MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

झिल्को

-शिव अर्याल                                                                                                                                                                                                       

कामको नियमित चाप त थियो नै । आफ्नो काम चाँडो सकाउन आतुर लामबद्द सेवाग्राहीहरुलाई तत्काल  जवाफ पनि दिनुपर्ने फरक फरक प्रकृतिका झन्झटिला कामहरुको अर्को चाप पनि थपिएको थियो त्यो दिन । बिहानैदेखि सुरु भएको एक पछि अर्को कामहरुको अटूट श्रृङ्खला टुट्ने कुनै छेकछन्दै थिएन । त्यसमाथि लामो समय कुर्नुपरेर हैरान सेवाग्राहीहरुको बेलाबेलाको नोँकझोकले आगोमा घ्यु थपेको थियो । शक्तिले भ्याए सम्म हो बाँधले पानीको वहाव थेग्ने । सीमा नाघेपछि त बाँध फुट्नु प्रकृतिको नियमै हो ।

यो नियम उसमा पनि लागु हुने नै भयो । आफ्नो खुट्टामा बल आइपुग्ने बित्तिकै एउटा चतुर फूटबलरले गोल गरेजस्तै एउटा जवाफ दिइसकेर अर्को सुरु नहुँदाको छोटो समय अन्तरमा उसले मौका छोपीहाल्यो । र, छेवैको टेबलका आफूभन्दा पाका र एक तह सिनियर अर्का सहकर्मीलाई सुस्त सुनाउँदै ढोकातिर लम्कियो, 'पिशाव लाग्यो ।'

ढोकाबाहिर आइपुग्ने बित्तिकै टन्टलापुर घाममा पसिनाले निथ्रुक्क बटुवालाई अचानक बादलले ढाक्दाको बेला जस्तै अनुभूति भयो उसलाई ।

'पिशाव लाग्यो' त कामबाट उन्मुक्ति को एउटा बाहना थियो । त्यसैले ऊ लाग्यो क्यान्टिनतिर ।

एउटा टेबल ओगटेर चियाको अर्डर गरे सँगै काउन्टरमा बसेकी साहुनीतिर एउटा चुरोटको पनि संकेत गर्‍यो ।

एकैछिनमा मगाइएका चिजहरु आइपुगे । चियाको सुर्की र चुरोटको सर्को आलोपालो लिंदै सिलिङमा घुमिरहेको पंखातिर टोलाउँदा उसले राहतको सास फेर्यो ।

चिया र चुरोट सकिएपछि पनि उसलाई उठिहाल्न मन लागेन । यध्यपी ड्युटिमा फर्कने समय अघि नै घर्कीसकेको थियो । उताको गर्मागर्मी माहोल बेवास्ता गर्दै उसले गोजिबाट मोबाइल निकालेर फेसबूक खोल्यो । एउटा नयाँ मेसेज प्राप्त भएको संकेत देखेपछि उत्सुक हुँदै खोलीहेर्दा अचम्ममा पर्यो ।

एउटी रुपवती युवतिको फोटो थियो त्यो, उसैले पठाएको । एकछिन सोच्यो, 'मान्छे त साह्रै राम्री हो नि मोरी !‘ पुरानो फिल्मी गीत 'तन झैँ सुन्दर मन भइदिए, स्वर्ग झैँ हुन्थ्यो जीवन' उसैसँग मेल खाने ठान्छ ऊ ।

निधारमा रातो टिका टल्काएकी, अनुहार उज्यालो पारेकी, जुरेली परेको कपालको अलिकति भाग देखाएकी, अनि शरीर सुहाउँदो पहिरनमा थिइ ऊ । र, स्मित हाँसोले सौन्दर्य अरु खुलेको थियो ।

आफ्नो इन्बक्समा त्यो दृश्यको उसलाई कल्पनै थिएन ।

'फोटो यसरी पठाउनुको अर्थ के होला ? सकारात्मक नभए पनि नकारात्मक त पक्कै हैन होला,' उसले सोच्यो । एक्कासी सिर्जित शीतल माहोलबाट ऊ प्रभावित भयो ।

'सुन्दर ! शरीर सुहाउँदो पहिरन गर्ने अक्कल पनि गज्जब !!' उसले प्रत्युत्तर पठायो ।

'बढाइँचढाइँ भयो कि ! ' अनलाइन नै रहिछे, उतिबेलै प्रतिकृया आयो ।

मलजल नपाएर पहेँलिएको बिरुवा अचानक हरियो पो देखिन थाल्यो । ऊ उत्साहित भयो । केही अघिको तनाव त स्वाट्टै घट्यो । र फेरि औँला चलायो, 'बरु मेरा शब्दहरु अपुग भए होलान् ।'

'कालिगण्डकी किनारमा भेटिने जुनसुकै ढुङ्गो पनि शालीग्राम ठानेजस्तै भयो यो त झन ।'

'तर सौन्दर्यलाई उचित स्थान दिन मन लाग्छ मलाई जहिल्यै ।'

कोही आफू तिर लस्किँदै गरेको संकेत उसले टाउको नउठाइकनै पायो । एउटा सौहार्दपूर्ण संवादलाई रोक्नुपर्ने बाध्यताको कल्पना गर्दा नगर्दै त्यसले नजिकै घिच्रो पसार्यो, 'के गर्दै हो माडसाब ?'

'नाँच्दैछु, देखेनौँ ?' झनक्क रिस उठ्यो उसलाई ।

'नाच्ने तिम्रो ढङ्ग त कहाँ पाएर होस्, गर्लफ्रेन्डको नाच चैँ हेर्दैछौ होला ।'

'अलिअलि कुरो त मिलायो बजियाले । सुराकी पो गर्न थाल्यो कि ?' शँका गर्‍यो उसले ।

'त्यो त सही हो । तर यो चाहिँ त्यति साह्रो राम्रो हैन होला,' फेरि जोडियो संवाद ।

पढेर ऊ अलि बढी भावुक बन्यो । प्रेम, सद्भावको खडेरी भोगेको उसलाई अन्तर्यमा जेसुकै भए पनि बाहिर अभिव्यक्त यी विचारहरुले भित्रैसम्म छोए ।

'फूल,पुतली र चराचुरुङ्गीको सौन्दर्य र निर्दोषपन बखान गरीरहन मनलाग्छ मलाइ । तर मनमा उब्जेका भावना शब्दमा अटाउँदैनन् । अहिले पनि करिब करिब त्यस्तै भएको छ ।'

भाँडाकुँडाको आवाज, चिया चुरोट अर्डर गर्नेहरुको होहल्लाले उसलाई छोएको थिएन । प्रेमको योग गरे जस्तै थियो उसको शारिरिक हाउभाउ ।

'पत्थर पनि कहिलेकाहीँ नौनी पो बन्दो रहेछ,' उताबाट अलि फरक लयको विचार आयो ।

'काग पनि कोइलीमा फेरिएको देखियो ।'

अलि बेरपछि टेकु दाई हाँस्दै ढोकाबाट भित्र छिरे र भने, 'सर, तपाईंको शाखामा त भीड झनै बढ्यो । होमनाथ सरले तपाईंलाई खोज्दै हुनुहुन्छ ।'

टेकु दाई इमान्दार र कर्तव्यपरायण मान्छे हुन् । आफ्नो जिम्माको काम उनले फत्ते गरिछाड्छन् । भूपू सैनिक उनी हाल करारमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन् । किराँत समुदायका उनी काम पाउँदा खुशी हुन्छन्, कामप्रतिको हाम्रो सामाजिक संस्कार भन्दा बिल्कुल भिन्न । त्यसैले उसले उनलाई पदीय हिसाबले कहिल्यै हेरेन । भेट्दा पहिल्यै हात जोड्दै भन्छ, 'दाइ नमस्कार ।'

उनैले काममा ढिलो भएको संकेत गरेकोले ऊ बसिरहन सकेन ।

कार्यकक्षमा पुग्दा उसका सहकर्मी एउटा भीडभाडपूर्ण माहोलमा सेवाग्राहीलाई सन्तुष्ट पार्ने कोशिस गरिरहेका थिए । अनुहारको भाव अलिकति बिगार्दै ऊ तिर नहेरी उनले असन्तोष पोखे, 'बेलाबेलामा बुझेर पनि नबुझे जस्तो गर्नुहुन्छ हगि तपाईं !  टेक बहादुर नै धाउनुपर्ने तपाईंलाइ काममा फर्काउन ?'

उनको त्यो प्रतिकृयाको मिल्दो जवाफ त थियो ऊ सँग । तर दिलखुस थियो, मनमस्तिष्कमा नकारात्मकता थिएन कत्ति पनि । त्यसैले उनलाई थप नचिढ्याइ कामको मेलो समातीहाल्यो ।

कामबाट छुट्टी भएपछि घर तिर फर्कँदै गर्दा बाटैमा बाइकमा तेल सकियो । नजिकैको पेट्रोल पम्प पुग्दा सवारीहरुको लामै लाइन थियो । अधीर मान्छेहरुको मलिन अनुहार दिक्कलाग्दो थियो । आधा, पौने घण्टा नकुरी पालो आउने छाँट देखिएन । त्यसैले फेरि उसका आँखा पुगे फेसबूकमै ।

'के गर्दैछौ अहिले ?' उही रुपवतीको जिज्ञासा ।

'तेल भर्दैछु बाइकमा । के गर्नु बहार भर्न चाहिँ सकिएन क्यारे जिन्दगीमा ।'

'साह्रै अनौठो चाहिँ हैन । बिना बहार जिउनेहरु धेरै छन् यो धर्तीमा ।'

'मेरो जस्तो सुख्खा जीवन त छैन होला कसैको ।'

'सबैलाई आफ्नै दु:ख ठूलो लाग्छ । यो मनमा पनि हरियाली हराएको निकै भयो ।'

ऊ अलि आश्चर्यमा पर्‍यो । मनमा हरियाली छैन भन्छे तर तन उज्यालो बनाएकी छे । कसरी संभव हुन्छ यस्तो ?  उहिले 'हरियालीले मात्रै पुग्दैन । रङ्गीचङ्गी फूलविरुवाहरु पनि चाहिन्छ आफ्नो जीवनको फूलबारिमा' भनेर अड्डी कस्दै बाटो बदल्नेको अहिले त्यही हरियाली पनि बिलाएको थाहा पाउनुपर्‍यो । अनौठो !' अलि कठोर बन्यो ऊ ।

उहिलेको कुरो --

सबैकुरो ठीकठाक चल्दै थियो । जीन्दगीसित कुनै गुनासो थिएन, बरु आभार नै प्रकट गर्न सकिने ठाउँ थियो । प्राप्ति, उपलब्धिहरु सन्तोषजनक नै थिए । सत्कर्मद्वारा त्यसलाई भविष्यमा अझ बढाउन सकिने संभावना थियो । तर अचानक कतैबाट मोहको धमिरा पस्यो । अनि कुरो बिग्रन थाल्यो । कुरो सपार्ने उसले कोशीस गरेकै थियो, तर सकेन । र, घामका सुनौला किरणहरुद्वारा सजिइरहेको एउटा हरियाली परिवेश अचानक कालो बादलले ढपक्कै ढाकियो ।

'म यसै गलिसकेकी छु । बाघकै पनि ओरालो लाग्ने दिन आउँदो रहेछ, कसैले लखेटिरहनुपर्दैन ।' पढेर उसको मन चसक्क भयो । आफ्नो कठोर पछिल्लो टिप्पणीप्रति हल्का पछुतो भयो उसलाई ।

'ओ दाई बिर्को खोल्नुस्' बिग्रिन लागेको कुरो सपार्ने गरी के प्रत्युत्तर पठाउनेहोला भन्ने गम्दागम्दै पम्पवाला भाईको आदेशले उसको ध्यान मोडियो ।

तेल भरिसकेर ऊ फेरि मिसियो अनेकथरी सवारीहरुको नदीमा ।

आफू आसपासको तरङ्गलाई बिर्सँदै आफ्नै तरङ्गमा हरायो ऊ केहीबेर ।

'फुटेको त हो तर सिसै चाँही हैन । गाह्रो त होला तर असंभव चाहिँ छैन । एकचोटी गल्ती नगर्ने त को हुन्छ र ? तर गल्ती सुध्रने संकेत देखिएको छ भने त्यसलाई शूभ लक्षण किन नमान्ने ?'

त्यो छोटो फेसबूक संवादले उसमा फरक स्फूर्ती छाएको थियो । अन्धकारमा सानै भए पनि आगोको झिल्कोले ल्याउने परिवर्तन जस्तै त्यो संवादले पनि उसको जीवनमा उज्यालो ल्याउला भन्नेमा आशावादी छ ऊ ।

रुपवती हो उसकी पूर्वप्रेमिका । र,  त्यो थियो ऊसँगको लामो समयको प्रेम सम्बन्ध टुटेको एक वर्ष बितेपछिको पहिलो संवाद ।

 

 

 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया