MENU

साहित्य/ कला

Ncell Axiata

कविता-तँ लाटो नै रहे बेस

तँ लाटो नै रहे बेस

- एलिजा तुलाधर, काठमाडौं। 

हिजो  तँ  लाटो  हुँदा
सारा  जग  खुशी  थिए 
कोही तँलाई  विचरा भन्थे  
कोही मुख बटार्दै  हिँड्थे 
तँलाई  चिन्नेहरु  
तेरो  बोलीको  व्यापार  गर्थे 
तेरा  आफन्त  भनाउँदाहरु 
तेरै मौनता  कमाइ  खान्थे 
आज  तैले  बोल्न  जान्दा 
धेरैको  रोटी छिनिएको  छ 
धेरैको  व्यापार गुमेको छ हैन ! 
हिजोसम्म लाटो  तँ 
आज  कसरी  बोल्न  जानिस ? 
जन्मदै  लाटो  तँ 
ईश्वरकै  देन  नकार्ने पाप  कसरी गरिस ?
तेरो  पापको  नतिजा  यहाँ  
बिखन्डन  आउने  भो  रे 
बिचलन  आउने  भो  रे 
कसले  सिकायो तँलाई अधिकारका  कुरा ? 
समानताका  कुरा ?
तँ  हिजो  पनि  दबिएकै  थिइस् 
आज  नि  दबिँदा  के  हुन्थ्यो ?
हिजो  पनि  लाटै थिइस् 
आज नि चुप लाग्दा के बिग्रिन्थ्यो ?
तेरो बोली 
क्रान्ति  जन्माउने  बिउ  बन्दैछ
आगोमा  थपिने  घिउ  बन्दैछ 
तेरो कर्कश  ध्वनीले 
च्यातिदै छन्  उनका  कानका  पर्दाहरु 
तँ जति बोल्छस् 
उति बहिरा हुँदैछन् उनीहरु
तेरो आवाज, शंखनाद बन्दैछ 
एउटा  धर्म  युद्धको 
अनि त्यसपछिको युग परिवर्तनको 
तेरो आवाज बलि माग्दैछ
खोक्रा आडम्बर अनि विभेदको 
जसको आडमा बाँचेका छन् 
मान्छे भनाउदा परजीविहरु
उनीहरु त्रसित छन्
तेरो बोलीले उनीहरुको अस्तित्व मेटिँदैछ 
तेरो आवाजले  धेरै  पर्खाल  भत्किँदैछ 
धेरै  पर्दा उघारिँदैछ
कति  व्यापार  बिहिन  हुँदैछन् 
कति  घरबार  बिहिन  हुँदैछन् 
यो  प्रलय  निम्त्याउनु  भन्दा 
तँ जन्मेकै  लाटो किन  बोल्न  सिकिस् ?
किन  आवाज उठाउन  सिकिस् ?
तँ लाटो नै  रहे  बेस ।।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया