MENU

राजनीति

Ncell Axiata
sagun

माओवादी उम्मेदवार चढेको मोटरसाइकलमा अवैध पेस्तोल

किरण लोहनी/उज्यालो । 

गोरखा, कात्तिक २१ – मंसिर १० गते हुने प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रबाट समानुपातिक सूचिमा रहेकी नेतृ सुशिला सिंखडा चढेको मोटरसाइकलबाट प्रहरीले अवैध पेस्तोल बरामद गरेको छ । 

मंगलबार दिउँसो सुरक्षा जाँचका क्रममा भिमसेन गाउँपालिका वडा नम्बर ३ धावामा प्रहरीले ३ राउण्ड गोलीसहितको नाइन एमएम पेस्तोल बरामद गरेको हो । सिंखडा सवार बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलका चालक गुणप्रसाद खनालको झोलामा हतियार फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताउनुभयो । चुनावलाई लक्षित गरेर जाँचमा खटिएका प्रहरीले मोटरसाइकल रोक्नासाथ खनाल झोला छोडेर भागेको उहाँले बताउनुभयो ।

सुरक्षाजाँचमा एक प्रहरी जवानसहित दुईजना म्यादी प्रहरी मात्रै खटिएकाले उनलाई तत्काल पक्राउ गर्न नसकिएको उहाँको भनाई छ । खनालले मोटरसाइकलमा बाँधेर ल्याएको झोलामा पेस्तोल भेटिएको हो । 

माओवादी नेतृ एवम् समानुपातिक उम्मेदवार सिंखडाले भने झोलामा हतियार रहेको बारे आफूलाई जानकारी नभएको बताएको एसपी अधिकारीले बताउनुभयो । ‘उहाँ आरुघाटबाट गोरखा सदरमुकाम आउँदै हुनुहुँदो रहेछ, बाटोमा लिफ्ट मागेर मोटरसाइकलमा आएको बताउनुभयो’ सिंखडालाई उद्धृत गर्दै एसपी अधिकारीले भन्नुभयो । 

बरामद हतियार जिल्ला प्रहरी कार्यालयमा ल्याइने र फरार खनाललाई खोजी गरि कारवाही गरिने उहाँले बताउनुभयो । सुरक्षा जाँचका क्रममा हतियार फेला परेपछि चुनावलक्षित सुरक्षा योजनालाई अझै प्रभावकारी बनाउनु पर्ने देखिएको अधिकारीले बताउनुभयो । माओवादी केन्द्रले भने हतियार बोकेर हिँडेका खनाल आफ्नो पार्टीमा आवद्ध भए नभएको बारे सोधखोज भैरहेको जनाएको छ । 

गएको आइतबार भिमसेन गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा तनाव बढेको थियो । गाउँसभाको बैठकले गाउँपालिकाको केन्द्र वगुवाबाट मसेलमा सार्ने निर्णय गरेपछि विवाद बढेको थियो । कार्यपालिकामा आवद्ध अन्य पार्टीका सहभागीलाई जानकारी नै नदिई केन्द्र सार्ने निर्णय गर्न खोजिएको नेकपा माओवादी केन्द्रले आरोप लगाएको थियो ।  

केन्द्र सार्ने विषयमा बैठकमै असन्तुष्टि बढेपछि माओवादी केन्द्रबाट निर्वाचित एक कार्यपालिका सदस्यले निर्णय पुस्तिकानै च्यातिदिएका थिए । त्यसपछि केन्द्र सार्नु पर्छ र सार्नु हुन्न भन्ने विषयमा कार्यपालिका सदस्यहरुबिचमै विवाद बढेको थियो । विवाद बढ्दै जाँदा केन्द्र सार्ने विषयको पक्ष र विपक्षमा रहेका सर्वसाधारणबिच झडप पनि भएको थियो । झडपका क्रममा एक स्थानीय युवामाथि धारिलो हतियार प्रहार भएको थियो । त्यसको दुई दिनपछि नै माओवादी समानुपातिक उम्मेदवार चढेको मोटरसाइकलमा अवैध पेस्तोल भेटिएको छ । 

यो पनि पढ्नुहोस् 

गोरखामा माओवादी उम्मेदवारसँग पेस्तोल भेटिनु गम्भीर अनिष्टको संकेत - भट्टराई

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया