MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

बर्खास्त क्याटालान नेतालाई रिहा गर्न बेल्जियमका न्यायाधीशको आदेश

कात्तिक २० – स्पेनको क्याटालोनियाका बर्खास्त नेता कार्लेस पुइग्डमोन्ट र उहाँको सरकारका चार पूर्व मन्त्रीलाई बेल्जियमको अदालतले स्वतन्त्र गरेको छ । नेता पुइग्डमोन्टले सहयोगीसहित बेल्जियममा आत्मसमर्पण गर्नुभएको थियो । उहाँको सम्बन्धमा अनुसन्धान गरिरहेका बेल्जियमका न्यायाधीशले उहाँलाई रिहा गर्न आदेश दिएको बिबिसीले जनाएको छ । नेता पुइग्डमोन्टसहितका उहाँका सहयोगीले स्वीकृति बिना बेल्जियम छोड्न भने पाउने छैनन् । यस्तै बसोबास सम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन पनि न्यायाधीशले आदेश दिनुभएको छ । 

मड्रिड उच्च अदालतले पक्राउ वारेन्ट जारी गरेका नेता पुइग्डमोन्टले बेल्जियमको प्रहरी समक्ष आइतबार आत्मसमर्पण गर्नुभएको थियो । उहाँ स्पेनले क्याटालोनियाको संसद र मन्त्रिपरिषद भंग गरी केन्द्र शासन लागु गरेपछि सहयोगीसहित बेल्जियम जानुभएको थियो । मड्रिड उच्च अदालतले शुक्रबार नेता पुइग्डमोन्टसहित बेल्जियम गएका उहाँका अरु चार सहयोगी विरुद्ध युरोपियन पक्राउ एरेस्ट वारेन्ट (इएडब्लु) जारी गरेको थियो ।

बर्खास्त भएका क्याटालान नेता पुइग्डमोन्टलाई अदालतमा उपस्थित हुन भनिएको थियो । तर उहाँ गएको बिहीबार अदालतमा उपस्थित नभएका कारण उहाँ विरुद्ध पक्राउ वारेन्ट जारी गरिएको हो । स्पेन सरकारले बिहीबार क्याटालोनिया क्षेत्रीय सरकारका ९ जना मन्त्रीलाई पक्राउ गरेको थियो । त्यसमध्ये एकजना ५० हजार युरो धरौटी बुझाएर रिहा भएका छन् ।

स्पेन सरकारले नेता पुइग्डमोन्टसहितका क्याटालोनिया स्वतन्त्रताको पक्षमा रहेको क्षेत्रीय सरकारका अधिकारीमाथि विद्रोह, नागरिकलाई भड्काउने तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । नेता पुइग्डमोन्टले निष्पक्ष सुनुवाई हुने ग्यारेन्टी नभएसम्म स्पेन नर्फकने बताउँदै आउनुभएको छ । 

स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा गएको अक्टोबरमा जनमतसंग्रह भएपछि विवाद चुलिएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा स्वतन्त्रताको पक्षमा मत आएको दाबी गरिएको थियो ।

त्यसपछि क्याटालोनियाको स्थानीय सरकारले स्वतन्त्रता सम्बन्धी प्रस्ताव पारित गरेको थियो । त्यसको केही दिनपछि स्पेन सरकारले क्याटालोनियाको संसद तथा सरकार भंग गर्दै केन्द्र शासन लागु गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया