MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

जंगलमा देउता

प्रणव आकाश  

–  आँखा मिच्दै ऊ बैठकमा निस्कियो। परालको चकटीमा बसेर बा बिहानैदेखि बाबियोसँग खेलिरहेका देखिए। बाबियोका केही लहराहरु हातका हत्केलामा उत्ताउलो भएर समागम भैरहेका थिए। मिलनको उच्चतम् बिन्दु हुन्थ्यो, सिनित्त परेको लामो डोरी। ऊ हेरिरह्यो बाको मेहनत। आहा ! बाले एक हत्केलामा थुकेर त्यसैमाथि अर्को हत्केला रगडे र जन्माए फेरि सिनित्तै परेको डोरी। एक जादूमय उत्पत्ति। थुकमा जादू थियो या बाको हातमा, ऊ निर्क्यौलमा पुग्न सकेन।
 
भान्साबाट एउटा चकटी ल्याएर बाको छेउमा ऊ टुसुक्क बस्यो। थुक, खस्रो हात र बाबियो, बाको जिन्दगी यहि हो त? ऊ सोच्यो। अनि, मेरो जिन्दगी? सप्ना? ऊ उठ्दा सर्वप्रथम देखिने दैनिकी र बा उठ्दा सर्वप्रथम गरिने दैनिकी यही थियो, थुक, खस्रो हात र बाबियो।
 
गाईवस्तु थिए, गोडा पाँच एक। सबै थाकेका। व्याउन अझै केही समय कुर्नु पर्थ्यो। आयश्रोतको वक्र दिनानुदिन मुन्तिर ढल्किदै थियो। यस्तो अवस्थामा ऊ सोच्थ्यो, थुक, खस्रो हात र बाबियोले जोड्ला त धन सम्पत्ती ,वैभव ?  के उसको सपना बालाई याद छ? कतै ऊ खर्चिलो सपना देख्न अभ्यस्त त भएन? अहो! उसको सपना चै के ? ऊ खुलस्त पार्न चाहेन। आफुलाई आफैसँग ढाँट्न, छल गर्न र लुकाउन पनि जान्दथ्यो। डोरी जस्तै सिनित्तै, लामा बाका इज्जत, इमानले के सुखसयलको भविष्य रच्ला त? के ऊ आज भन्दा अधिक ज्ञानी बन्ला त? बनाउँलान त बा ले? उसले आशंका गरेन, आशंका गर्नै सक्दैन बालाई। बालाई शंकाको दृष्टिले हेर्नु उसले पाप ठान्दथ्यो। निजी वैचारिक वादविवादको उग्र रुपको उल्झनमा ऊ लपेटियो।
 
एक मुठा बाबियो सकेर बा बोले,” जान्छस् तो?”
 
ऊ जुरुक्क उठ्यो। इँजार मिलाउँदै घोप्टो निदाइरहेको ख्याउटे चप्पललाई ब्युँझाएर पैताला घुसार्यो। पैतालाहरु गाउँको दक्षिणतिर झ्याँक्राले बनाइएको घरको मुलढोकामा रोकिए। भित्रबाट अधबैंसे महिला हातमा माटाका भाँडा बोकेर ढोकामा झुल्किइन्। ऊ बोल्यो,” फुपू, बाले सुक्या लौको लिन पठाउनुभो।”  फुपू लौकाको झ्याङतिर हेर्दै बोलिन, ” आफै टिपिकन लैजा  है, जत्ती नि छ।” फुपू भाँडा लिएर इनारमा गइन्। ऊ झ्याङमा राम्रो लौका खोज्न थाल्यो। मुन्टातिर सानो लाम्चो र फेदतिर फुक्किएको गोलो खालको लौका चुन्यो। टिप्नु पूर्व फुटेको, प्वाँल परेको छ, छैन भनेर जाँच गर्यो। फुपू इनारबाटै बोलिन,” हर्यो लौका नि लैजा है भदा, तरकारी खाऔला।” 
 
हर्यो र सुक्या लौका बोकेर ऊ बाको अगाडि टक्क उभियो। बाले फेरि रहर जत्तिकै सुन्दर र लामो डोरी बाटिसकेका थिए। सुक्या लौका जाँच गर्दै बाले अह्राए,” जा तो, भान्साकोठाको झ्यालनिर करौँती होला, लिएर आइजो।”
 
ऊ करौँती लिएर आयो।
बाले फेरि अह्राए,” जा तो, इनारबाट एक बाल्टिन पानी लिएर आइजो?”
ऊ गयो।
 
सुक्या लौका टकटक पार्दै बाले केही जाँच गरे। लौकाको घाँटीतिर औँलाहरुले नापजोख गरेर कोइलाले चारैतिर गोलो घेरो लगाए। दुई गोडाको चेपमा लौकालाई बन्दी बनाए। अब करौंतिका दाँतहरु कालो घेरा पछ्याउँदै अगाडि पछाडि गर्न थाले। अन्तत: लौका घाँटी देखि दुई भागमा छुट्टियो। रोईकराई ,कोलाहल गरिरहेका भित्रका बियाँ र आन्द्राहरु घोप्टो पारेर निकालिए। ऊ बाल्टिनमा पानी लिएर आयो। लौकाको घाँटीबाट अलिकति पानी हालेर जाँच गरे। पानी चुहिएन। परीक्षण पास भयो। एउटा डन्डीमा कपास बेरेर बाले भित्रका रहेल पहेल निकाले। पानीले पखाले।
 
बा बोले,” जा, बेल्काको भात र तरकारी होला। तताउँदै गर। चुलोको दाइने पट्टि ढकियामा केही सुक्या खुर्सानी होलान्। अगेनामा पोल्दिएस्। म चट्नी बनाएर खान्छु।” यत्ती बोलिसकेर बा अब लौकाको घाँटीमा डोरी बाँध्न थाले।
 
बेलुकाको भात र तरकारी सुनेर ऊ क्रोधित भयो। ताजा भात खान ऊ लालायित थियो। बालक मनहरुले जाँच गर्दैनन् अवस्थाहरु, अवगत हुंदैनन् परिस्थितिहरुसँग। गरिबी र पीडा उसले बुझेको थिएन। कालखण्डले जन्माएका परिवर्तनहरु कति भयावह र घातक हुन्छन् उसलाई ज्ञात थिएन। ऊ जान्दैनथ्यो,  बासी भात र तरकारी खान नपाएकाहरु पनि थिए र छन् यस जगतमा। उसले ताजा भात खान पाउनु पर्थ्यो। दिनभरीको कर्मको ज्याला स्वरुप पनि पाऊनु पर्थ्यो, उसको सोचको दायरा फराकिलो या साँघुरो उसले छुट्याएन। बालाई हेर्यो। बा लौकामा डोरी झुन्ड्याइरहेका थिए। बाले पनि त ऊ भन्दा बेसि काम गर्नुहुन्छ, तर ताजा भातको माग गर्नु भएको छैन। बाबियोले चिरिएका  हातका छाला र रेखा मेटाउँदै उसको बा उसको  निधारमा छापिएका उल्टासिधा रेखाहरुको मर्मतमा बिताइरहेछन दैनिकी। यो त भयानक त्याग हो बाको, सन्तानको लागि। सोच्यो, देखावटी सुखसयल र भयङ्कर ज्ञानसँग साक्षात्कार नगरे पनि बालाई बुझ्नु संसारको सम्पुर्ण ज्ञान बुझ्नु हो। उसले बालाई बुझेको छ। उसले ठान्यो, बाका हातका रेखाहरु नजिकबाट नियालेको छ। हात चिर्दै  जन्मिएका लामा डोरीहरुले पारीवारिक सुखसयल जन्माउलान त? जन्माउनै पर्छ। 
 
हरेक दिन ऊ यसरी नै बालाई बुझ्थ्यो र आफूलाई संसारको सर्वश्रेष्ठ प्राणी घोषित गर्थ्यो। खाना खानु पूर्वको यो उसको दैनिकी थियो।
 
बाको निर्देशन अनुरुप उसले भात र तरकारी ततायो, खायो। खुर्सानी पोल्यो। अचार बनायो। बा सुक्या र हरियो लौका बोकेर भान्सा छिरे। 
 
चुलोको छेउमा मालुको पात गाँसेर बनाइएको ढकनिले माटोको भाँडो ढाकिरहेको थियो। बाले ढकनी उघारेर काठको डाडुले भाँडोभित्रको तत्त्व चलाउन थाले। भाँडोमा एक माना चामल, दुई बाल्टिन पानी र आधा मुठी भटमास उमालेर राखिएको माड थियो। गर्मी मौसममा प्यास र भोक दुबै बुझाउन सक्ने यो झोलिलो खानेकुरा समुदायमा निकै प्रचलनमा थियो। तीन चार पटक डाडुले हल्लाएपछि बाले बिस्तारै एक एक डाडु गर्दै लौकामा खन्याउन थाले। लौकाको आधा भाग भरिएपछि मालुको पातले बुजो लगाए। एउटा पातमा अचारलाई गुटुमुटु पारेर बुजोमा अड्काउँदै बा बोले,” तयार भइस् तो? ” 
 
बैठक कोठामा निस्किए बाउछोरा। ” छाता के गरि च्यातेको त्यसरी? सिलाइद्याछु, जतन गरेर ओढेस्।” गल्लीको ढोकाबाट बा बाहिरिए। बैठकको कुनाबाट लठ्ठी निकाल्यो उसले। छानामा अड्काइराखेको छाता झिकेर बायाँ काँधमा अड्कायो। ” बेलुका समयमै फर्किएस्। म भात खाएर डोरी बेच्न बैरिया बजार जान्छु। तँलाई एक जोर चप्पल र सर्ट ल्याइदिउँला।” लौका थमाउँदै गरेका बालाई केहि भन्ने मनसाय लिएर ऊ ट्वाल्ल हेरिरह्यो मात्र। 
 
“बाले मेरो सपना भुलेकै हो त ? यति बिघ्न माया गर्ने मेरा बाले मेरो सपना कसरी लत्याउन सक्नुहुन्छ? मेरा बा किन मेरो सपनाको बारेमा मौन बस्नुहुन्छ? के मैले मेरा बाको यो कुरालाई मौन समर्थन बुझौँ? होइन, मैले सम्झाउनै पर्छ बालाई।,” केही संकोचमा उसको मुख खुल्यो,” बा, म कैले देखि विद्यालय जाम्?”
 
बा केही नबोली सरासर अगाडि गए र एक एक गर्दै गाईवस्तु फुकाउन थाले। बाको मनमा भयानक तरङ्ग उत्पन्न भैरहेको उसले अनुमान लगायो र मौन रुपमा बालाई हेर्दै गाईवस्तु फुकाउन थाल्यो। बैठकबाट एक मुठा बाबियो ल्याएर बाले उसलाई थमाए। “यो लौका र बाबियो बोक्न बिर्सेको दिनदेखि तेरो हातमा किताब र कलमको बाटो खुल्नेछन।” एउटा अनिश्चित वचन दिएर बा घरभित्र पसे र ऊ जंगल पस्यो।
 
हैजाले उसकी आमालाई लग्दा ऊ नौँ बर्षको थियो, अहिले बाह्र टेक्यो। आमाको मृत्यू भएको डेढ बर्षपछि बाले शोकमा ऊ जन्मे-हुर्केको ठाउँ छोड्ने निर्णय गरे। जम्माजम्मी आधा कट्ठा जग्गा बेचेर आएको पैसाले आसपासका गाउँबाट केही गाई खरिद गरी तराई झरे। बैरिया बजारको पूर्वी गाउँमा बाले गाईवस्तु राख्न मिल्ने ऐलानी जग्गामा छाप्रो हाले।
 
नयाँ मान्छे, नयाँ परिवेशसँगको कमसल र कमजोर चिनापर्चिले बा-छोरालाई असुबिधा भएको महशुस भएपनि अब जे-जे सपना बुन्नु थियो , त्यही छाप्रोबाटै बुन्नु थियो। सुक्खा जमिन , आकाशे पानीको भरमा खेती हुने हुँदा गाउँलेहरुले वैकल्पिक रोजगार अपनाएका देखिए- गाई पाल्ने। 
 
बालकदेखि बुढोसम्म बाबियोसँग खेल्नु फुर्सदे दैनिकी रहेछ गाउँलेको। तास , भट्टी र अन्य खेलमा समय व्यतित गर्नु भन्दा पर, सबैजना बाबियो लिएर चौतारीमा भेला हुन्थे र सुख दु:खका, नयाँ कामहरुका, कसको गाईले कति दूध दिन्छ, कुनतिरको जंगलमा राम्रो बाबियो पाइन्छ, कुन समय कुन कामको लागि उत्तम, गाउँमा नयाँ के हुँदै छ जस्ता कुराहरु गर्दै डोरी बाटिरहेका देखिन्थे। गाउँलेहरुको दैनिकी त्यसपछि बाउछोराको पनि दैनिकी बन्यो। त्यही दैनिकिमा चल्दै ऊ हातमा बाबियो बोकेर गाई चराउन जंगल जान थाल्यो। 
 
नयाँ वस्तुभाउहरु एक वर्षसम्म पनि बगालमा मिसिन नसक्दा गाउँका ग्वालेहरुले उसलाई अलग्गै बनाइदिए। यहि आक्रोशमा उसले झगडा गर्यो। बिडम्बना, गाउँका ग्वालेहरुले बगाल छेउछाऊ उसको वस्तुभाउको घण्टी पनि सुनिनु हुँदैन भनेर कटु वचन लगाए। यसपटक ऊ आज्ञाकारी भएर त्यसै गर्यो। गाउँलेहरुको सगोल  गौचरन भन्दा केही पर एउटा खाल्डो थियो। त्यसोप्रान्त ऊ त्यही खाल्डोमा गाई चराउन थाल्यो।
 
खाल्डोको उत्तरी दिशामा दुईओटा चट्टान एकापसमा काँध जोडेर उभिएका थिए। चट्टानको मुन्तिर हेर्दा पानीको मूलझैँ देखिने पानी रहित पुरानो गुफा थियो। घाँस, दाउरा, बाबियो काटेर फर्किने आइमाई, लोग्नेमान्छेहरु त्यही चट्टानको छेउमा भारी बिसाउँथे, खाजा खान्थे अनि जङ्गल छोड्थे तर यो संख्या एकदमै बिरलै हुन्थ्यो। चट्टानको केही दुरीमा बसेर ऊ सँधै बाबियोसँग हातका हराउनै आँटेका रेखा रगड्दै डोरी जत्तिकै लामो काल्पनिक सफर गर्थ्यो, विद्यालय ,पुस्तक, कलम, कापी, साथीहरु, ज्ञान र फेरिएको जिन्दगी। उसको भाग्य लेख्नको लागि ख्याउटे यात्रामा यात्रारत कर्मठ बाको हातका रेखाहरु पुनः यथावत फर्काउने जाँगरिलो सपना। ऊ ठान्दथ्यो, उसले देख्ने गरेको सूर्योदयसँगै उदाउने र सूर्यास्तसँगै बिलाउने सपना अद्भुत छ। पोहोरको दशैँ किनमेलमा ऊ बासँग नेपालगन्ज जाँदा आकाशे रङ्गको पोशाकमा मोहित भएको थियो।  त्यही मोहानीमा फसेर अधिकांश समय ऊ स्वयमसँग, चराहरुसँग, बोटबिरुवा, वस्तुभाउसँग आकाशे रङ्गको पोशाक र विध्यालयको गुणगान गाउँथ्यो। बिहान बाबियो बोकेर गएको हातमा एक डल्लो डोरी, एक भारी घाँस, अलिकति मालु र सालका पात बोकेर बेलुकीपख ऊ वस्तुभाउलाई गृहप्रस्थानको उर्दी दिन्थ्यो। 
 
एकदिन बिहानै भात, तरकारी जम्मै पकाइवरी बा डोरी बेच्न भनी बैरिया बजार निस्किए। बा निस्किएको केही समय पश्चात उसले खाना खाएर लौकामा माड राख्यो। गाईवस्तु फुकाल्यो र जंगल हिँडायो। आधाबाटो हिँडेपछि उसले चाल पायो , ठिक्क पारेर राखेको लौका बोक्नै बिर्सिएछ। लौ जा! फर्किउँ र नफर्किउँ बीचमा आफूलाई खोज्न थाल्यो। दोमन भयो। गाईवस्तु बाघले खाइदियो भने? डरायो र नफर्किने निर्णय गर्यो।
 
मध्यान्ह कटेपछि उसलाई प्यास लाग्न थाल्यो। छेउछाऊमा पानीका मुल थिएनन्। घाँसे ,दाउरेहरु आउँछन् कि भनी पर्खिन थाल्यो। आएनन्। घाँटी सुक्न थालेपछि पानको रुखको बोक्रा छुटाएर खायो। झन मुख टर्रो भयो। उसले बुझ्यो, यस्ता सामान्य तरिकाले उसको प्यास मेटिने छैन। गाईवस्तु एक-एकको नाम लिँदै आफू प्यासी रहेको कुरा जानकारी गरायो अनि पानीको खोजीमा हिँड्यो।
 
अगाडिको खोल्सो कटेपछि केही पर गाईवस्तुको घाँटीमा बाँधिएका घन्टीका टिङ्-टिङ् आवाज सुन्यो। ग्वालेहरुसँग अलिकती भएपनि पानी हुनुपर्छ भन्ने सोचेर उसले आवाज पछ्यायो। दुई तीनवटा वस्तुभाउ देख्यो। ग्वाले रुखमा चढेर सुगाको गुँड खोज्दै रहेछ। उसले बोलायो,” तिम्सँग पानी छ?” ग्वाले उतिर हेर्दै प्रश्न गर्यो,” को हौ तिमी?” उत्तरमा कुन नाम पुकारौँ, ऊ फसादमा पर्यो। आजसम्म जम्काभेट भएका सबै मान्छेसँग उसको छुट्टाछुट्टै परिचय थियो। ” म? म ग्वालो। आज पानी ल्याउनै बिर्से। प्यास लाग्यो।” ग्वाले रुखबाट ओर्लियो र जर्किनबाट अलिकती पानी पिउन दियो। ” तिमी कुन गाउँको?” उसले जिज्ञासा राख्यो। “बैरिया बजार।” ग्वाले साथीको उत्तर। धेरै पटक ऊ बासँग डोरीका डल्ला बोकेर बैरिया बजार चहारेको थियो। कहिलेकाहीँ बा बिरामी पर्दा दूध लिएर पनि जान्थ्यो। उसलाई त्यो ग्वाले बैरिया बजारको हो जस्तो लागेन । प्यासमा पानी पिलाएको मान्छेलाई अविश्वास गरेर फेरि उही प्रश्न दोहोर्याउनु उचित लागेन।
ऊ बोल्यो,” एक्लै हौ तिमी?”
“अँ ।”
” म पनि एक्लै छु। यो खोल्सो कटेपछि मेरो गौचरन आउँछ । त्यो अगाडिको ढिस्कोबाट वस्तुभाउलाई बायाँ फर्काउँदा सिधै मेरो गौचरनमा पुगिन्छ। भोल्देखि त्यतै ल्याऊ न ,घाँस पनि प्रशस्त छ।” जे जे भन्नू पर्ने थियो उसले सबै एकै सासमा भनी सिध्यायो। ग्वालेले सहमति जनाएपछि ऊ बिदा भयो।
 
अर्को दिन ऊ गाईवस्तु लिएर चरनमा पुग्यो। एकछिन पछि अघिल्लो दिनको ग्वाले तीनओटा गाई र जर्किन लिएर टुप्लुक्क देखियो । दुबैजना एकअर्कालाई देखेर खुसी भए। ग्वाला जाँदाको एक्लोपना हट्नेमा दुबैजना विश्वस्त भए। वस्तुभाउहरु एकदम मिलेर चर्न थाले। ग्वालेले आफ्नो जर्किनको पानी उसको लौकाछेउमा राख्दै बोल्यो,” आऊ एउटा खेल खेलौँ।” “कस्तो खेल?” उसले उत्सुक्ता पोख्यो। अगाडि उभिएका चट्टानलाई देखाउँदै ग्वाले बोल्यो,” उ त्यो चट्टान छ नि? हो, त्यसलाई ढुङ्गाले हान्ने। म गएर एउटा चिनो बनाउँछु चट्टानमा र यहाँबाट हामीले त्यसलाई हान्ने।” ऊ राजी भयो। दुबैजना छेउछाउका साना ढुङ्गाहरु एककट्ठे गरे। ग्वाले गएर एउटा चिनो बनायो। दुबैजनाले अब चिनोमा हिर्काउन थाले। त्यो दिन ढुङ्गासँग खेलेरै बित्यो। बेलुकी दुबैजना गाईवस्तु धपाउँदै भोलि भेट्ने बाचा सहित आ-आफ्नो बाटो लागे।
 
विद्यालयको सपना देख्नु भन्दा पर अब अर्को दैनिकी बन्यो उसको। ग्वाला जाने, सधैँझैँ ढुङ्गा बटुल्ने र फरक-फरक निशाना बनाएर हिर्काउने। हिर्काउने खेलमा दुबैजना यसरी अभ्यस्त भए की हिर्काएका ढुङ्गाले अब निशाना चुक्ने आँट गर्न सक्दैन थिए। हिर्काइएका ठाउँमा सिल्सिलेवार खोपिल्टा परेको प्रष्ट देखिन थाल्यो। कतै गहिरो खोपिल्टा, कतै सामान्य चोट, कतै चोट रहित चट्टानको पुरानो रुप कस्तो थियो होला? उनीहरु दुबैजनाको स्मरण भन्दा बाहिरी बिषयको भैसकेको थियो। हेर्दाहेर्दै उक्त चट्टान यस्तो देखिन थाल्यो कि कुनै महान मुर्तिकार बर्षौँदेखी आफ्नो छिनो र औजार चलाइरहेको छ। एउटा सामान्य खेलको नतिजाले चट्टानको रुपमा यति भयानक परिवर्तन भयो भनेर ती दुबैजनाले कुनै तेस्रो व्यक्तिलाई भनेको भए ती दुई बालक मूर्खको उपमा पाउने थिए।
 
एकदिन दुबैजना फेरि गाईवस्तु लिएर उपस्थित भए। फेरि खेल सुरु भयो। अघिल्ला दिनहरुभन्दा आज अधिक हिर्काइ खायो चट्टानले। दुबैका हात गले। ल्याएको माड र अचार खाएर रुखको अडेसमा निर्मम हिर्काइ खाएको चट्टान हेर्न थाले। घरी चट्टान हेर्थे, घरी एक अर्कालाई। मुस्कुराउँथे, एउटी आमाले सन्तानको मुखबाट आमा शब्दको उच्चारण सुनेपछि मुस्कुराएझैँ। बयलिहरु मुस्कान साँट्दै मैलो कपाल उडाएर लान्थे।
 
ग्वालेले महसुस गर्यो, सिल्सिलेवार हिर्काइले केही कुराको संकेत गरिरहेकोछ। बोल्यो,” त्यो चट्टानमा तिमीले केही देख्यौ?” अकस्मातको प्रश्नले ऊ अचम्मित भयो। उसलाई पनि केही देखिरहेको भान हुन थाल्यो। मुखबाट फुत्त निस्कियो,” आँखा! ”
ग्वाले बोल्यो,” अर्को पनि आँखा! ”
ऊ करायो,” कान !”
ग्वाले करायो,” सुँड!!” 
ऊ बुरुक्क उठेर करायो,” गणेश देउता!”
ग्वाले पनि त्यसरी नै उठ्यो र करायो,” गणेश देउता!
 
“दुबैजना गणेश देउता भन्दै उफ्रिन थाले। दर्शन गरे। रुखवृक्ष, चराचुरुङ्गी, जीवजन्तु, बतास, सूर्य, आकाश सबैलाई ज्ञात गराए,” हामीले गणेश देउता भेटायौं, हामीले गणेश देउता भेटायौँ।” यो कुरा गाउँलेहरुलाई सुनाउन अब दुबैलाई हतार हुन थाल्यो। बेला नहुँदै दुवैजना गाईवस्तु धपाउन थाले। आ-आफ्नो गाईवस्तु लिएर दुबैजना भोलिपल्ट गाउँलेसहित भेट्ने वाचा गरेर छुट्टिए।
 
साँझमा गाउँभरि, आसपास, बैरिया बजार सबैतिर हल्ला पुग्यो, पुरानो गुफामा गणेश देउता जन्मिए। अर्को दिन बिहानैदेखी मानिसहरु जंगलको बाटो लस्करै निस्किए, दर्शन गर्न।
 
उसले गाईवस्तु त्यहाँ पुर्याउँदासम्म बाटोमा थुप्रै मानिसहरु भेट्यो। हिजोअस्ति दाउरे र घाँसेहरुबाहेक अरु नभेटिने बाटोमा आज उत्साह र रौनक बोकेका छरपस्ट मान्छे भेटिए। भगवानको दर्शन गर्न पाउँदा मान्छेहरु काम भुल्दछन्, उसले सोच्यो, खेलखेलैमा जन्मिएका गणेशले म र गोठाले साथीको ऊपकार गर्लान त?
 
हतारमा आवत र हतारमै जावत चलिरहेको थियो बाटोभरी। हतारका मान्छे बोकेर बाटो निकै हतारमा थियो। परैबाट उसले चट्टान अगाडि मान्छेहरुको लस्कर देख्यो। गौचरनमा गाईवस्तु छोडेर ऊ मान्छेहरु भएतिर टहल्न थाल्यो। धेरै बेर भयो, ग्वाले साथी आएन। उसैले आरम्भ गरेको खेलबाट नतिजा यस्तो निस्कियो र यहि नतिजाले निकालेको परिणाम हेर्न ग्वाले साथी अनुपस्थित थियो। ऊ दुखित भयो। हेर्दाहेर्दै सयौँ मान्छेहरु आए ,गए। एक एक गर्दै चट्टानको अगाडि पैसाहरु थुप्रिए ।
 
भक्तजन र रमितेहरुको रमिताले त्यो दिन कति सजिलै कटाइदियो उसको। साँझ पर्न थालेपछि भक्तजनको सङ्ख्या पातलियो र एकछिनमा शून्य भयो। अन्तिम भक्तजन आफू बनेर गाईवस्तु धपायो। ग्वाले साथीको अनुपस्थितिले उब्जेको दुखको सामुन्ने उसलाई दिनभरिको रौनक शून्य र अर्थहीन लाग्यो।
 
अर्को बिहान पनि त्यसैगरी मान्छेहरुको आवतजावत चल्न थल्यो जंगलको बाटो। अघिल्लो दिनको कुरा भक्तजनहरुले टाढाटाढासम्म पुर्याइसकेका थिए। नयाँ ठाउँका नयाँ मान्छेहरु नयाँ उत्साह बोकेर जंगल छिरिरहेका थिए। ऊ फेरि पुग्यो वस्तुभाउ लिएर गौचरनमा। ग्वाले साथी आएन। किन आएन ? हिजोको रमिता सुनाउँला भनेर कत्रो आस भरोसा बोकेर ऊ जँगल पसेको थियो। आजपनि निरास भयो। ग्वालेलाई खोज्न जाने कुरा सोच्यो तर कहाँ? उसलाई थाहा थियो ग्वाले बैरिया बजारको थिएन। ऊ चिन्दथ्यो बैरिया बजारका अधिकांशलाई। यस्तो दिन आउँछ भन्ने कुराको जानकारी पहिल्यै पाएको भए उसले दोहोर्याएर सोध्थ्यो होला। उसले बिकल्प भेटाउन सकेन। सूर्य केहि मधुरो हुन थाल्यो। हिजो जस्तै नयां भक्तजनहरुले नयाँ खल्तिका नयाँ पैसा चढाएर घर फर्किन थालिसकेका थिए। एकछिनमा सुनसान भयो। फेरि अन्तिम भक्तजन  बनेर उसले गाईवस्तु धपायो ।
 
बेलुकी बासँग उसले खुब मस्त कुरा गर्यो अबेरसम्म। भोलि हुन जाने केही भयानक सत्य ज्ञात भएको फुर्ति लगायो। एक मुठा बाबियोसँग लाल्टिनको धिपधिपमा खेल्दै गरेका बाले उसको भयानक ज्ञान र सत्यमा रुचि देखाएन। हुन सक्थ्यो जुन सत्यको उसले चर्चा गर्दै थियो ,त्यो बारे ऊ स्वयं पनि अनविज्ञ  थियो। भोलि डोरीका डल्ला बोकेर बासंगै ऊ पनि  बैरिया बजार जानुपर्ने भएकोले बा सतर्क हुँदै उसलाई सुत्न पठाए। ऊ मुसुक्क मुस्कुराउँदै सुत्न गयो। उसको मुस्कानको पछाडि लुकेको सत्य के थियो बाले एकरत्ति बुझेनन्।
 
दोश्रो दिन बिहानै उठेर बैरिया बजार जानलाई बा सरसामान तयार बनाए। बासंगै ऊ अनि जानु पर्ने भएकोले उसलाई उठाउन गए। उठ्न आग्रह गरे। ऊ अल्छी गरेको झैँ देखियो। सिरक टसमस हल्लिएन। बाले बिस्ताराको सिरक फ्याले। अचम्म, तातो बिस्तारा मात्रै फेला पर्यो । ऊ भेटिएन। चर्पी गयो कि भनेर बा भारी मिलाउँदै एकछिन कुरे । ऊ आएन। अर्थात ऊ गायब भयो। हरायो। भोलि हुने कुन भयानक सत्यको कुरा गर्दै थियो उसले? बाले बेलुकी फर्काउन खोजे, फर्किएन। भान्सामा गएर उसले बोक्ने गरेको लौका हेरे, त्यहिँ थियो। छोरालाई खोजौँ या साहुजीलाई दिएको वचन नतोडौँ? धर्मसंकटको कुहिरोमा हराए। अन्तत: गह्रुङ्गो डोरीको भारीमा ऊ हराएको पिडाको झन गह्रुङ्हो भारी थपेर, बा एक्लै बैरिया बजार लागे ।
 
बिहानैदेखि बैरिया बजार निकै अशान्त थियो। अशान्त मन बोकेर बैरिया छिरेका बाले मनमनै गणेश देउतासँग शुभ संकेतको लागि पुकारिरहेका थिए। डोरीका डल्ला भुँइमा राख्दै गर्दा बाको कानमा हतार र घबराहट अशान्त खवर आइपुग्यो, गणेश देउतालाई चढाएको भेटी सबै चोरियो।
 
केही दिनपछि फुङ्ग नेपालगन्जको फुलटेक्रामा आकाशे रङ्गको पोशाकमा मुस्कान बोकेको एक विध्यार्थी देखियो, नाम गणेश थारु ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया