MENU

साहित्य/ कला

ट्यापेले बजाउने गिटारमा किन मरिहत्ते गर्छस ?

– निमेष पौडेल

घरबाट हिँड्दा ९ बजेको थियो, फर्किंदा ठ्याक्कै ११ बजेको रहेछ । रमेश उताउतैबाटै आफ्नो घर पसेको थियो । 

घर पुग्नेबित्तिकै ‘ममी कहाँ हुनुहुन्छ ?’ भनी कराएँ । 

‘किन ? के भयो?’ भन्दै ममी बाथरुमबाट निस्कनुभयो । 

‘ल, त्यो सरफमा भिजेको हात धोएर आउनु त’ भनी कराएँ । 

‘के ल्याइस् त्यस्तो ?’ भन्दै ममी हात धोएर आउनुभयो । 

‘हेर्नु, यो कागज’ भन्दै हातमा थमाइदिएँ ।

ममीले त्यो कागज पढ्न नपाउँदै ‘७२ प्रतिशत ल्याएर पास गरेछु यसपालि’ भनेर चिच्याएँ । 

मैले त्यसरी कराएपछि ममीले ‘गज्जब गरिछस् ! तेरो ड्याडीलाई फोन गरिहाल’ भन्नुभयो । 

‘पर्दैन अहिले, गर्दिनँ । बेलुका भनूलाँ नि हुन्न ?’ मैले सोधेँ । 

‘जे गर्, तेरो मर्जी,’ ममीले भन्नुभयो । 

‘भात खान दिनु । बहुत भोक लाग्यो,’ भनेँ । 

‘आज कुन्दन सापकोटालाई भोक नलाग्नुपर्ने त ! एक वर्षमा एक पटक उत्तीर्ण भएको दिन पो त । त्यो पनि ७२ प्रतिशत ल्याएर !’ स्कुलमा रमेशले जिस्क्याउँदै थियो, यहाँ घरमा ममीले जिस्क्याउँदै हुनुहुन्थ्यो । 

‘धेरै ठट्टा नगर्नु ! पेटमा मुसा दौडिसक्यो, छिटो ल्याउनु न,’ मैले भनेँ । 

‘ल ल पख्,’ जाँदाजाँदै भन्नुभयो, ‘हात खुट्टा धोएर आइज है !’

जुत्तै नखोली खबर सुनाएको थिएँ । जुत्ता खोली हातमुख धुन बाथरुम पसेँ । 

गदगद भइरहेको थिएँ । धेरै त ड्याडीलाई गरेको वाचा पूरा भएकामा खुसी थिएँ । 

‘आइज कुन्दन कहाँ हराइस् ?’ ममीले बोलाउनुभयो । 

‘आएँ... आएँ... एकछिन है ।’

छिटोछिटो हात खुट्टा धोएर किचन पसेँ । किचन पस्नेबित्तिकै अन्डाको बास्ना आयो । 

‘के हो ममी ? आज कुन्दन दिवस हो कि क्या हो,’ मैले ममीलाई सोधेँ । 

‘थाहा छ कुन्दन तँलाई ? छोराछोरीले जब आमा बुवाको सपना बुन्ने रहर गर्छन् नि, तब आमाबुवालाई पृथ्वीमै रहे पनि स्वर्गमै रहेजस्तो भान हुँदो रहेछ ।’ ममीले आफ्नोे दाहिने हात मेरो शिरमा राख्दै थोरै भावुक हुँदै भन्नुभयो ।

त्यो पलमा रहेर बल्ल आभास भयो बुवाआमाको खुसी आखिर के रहेछ त ! ममीले त्यसरी भनेको सुनी मनमनै प्रतिज्ञा गरेँ आजबाट ममी ड्याडीको हँसिलो मुहारका लागि भए पनि पढ्छु । 

मैले त सधैँं पैसालाई नै खुसीको मुहान सम्झेको थिएँ । थाहा थिएन, छोराछोरीको सफलतामा यति खुसी लुकेको हुन्छ भन्ने ।

खाना खाएर कोठामा पुग्नेबित्तिकै ल्यापटप खोलेँ । ल्यापटप खोल्नेबित्तिकै फेसबुक । त्यसपछि साथीभाइहरुसँग गफ गर्न थालेँ । रमेशसँगै आफ्नो कक्षाको सबैसँग भरपुर गफ हानियो । साथीभाइसँग गफ गर्दा समय बितेको पत्तै भएन । घडी हेरेँ, ६ बजिसकेछ । म आफ्नै कोठामा थिएँ । भोक पनि लागिसकेको थियो । खाना निक्कै अघि खाएको थिएँ । भोक लाग्नु त स्वाभाविकै थियो । त्यही भएर आहारा खोज्दै सिँढी तल ओर्लिएँ । तल झर्दै थिएँ, किचनबाट गाइँगुइँको आवाज आइरहेको सुनेँ । 

को रहेछ भनी हेर्दा त ड्याडी पो हुनुहुँदो रहेछ । मलाई देख्नासाथ ‘मःमःः खान्छस् ?’ भनेर सोध्नुभयो । 

ड्याडीले मःमः सधैँंजसो ल्याउनुहुन्थ्यो । उहाँलाई सधैँ बेलुकी हार्ड ड्रिंक्स गर्नैपथ्र्यो । 

मेरा लागि ६–७ वटा मःमः प्लेटमा हाल्दै भन्नुभयो, ‘रिजल्ट राम्रो आएछ तेरो हँ ?’ 

मैले टाउको हल्लाएँ । 

उहाँ भने बोल्दै जानुभयो, ‘ठीकै छ, यसै गरी पढ्नू । अब अगाडिका परीक्षाहरुमा पनि राम्रो गर्ने प्रयास गर्नू । अब ठूलो भइस् । नौ कक्षामा पुगिसकिस् । पढ्नुपर्छ भन्ने बुझ् ।’

म भने खाँदै गएँ । मःमःः आफूलाई निकै मीठो लाग्ने । ब्राह्मण भए पनि घरमा बफ मःमः चल्थ्यो ।

म मात्र होइन, ड्याडी पनि उत्तिकै रुपमा खानुहुन्थ्यो । 

‘खाइसकेपछि मेरो कोठामा आउनू,’ भनेर आदेश दिँदै आफू सुत्ने कोठातिर लाग्नुभयो ।

कोठामा पुग्दा मैले देखेँ, ड्याडी कोल्टो पल्टिएर सुत्नुभएको रहेछ । 

‘तँ आइस् ?’ ड्याडीले सोध्नुभयो ।

‘हजुर आएँ,’ मैले जवाफ दिएँ । 

‘खुट्टा थिच् त !’

मैले हस् भन्दै उहाँको खुट्टा आफ्नोे पाइतालाले थिच्न लागेँ । 

‘परीक्षाफल राम्रो आएछ । बधाई छ, तँलाई फेरि पनि । भन् के चाहियो ?’ 

ड्याडीले त्यसरी सोध्दा ड्याडीकै लागि पढिदिएजस्तो अनुभव भयो ।

‘केही चाहिँदैन,’ मैले भनेँ । 

‘भन् न भन्, के चाहियो ?’

उहाँले त्यति कर गरेपछि ड्याडीको अनुरोधलाई कसरी अस्वीकार्नुझैँ लाग्यो । फेरि मैले जिद्दी गरेको होइन क्यारे, ड्याडीले आफैँँ अनुरोध गर्नुभएको थियो ।

आफू फेरि गिटार बजाउन साह्रै सौखिन । तर, ड्याडीलाई गीतार बजाएको फिटिक्कै मन नपर्ने । एकचोटि रमेशको गीतार बजाउन ल्याएका बेला ‘यो ट्यापेहरुले बजाउने भाँडो फेरि ल्याइस् ! तुरुन्तै पु¥याएर आइज, जसको हो त्यसैलाई !’ भनी राता–राता आँखा पारी हपार्नुभएको थियो । 

‘के भो ? तँ किन अल्मलिएको ?’ ड्याडी बोल्नुभयो । 

‘अँ, अल्मलिँदै होइन,’ मैले भनेँ । 

‘केही त माग छोरा ?’ त्यसरी प्रेरणादायी वाक्य निकाल्दै भन्नुभएको सुनी मैले हिम्मत जुटाउँदै एकै वाक्यमा कहिदिएँ, ‘गीतार चाहिएको थि...यो... ।’

उहाँ झ्याप्पै मतर्फ फर्कनुभयो । म तर्सिएँ । एकछिन मौन नजरले मलाई हेरिरहनुभयो । 

म आत्तिएँ । बेकारमा भनेछु कि भन्ने मनमा रह्यो । ड्याडीको अगाडि अनावश्यक कुरा बोलेछु भन्ने भयो । 

थोरै बेरपछि आफैँ बोल्नुभयो, ‘ट्यापेहरुले चलाउने कुरोमा किन मरिहत्ते गर्छस् ?’ ड्याडीले कडा स्वभावले सोध्नुभयो । 
जनकपुरजस्तो ठाउँमा जन्मेको उहाँलाई गीतार, ड्रम, आदि आधुनिक बाजा किन हो किन मन पर्थेन । ड्याडीको प्रश्नको मसँग उत्तर थिएन । म चुप रहेँ ।

केहिबेरसम्म ड्याडी चुइँक्क पनि बोल्नु भएन । मैले ड्याडी रिसाउनुभएछ क्यारे ठानी कोठा छोड्ने जमर्को गरेँ । म फर्किंदै थिएँ, ड्याडीले ‘कति पर्छ ? दश हजारसम्ममा त आउँछ नि ?’ भनेर सोध्नुभयो । त्यसपछि म पछाडि फर्केर मुसुक्क हाँसेँ । 

‘भोलि तेरो ममीलाई लिएर जानू । त्यसलाई म भनिदिउँला,’ उहाँले अझै भन्नुभयो, ‘सन्तानको मुस्कान भनेको हरेक आमाबुवाको जिन्दगी हुन्छ, यो बुझिराख्नु छोरा ।’

ड्याडीले यति भनेपछि मलाई झन् खुसी मिल्यो । 

म कोठाबाट निस्कनै लागेको थिएँ, ड्याडीले ‘पर्खी’ भन्दै सर्त राख्नुभयो, ‘तर पढाइ चैँ बिगार्न पाइँदैन नि, हुन्छ ?’
गम्भीर भाव निकालेर ‘हस्’ भन्दै कोठाबाट निस्किएँ ।

(बुलबुल पब्लिेकेशनद्वारा प्रकाशित निमेष पौडेलको उपन्यास ‘फाइभ मन्थ्स’ शनिबार सार्वजनिक हुँदैछ ।)

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

  • कम्युनिस्ट हुन रक्सी पिउँदा‍...

    प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया