MENU

समाज

सर्भेक्षणमा खटिएका १४ जिल्लाका इन्जिनियर काम नसकिँदै फिर्ता

गोरखा, कात्तिक २२ – दाताको दवावपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको घर पुनसर्भेक्षणमा खटिएका इन्जिनियरहरुलाई फिर्ता बोलाएको छ । 

घर पुनसर्भेक्षणको काम पूरा नहुँदै भूकम्प अति प्रभावित चौधै जिल्लाका इन्जिनियरले मंगलबारबाट काम रोकेका हुन् । भूकम्पप्रभावितको सूचीमा नाम नपरेको भन्दै गुनासो फाराम भरेकाहरुलाई अनुदान पाउनेको सूचीमा राख्नु पर्ने हो होइन भनेर अध्ययन गर्न प्राधिकरणले टोली खटाएको थियो । गुनासो फाराम भरेकामध्ये झण्डै ४० प्रतिशत घरको पुनसर्भेक्षण बाँकी रहँदै इन्जिनियरहरु फर्किएका हुन् । घर पुनसर्भेक्षणका लागि प्राधिकरणले अतिप्रभावित १४ जिल्लामा ३ सय ३२ जना इन्जिनियर खटाएको थियो । कार्यक्षेत्र तोकेरै खटाइएका इन्जिनियरमध्ये झण्डै १ सय जनाले सर्भेक्षणको काम सकेको जानकारी आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुषालले बताउनुभयो । 

बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग डिएफआईडीको सहयोगमा पुनसर्भेक्षणको काम थालिएको हो । सर्भे सुरु गरेको ५० दिनभित्र काम सक्नेगरि डिएफआइडीसँग सम्झौता भएको भुषालले बताउनुभयो । गएको दसैँअघिनै सर्भेक्षण सक्नु पर्ने भए पनि समय लम्बिएको हो । प्राधिकरणले फेरि तिहारसम्मको समय थपेको थियो । सर्भेक्षणमा ढिलाई भएको भन्दै दातृ निकाय डिएफआईडीले असन्तुष्टि जनाएका कारण इन्जिनियरहरुलाई फिर्ता बोलाउनु परेको प्राधिकरण स्रोतले जनाएको छ । प्राधिकरणका प्रवक्ता भुषालले भने चुनाव लगायत कारण पुनसर्भेक्षणको काम रोकिएको बताउनुभयो । ‘दसैँमा सक्ने भन्ने समय दिएर पठायौं, लम्बियो, तिहारसम्म थप्यौं’ प्रवक्ता भुषालले भन्नुभयो, ‘चुनावको विषय पनि भयो तर ५० दिनको मात्रै टिओर थियो । त्यो भन्दा बढी समय खटनपटन गर्न डोनरको कुरा आयो ।’ प्राधिकरणमा फर्किएका इन्जिनियरहरुमार्फत पुनसर्भेक्षणको काममा भएको प्रगति अध्ययन गरि बाँकी रहेकाहरुको के गर्ने भनेर टुंगो लगाउने प्रवक्ता भुषालको भनाई छ ।

‘सम्भवतः बाँकी रहेको घर सर्भेका लागि हामी फेरि इन्जिनियर खटाउँछौं’ उहाँले भन्नुभयो, ‘दातृ निकायले मानेनन् भने प्राधिकरण आफैंले भए पनि बाँकी घरको सर्भेको काम सक्छ ।’ तर गुनासो ब्यवस्थापनका नाममा अनन्तकालसम्म सर्भेक्षणकै काम गरिरहन भने नसकिने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अनुदान पाउनेको सूचीमा नाम छुटेकाहरुको कुनै गुनासो भए अब आउँदो मंसिर मसान्तसम्म मात्रै निवेदन दिन सकिने प्रवक्ता भुषालले बताउनुभयो । तर नयाँ आएका गुनासो फस्र्यौटको काम भने स्थानीय तहलेनै गर्ने उहाँको भनाई छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया