MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

अमेरिकी चुनावमा रुसी हस्तक्षेपः ट्रम्पको चुनावी अभियानका पूर्व प्रमुखले गरे आत्मसमर्पण, औपचारिक आरोप दर्ता

कात्तिक १३ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका पूर्व प्रमुखमाथि चुनावमा रुसको संलग्नता र प्रभावका बारेमा औपचारिक अनुसन्धान सुरु भएको छ । ट्रम्पको चुनावी अभियानका पूर्व प्रमुख पउल मानाफोर्ट र चुनावी अभियानका अधिकारी रिक गेट्सले आत्मसमर्पण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

गएको वर्ष नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा रुसको संलग्नताका बारेमा अनुसन्धान गर्न न्याय विभाग अन्तर्गत बनाइएको विशेष काउन्सिल समक्ष मानाफोर्ट र गेट्सले आत्मसमर्पण गरेको विशेष स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । गेट्स मानाफोर्टका लामो समयदेखिका व्यावसायिक सहकर्मी हुन् । गेट्सले ट्रम्पको चुनावी अभियानको टिममा मानाफोर्टको कार्यकारीको रुपमा काम गरेका थिए । 

गएको वर्ष भएको राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेप रहेको बारेमा संघीय जाँच आयोग (एफबिआई), गुप्तचर निकाय सिआइए तथा न्याय विभागले अनुसन्धान गरिरहेका छन् । अनुसन्धानको नेतृत्व विशेष काउन्सिल रोबर्ट म्युलरले गरेका छन् । रुसले हिलारी क्लिन्टनलाई हराउन तथा ट्रम्पलाई सहयोग गर्ने गरी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोप लागेको छ । तर ट्रम्प र रुस दुवै पक्षले आरोप अस्वीकार गर्दै आएका छन् । 

चुनावी अभियानका प्रमुख पात्र मध्येका मानाफोर्ट स्थानीय समय अनुसार सोमाबार बिहान वासिङटनमा रहेको एफबिआईको फिल्ड अफिसमा गएको सिएनएनले उल्लेख गरेको छ । अनुसन्धानको नेतृत्व गरिरहेका म्युलरको टिमले ह्वाइट हाउसका वर्तमान तथा पूर्व धेरै अधिकारीसँग लामो अन्तर्वाता गरिसकेका छन् । 

यहि अनुसन्धानको क्रममा मानाफोर्ट र गेट्समाथि औपचारिक आरोप दर्ता भएको हो ।उनीहरुमाथि अमेरिका विरुद्ध षडयन्त्र गरेको आरोप लगाइएको छ । मानाफोर्टले सन् २०१६ को अगस्टमा युक्रेनको रुस समर्थित राजनीतिक पार्टीसँग सम्बन्ध रहेको आरोप लागेपछि ट्रम्पको चुनावी अभियानको प्रमुखबाट राजीनामा दिएका थिए । 

मानाफोर्ट र गेट्समाथिको औपचारिक अनुसन्धान ट्रम्पको चुनावी अभियानमाथि रुससँगको सम्बन्धका बारेमा भएको सबैभन्दा ठूलो र पहिलो अनुसन्धानको रुपमा लिइएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया