MENU

राजनीति

Ncell Axiata
sagun

दिउँसै सुनसान बन्यो सिंहदरबार

प्रकाश ढकाल/उज्यालो ।

काठमाडौं, कात्तिक २२ – आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको रौनकले धेरैलाई छोइसकेको छ । राजनीतिक दलका नेता, कार्यकर्ता र आम नागरिकसमेत चुनावमा केन्द्रित हुन थालेका छन् ।  

काठमाडौं उपत्यकामा रहेकाहरु पनि धमाधम गाउँ फर्किन थालेका छन् । कर्मचारी, सुरक्षा निकायको ध्यान पनि चुनावमै केन्द्रित हुन थालेको छ । यसरी सबैको ध्यान चुनावमै केन्द्रित हुँदा सार्वजनिक बिदाबाहेक अरु दिन सधैं भिडभाड र चहलपहल हुुने देशको मुख्य प्रशासकिन केन्द्र सिंहदबार दिनदिनै सुनसान बन्दै गएको छ ।

प्रधानमन्त्री, मन्त्री, सांसद भएकाहरुदेखि लिएर दलका नेता तथा कार्यकर्ता चुनावमा केन्द्रित हुँदा कार्यालय समयमा भरिभराउ हुने सिंहदरबार खाली भएको हो । चुनावका लागि मनोनयन भएसँगै सबै जसो मन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवासमेत जिल्ला दौडाहामा निस्कनुभएको छ । इतिहासकै सबैभन्दा ठूलो ६४ सदस्यीय मन्त्रिपरिषद् भए पनि हिजोआज कुनै पनि मन्त्रीलाई कार्यालयमा भेट्न सकिँदैन ।  

काठमाडौं बसेर दैनिक शक्ति केन्द्र धाउने र गफगाफ गरेर दिन टहल्ने दलका कार्यकर्ता पनि गाउँ छिरेपछि सिंहदरबारमा हिजोआज कर्मचारी मात्र भेटिन थालेका छन् । सेवाग्राही र मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरु नै कार्यालय आउन छाडेपछि कर्मचारीहरु पनि फुर्सदिला बनेका छन् । सबैभन्दा धेरै सेवाग्राही पुग्ने मन्त्रालय मध्येको एक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ हिजोआज कामको बोझ नभएको जानकारी दिनुहुन्छ । ‘चुनावका कारण सेवाग्राही र मन्त्री नै आउन छाड्नुभएको छ । अधिकांश काम फोनबाटै गरिरहेका छौं, तामाङले भन्नुभयो । निर्वाचन आयोगले आचारसंहिताका कारण बजेट खर्च गर्न रोक लगाएपछि त झन् सिंहदरबारलाई कामको बोझले चटक्कै छाडेको छ ।  

सामान्य अवस्थामा सिंहदरबारमा दैनिक झण्डै तीन हजारजना प्रवेश गर्ने गरे पनि अहिले त्यो संख्या एक हजार मात्र सीमित हुने गरेको छ । रुपान्तरित संसदको समय सकिएसँगै पातलिँदै गएको सिंहदरबार दोस्रो चरण चुनावको उम्मेदवारी मनोनयनपछि त झन् दिउँसै चकमन्न हुने गरेको छ । जसका कारण सिंहदरबारभित्रका पसलको व्यापार पनि निक्कै आरोलो लागेको छ । सिंहदरबारभित्र चिया तथा नास्ताको व्यवसाय गर्दै आउनुभएकी हिमा सुवेदी सामान्य अवस्थामा दैनिक तीन हजार पाँच सय रुपैयाँभन्दा धेरै व्यापार हुने गरेकोमा अहिले पाँच सय रुपैयाँमा खुम्चिएको बताउनुहुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया