MENU

बातावरण-कृषि

Ncell Axiata

निकुञ्जमा बाढी पछिको फोहोर सफा गर्ने अभियान सुरु

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, कात्तिक १७ – चितवन राष्ट्रिय निकुञ्जमा बाढी पसेपछि थुप्रिएको फोहोर सफाई गर्ने अभियान सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरबाट शुक्रबारदेखि बृहत सरसफाई तथा फोहर व्यवस्थापन अभियान सुरु गरिएको छ । क्षेत्रीय होटल संघ चितवनको संयोजन तथा यहाँका एकदर्जन बढी संघसंस्थाको आयोजनामा १० दिन फोहर संकलन गरी व्यवस्थापन गर्न लागिएको हो ।

गत साउनको अन्तिम साता आएको बाढीले निकुञ्जमा थुपारेको फोहोरका कारण वन्यजन्तु प्रभावित भएका थिए । मानव बस्तीको फोहर निकुञ्जमा पुग्दा आहाराको अभाव, घाँसे मैदानमा समस्या देखिएको थियो । वर्षा पछि आएको बाढीका कारण मानव बस्तीको फोहोर निकुञ्जमा पुगेको थियो । मिनरल वाटरको वोत्तल, प्लाष्टिकका झोलालगायतका अन्य फोहोर सामाग्री जम्मा भएका थिए । जम्मा भएका फोहोर सफा गर्ने अभियान सुरु गरिएको जानकारी दिँदै संरक्षणकर्मी एवं फोहर संकलन तथा व्यवस्थापन संयोजक जितु तामाङले पहिलो चरणमा प्लाष्टिकका सामाग्री हटाइएको बताउनुभयो । फोहर संकलन तथा व्यवस्थापन गर्न  ५० जना बढी कामदारहरु खटिएका छन् ।सरसफाई कार्यक्रमको उद्घाटन गर्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले विगतका बाढीहरुमा भन्दा यस पटक फरक प्रकृतिका फोहरहरु बढी देखिएकाले यो अनुसन्धान गर्नुपर्ने बताउनुभयो । बाढी पछि कतिपय आहारा प्रजातिका जनावर कम भएका कारण मांसाहारी जनावरलाई पनि आहाराको अभाव भएको थियो । आहारा नपाएपछि वन्यजन्तुहरु मानव बस्तीमा पस्न थालेका छन् ।

निकुञ्जको कूल क्षेत्रफलको १२ प्रतिशत जमिन घाँसे मैदान छ । नदी, खोला खोल्सा नजिक घाँसे मैदान रहेका छन् । वन्यजन्तुका लागि पानीका श्रोतसँगै घाँसे मैदान व्यवस्थापन गर्ने गरिन्छ । निकुञ्ज हुँदै बग्ने ठूलो नदी राप्तीमा बाढी आएपछि चुरे पहाडबाट निकुञ्ज हुँदै राप्तीमा मिसिने खहरे खोला खोल्साहरुमा लेदोसहितको बाढीले घाँसे मैदान पुरेपछि समस्या देखिएको हो । निकुञ्जमा सन् २०१५ को गणना अनुसार ६०५ वटा गैंडा रहेका छन् । त्यसपछि बर्दियामा ८ र शुक्लाफाँटामा ५ वटा गैंडा स्थानान्तरण गरिएको छ । यसैगरी सन् २०१३ मा निकुञ्जमा १२० बाघ रहेका थिए । यसपछिका वर्षमा बाघको संख्या निकै बढेको अनुमान गरिंदै आएको छ । 

बाढीले बगाएर भारत पु¥याएका आठ वटा गैंडा निकुञ्ज ल्याइएको छ । बाढी पछि निकुञ्जमा  घाँस प्रदुषित भएकाले बन्यजन्तुमा रोगको संक्रमण फैलिन सक्ने  अवस्था देखिएको छ । समयमै बाढी प्रभावित निकुञ्जको क्षेत्र सरसफाई र घाँसे मैदान व्यवस्थित गर्नुपर्ने कंडेलले बताउनुभयो ।

निकुञ्जभित्रका १५ वटा पुल बाढीले बगाएका छन् । सबै घाँसे मैदानको एउटा एउटा ठाउँमा व्यवस्थापनको काम सुरु गरिएको जानकारी दिदै उहाँले बालुवा र हिलोले बिगारेको घाँसलाई काटेर सरसफाई गर्ने काम भइरहेको बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया