, त्यो के भनेर कसैले सोधे नाजवाफ थियो ऊ । उसले यसअघि देखेका सबै स्त्रीको अनुहार बेलाबेला सम्झिन्थ्यो । जसको अनुहार स्मृतिमा आए पनि अनुहारको ठाउँ सरिताको मुहारले लिन्थ्यो । आफ्नो ताल देखेर एक मन झर्को पनि लाग्यो उसलाई । तर, अर्को मनले ‘झर्को नमान् अविजित’ भनेर फकायो ।

अति भएपछि अविजितले लुगा फेर्‍यो र हिँड्यो विजयलालको घरतिर । बाटो काटेको पत्तै पाएन उसले । विजयलाल घरमै रहेछ । आमाले अन्डा तारेर ल्याइदिनुभयो । विजयलालले आमासँग अलिकता रक्सी मागेर ल्यायो । दुवैले प्यालामा हालेर सँगै सुक्र्याए । मुखमा हाल्नेबित्तिकै दुवै बिजुली गतिमा झ्यालमा पुगे र खाएको ओकले । धन्न सडकमा हिँडिरहेका कसैलाई पनि परेन । रक्सी खाँदा बिग्रिने मुखभन्दा बढी नै बिग्रियो दुवैको मुख । कुल्ला गरे दुवैले सँगसँगै । दुवैको मुख अझै उस्तै थियो बिग्रिएको । अनि, एक–अर्कालाई हेरेर हाँस्न थाले । 

विजयलालले रक्सीको सिसी भनेर ल्याएको मट्टीतेलको बोतल परेछ । दुवैले पालैपालो फेरि कुल्ला गरे । विजयलालले माथि गएर सिसी साटेर ल्यायो । यो पालि रक्सी पिउनुअघि दुवैले सुँघे, रक्सी भनेर यकिन भएपछि मात्रै मुखमा हाले र घुटुक्क पारे । अनि, अविजितले आफ्नो मनोदशा विजयलाललाई सुनायो ।

“अनि कसरी पाल्छौ त ? पहिले त पाल्न सक्दिनँ, बिहे पनि गर्दिनँ भन्थ्यौ त !”, विजयलालले सोध्यो । अविजित नाजवाफ थियो । 

“काम खोज्दिन्छु नि त म उसलाई । हाम्री निनी धनाढ्य । भन्यो भने अहिल्यै काम पाइन्छ ।”, विजयले भन्यो । 

“काम गरेर खाने खालकी छैन । एकदमै सुकुमारी छे ।”, अविजितले भन्यो ।

“काम गरेर खाने खालको भए पनि तिमीलाई अहिले त्यस्तो लाग्नेवाला छैन । संसारभरिका सुन्दरी भेला पारे पनि ऊबाहेक अरूलाई तिमी देख्दैनौ ।”, विजयलालले भन्यो, “त्यसैले ऊ के हो, कसो हो भन्ने बखान सुन्न पुग्यो मलाई । अर्को शनिबार पर्खिऊँ कि भोलि नै हर्कवीरसँग कुरा गर्न जाऊँ ?”

“भोलि नै !”, अविजित बोल्यो । आज भन्न मिल्ने भए र अहिले साँझ नपरिसकेको भए उसले ‘आजै’ भन्ने थियो ।

“हेर, आत्तुरी परेको !”, विजयलालले छेड हान्यो, “अनि नाम के रे ?”

“सर्ता ।”, अविजितले एकदमै हतारिएर भन्दा सरितालाई सर्ता भन्न पुग्यो । अविजितको चाला देखेर विजयलाल गलल्ल हाँस्यो । हो कि होइनजस्तो लाज मान्यो अविजितले । उसको मुहारमा अत्यधिक प्रेम जागेपछि स्वतः स्फूर्त रूपमा

(बुकहिल पब्लिेकेसनद्वारा प्रकाशित उपन्यास ‘अविजित’ शनिबार काठमाडौंमा लोकार्पण हुँदैछ ।)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया