MENU

राजनीति

Ncell Axiata
sagun

दाङमा ‘टुरिष्ट उम्मेदवार’को चर्चा, आफैलाई भोट दिन नपाउने यिनमा कसले जित्ला ?

हेमराज शर्मा/उज्यालो । 

दाङ, कात्तिक २३ – तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा सबैको चासो क्षेत्र नं २ को चुनावमा परेको छ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा साथै नेकपा एमालेका नेता शंकर पोख्रेल चुनाव लड्ने क्षेत्र भएकाले सबैको चासो परेको छ ।

वाम गठबन्धनका तर्फबाट माओवादी नेता महरा दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभातर्फ र वाम गठबन्धनकै तर्फबाट एमाले स्थायी समिति सदस्य पोख्रेल प्रदेशसभा तर्फबाट क्षेत्र नं २ (क) बाट उम्मेदवार बन्नु भएको छ । यी दुवै नेता आफ्नो पार्टीभित्र प्रभावशाली नेताका रुपमा लिइन्छन् । 

महरालाई टक्कर दिँदैछन् नेपाली कांग्रेसका राजु खनालले । खनाल २०७० सालमा भएको दोस्रो संविधानसभा सभा चुनावमा तत्कालिन क्षेत्र नं ३ अहिलेको यही क्षेत्रबाट फराकिलो मतान्तरले विजयी हुनु भएको थियो । दोस्रो संविधानसभा चुनावमा एमाले र माओवादीको मत जोड्दा पनि कांग्रेसको मत धेरै थियो ।   

अहिले अवस्था फेरिएको छ । एकातिर निर्वाचन क्षेत्रमा पर्ने भूगोल थपघट भएको छ भने एमाले–माओवादीको वाम गठबन्धन चुनावमा होमिएको छ । गएको असारमा सम्पन्न स्थानीय चुनावमा अहिलेको क्षेत्र नं २ रहेका क्षेत्रका अधिकांश वडा र स्थानीय तहमा अहिलेका वाम गठबन्धनमा रहेका एमाले र माओवादीले चुनाव जितेका छन् । त्यसले पनि २०७० सालकै जस्तो चुनाव जित्न कांग्रेसलाई फलामको च्यूरा चपाएजस्तै छ । तर दोस्रो संविधानसभा चुनावमा रोल्पाबाट लडेका महरा अहिले टुरिष्ट जस्तै गरी दाङबाट चुनाव लड्दैछन् भनेर टिकाटिप्पणी गरिनु, वाम गठबन्धनभित्र सुनिने खटपट, महरा र पोख्रेल दुई पार्टीका प्रभावशाली नेताहरुमा विश्वासको कमीजस्ता कारण मौलाउँदै गए भने कांग्रेसले जित्ने देखिन्छ । 

कृष्णबहादुर महरा भर्सेस राजु खनाल

पहिलो संविधानसभामा तत्कालित क्षेत्र नं ३ अहिलेको क्षेत्र नं २ मा कृष्णबहादुर महराले चुनाव जित्नु भएको थियो । दोस्रो संविधानसभा चुनावमा महरा दाङ छोडेर रोल्पालाई चुनावी क्षेत्र बनाउनुभयो । दोस्रो संविधानसभा चुनावमा दाङ छोडेका महरा फेरि अहिले दाङ आउनु भएका कारण उहाँलाई ‘आउने–जाने’ नेताका रुपमा आलोचना गर्न सुरु गरेका छन् । तर चुनाव रोल्पाबाट जिते पनि पटकपटक सरकारमा रहेका बेला दाङको विकासका लागि महराले उल्लेखनीय भूमिका खेलेको भन्दै महराको जितलाई सहज मान्नेहरु पनि छन् । 

दाङमा पछिल्लोपटक भएको विकास निर्माण आफ्नो पहलमा कांग्रेस नेतृत्वको सरकारले गरेकाले जित सहज छ भन्ने दावी कांग्रेसको छ । कांग्रेसले यसपटक चुनाव लडाएका राजु खनाल दोस्रो संविधानसभामा पनि जितेका, स्थानीय घोराहीको भरतपुर जहाँ धेरै मतदाता रहेको क्षेत्र, विद्यार्थीकालदेखि नै स्थानीय राजनीति गरेको, मतदाताले आफ्नो सहज पहुँच पुर्‍याउन सक्ने भएकाले पनि महरासँग राम्रै टक्कर हुनेमा भने दुइमत छैन । शालिन स्वभाव, परिपक्क नेताका रुपमा रहेका महरालाई चुनाव जिताएर पठाउँदा भोलि सरकारको नेतृत्व नै गर्न सक्ने र विकास निर्माणमा उल्लेख्य भूमिका खेल्ने हुँदा महरालाई जिताउन लागिपर्नुपर्छ भन्नेहरु पनि छन् । यसले पनि महरा र खनालबिचमा राम्रै प्रतिस्पर्धा हुने निश्चित छ ।   

शंकर पोख्रेल भर्सेस कमलकिशोर घिमिरे

एमालेको नीतिनिर्माणमा दख्खल राख्ने बौद्धिक नेताको रुपमा केन्द्रीय स्तरमा छवि बनाउनु भएका शंकर पोख्रेल यसपटकको चुनावमा दाङ क्षेत्र नं २ (क) बाट प्रदेशसभाका लागि चुनावी मैदानमा उत्रिनु भएको छ । उहाँलाई नेपाली कांग्रेसका युवा नेता कमलकिशोर घिमिरेले टक्कर दिँदै हुनुहुन्छ । घिमिरे दाङको राजनीतिमा युवाको बिचमा निकै लोकप्रिय, गाउँतहसम्म पुग्ने र पाकाहरुबाट आशा गरिएका नेताका रुपमा चिनिनु हुन्छ । यद्धपी राजनीतिक हिसावले हेर्ने हो भने पोख्रेल परिपक्व र घिमिरे जल्दोबल्दो युवाको रुपमा रहनु भएको छ । 

स्वभावतः धेरैसँग घुलमेल हुन नरुचाउने पोख्रेल र सबैसँग घुलमेल भएका घिमिरेबीच राम्रै टक्कर हुने देखिन्छ । केन्द्रीय राजनीतिमा रहेर सैद्धान्तिक दृष्टीले अब्बल रहे पनि स्थानीय बासिन्दाका पिरमर्का र विकास निर्माणमा नेता पोख्रेलले काम गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ । घिमिरेले मौका पाउने हो भने नागरिकका पक्षमा काम गर्छन् कि भनी आशा गरिएका ब्यक्ति हुन् भनेर स्वयं वामपन्थीहरु सुनाउँछन् । मतदाताको सहज पहुँच हुनसक्ने घिमिरे र पहुँच त्यति नहुने आँकलन गरिएका पोख्रेलबीच पनि तिव्र प्रतिपर्धा हुने बिश्लेषण गरिन्छ ।

आफैलाई भोट हाल्न पाउँदैनन् यी नेता

आसन्न चुनावमा दाङ क्षेत्र नं २ बाट वाम गठबन्धनका उम्मेदवार बन्नु भएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, प्रदेशसभा तर्फ २ (क) का वाम गठबन्धनका उम्मेदवार एमाले नेता शंंकर पोख्रेल, यही क्षेत्रबाट कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरे र क्षेत्र नं २ (ख) का वाम गठबन्धनका उम्मेदवार अमरबहादुर डाँगीले आफ्नो भोट आफैलाई हाल्न नपाउने देखिएको छ । उहाँको मतदाता नामावलीमा अनेत्रबाट नाम भएपछि उहाँहरु चारै जनाले आफूले आफैलाई भोट हाल्न पाउनु हुन्न । मतदाता नामावलीमा महराको नाम रोल्पाबाट, शंकर पोख्रेलको नाम दाङको बिजौरीबाट, कमलकिशोर घिमिरेको नाम दाङको रामपुरबाट र अमरबहादुर डागीको नाम घोराही उपमहानगरपालिका वडा नं १८ बाट रहेकाले उहाँहरु आफूलाई भोट हाल्न पाउनुहुने छैन । कतिपयले उहाँहरुलाई टुरिष्ट उम्मेदवारका रुपमा पनि टिप्पणी गर्ने गरेका छन् ।   

दाङको बिजौरी घर भएका पोख्रेल अहिले लड्न थालेको निर्वाचन क्षेत्रका होइनन् । लगातार दुई वटा चुनावमा पराजित भएका पोख्रेल अहिले चुनाव लड्न थालेको क्षेत्र उहाँका लागि नयाँ हो । अनेत्रको ब्यक्तिलाई आफ्नो क्षेत्रमा ल्याएर चुनावमा होमेको भनेर टिप्पणी गर्ने आलोचक पनि छन् । 

घोराही नगरपालिका वडा नं २ रामपुर निवासी कमलकिशोर घिमिरेको पनि नामवली भएको क्षेत्र त यो पर्दैन ।  कांग्रेसको क्षेत्रीय सभापति हुँदै जिल्ला सचिव भइसकेका घिमिरे कांग्रेसको १३ औँ महाधिवेसनमा जिल्ला सभापतिका प्रत्याशी हुनुहुन्थ्यो । पहिलो संविधानसभा चुनाव र स्थानीय तहको चुनावमा उम्मेदवारको रुपमा चर्चामा आएका तर उम्मेदवारीको टिकट पाउन नसकेका गुटगत राजनीतिमा विश्वास नगर्ने छवि बनाएका घिमिरेले पोख्रेललाई राम्रो चुनौती दिन्छन् भन्नेको जमात पनि छ । 

प्रदेशसभातर्फ दाङको क्षेत्र नं २ (२) बाट वाम गठबन्धनका तर्फबाट अमरबहादुर डाँगी र कांग्रेसका भरतबहादुर न्यौपाने चुनावी प्रतिसपर्धामा हुनुहुन्छ । 

कस्तो थियो त ? विगतको राजनीतिक अवस्था 

कांग्रेसको गढ मानिने दाङको निर्वाचन क्षेत्र नं २ मा पर्ने घोराही उपमहानगरपालिकाका१५ वटा वडा र तुल्सीपुर उपमहानगरपालिकामा रहेका ४ वडा र बंगलाचुली गाउँपालिकामा असारमा भएको स्थानीय तहको चुनावमा अधिकांश क्षेत्र वाम गठबन्धनमा रहेका एमाले र माओवादीले जितेका छन् । तर दोस्रो संविधानसभामा दाङका ५ वटै क्षेत्र कांग्रेसले जितेको थियो भने पहिलो संविधानसभा चुनावमा माओवादीले पाँचै क्षेत्रमा जित हासिल गरेको थियो ।

कति छन त मतदाता ?

तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा प्रतिनिधिसभाका लागि सवैभन्दा थोरै मतदाता क्षेत्र नं २ मा रहेका छन । क्षेत्र नं २ मा १ लाख ८ हजार ८ सय ७० मतदाताले भोट हाल्न पाउने छन । प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नं २ (१) मा ५१ हजार ७ सय र २ (२) मा ५७ हजार १ सय ७० मतदाता रहेका छन । जसका लागि ४८ मतदान स्थलमा  १ सय २८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया