MENU

राजनीति

Ncell Axiata
sagun

चितवनमा प्रचण्डका ५ अवसर, ५ चुनौती

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, कात्तिक २३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । गृह जिल्ला चितवन भएपनि यसअघि उहाँ रोल्पा, काठमाडौं र सिराहामा उठ्नुभएको थियो । यसपटक उहाँले चितवन रोज्नुभएको छ । 

एमाले माओवादी केन्द्रबीचकोे गठबन्धनसँगै चितवनमा उम्मेदवार बनेका प्रचण्डलाई यसपटक जित्नको लागि जति अवसर छ, त्यति चुनौती पनि छन् । 

अवसरहरु 

१) सात हजार मतले अगाडि

स्थानीय तहको चुनावको मत आँकलन गर्दा क्षेत्र नं. ३ मा वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धनभन्दा ७ हजार बढी मतले अगाडि छ । भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६ सय ३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत ३ हजार ८ सय ७२ थप्दा १७ हजार ५ सय ८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३ हजार ८ सय २६ थप्दा २४ हजार ९ सय ५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वामगठवन्धनको मत ४२ हजार ४ सय ६४ हुन्छ । 

यता, भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३ हजार ८ सय २९ हो । कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत ८ हजार ३ सय ४१ जोड्दा ३५ हजार ३ सय ७ हुन्छ । 

२) राष्ट्रिय नेताको प्रभाव

प्रचण्ड नेपालको राजनीतिमा एक प्रभावशाली नेताका रुपमा परिचित हुनुहुन्छ । राष्टिय राजनीतिमा सँधै चर्चामा रहने र एक मुख्य दलको अध्यक्ष नै चुनावी मैदानमा रहनुभएकाले क्षेत्रका मतदातामा केही उत्साह छ । प्रचण्डले यसअघि विकासका लागि चितवनमा प्याकेज कार्यक्रम पारिदिएका कारण प्रभावशाली नेताको विजयले थप विकास हुन सक्ने अपेक्षा नागरिकले राख्नु उहाँका लागि सवल पक्ष हो । देशको राजनीतिमा केन्द्रमा सँधै प्रभावशाली भूमिका खेल्न सक्ने प्रचण्ड भएका कारण उहाँप्रति मतदाताको केही सकारात्मक सद्भाव देखिएको छ । 

३) महानगरमा मेयर आफ्नै हुनु 

प्रचण्डकी छोरी रेणु प्रमुख भएको भरतपुर महानगरसमेत रहेको क्षेत्रमा उहाँको उम्मेदवारी छ । भरतपुर महानगरपालिकामा मेयर प्रचण्डको आफ्नै छोरी रहनुले पनि उहाँलाई चुनावमा केही सकारात्मक प्रभाव देखिएको छ । महानगरकै १९ वटा वडा यस क्षेत्रमा पर्ने र मेयर आफ्नै रहनु उहाँका लागि राम्रो अवसर रहेको छ । 

४) एमालेको साथ 

एमालेको साथ प्रचण्डको लागि महत्वपूर्ण अवसरको रुपमा लिन सकिन्छ । यही क्षेत्रमा पर्ने माडी नगरपालिकामा एमालेको राम्रो पकड रहेको क्षेत्र हो । यही क्षेत्रमा मेयरमा माओवादीले नै विजय प्राप्त गरेको थियो । माडी बाहेक भरतपुरका क्षेत्र पनि एमालेको राम्रै क्षेत्र छ । त्यसैले एमालेको साथ उहाँका लागि राम्रो अवसर हो । २०४८ सालमा वाम गठबन्धनको भीमबहादुर श्रेष्ठ र २०५१ मा अमिक शेरचनलाई समर्थन गरेको एमालेको यस क्षेत्रमा वर्चश्व छ ।

५) गृह जिल्ला 

प्रचण्डको गृह जिल्ला चितवन हो । क्षेत्र नं. ३ उहाँकै क्षेत्र हो । त्यसैले आम मतदातामा प्रचण्डले आगामी दिनमा अब चितवन छाड्दैनन् भन्ने आश राखेका छन् । प्रचण्डका नातागोता, इष्टमित्र लगायत बाल्यकालका साथीहरु समेत यही क्षेत्रमा पर्छन । त्यसैले पनि अन्य जिल्लाको तुलानामा उहाँलाई यस क्षेत्र सहज हुने देखिन्छ । यसअघि अरु जिल्लाबाट निर्वाचित हुँदै अहिले चितवन आइपुगेका प्रचण्डले अब यो जिल्ला नछोड्ने बताउनुले मतदातामा केही उत्साह थपिएको छ । 

चुनौती 

१) बाँदरमुढे घटना 

प्रचण्ड चुनाव लड्दै गरेको चितवन क्षेत्र नं. ३ मा तत्कालीन समयमा गुडिरहेको बसमा एम्बुस पड्काएर भएको बाँदरमुढे घटना उहाँका लागि चुनौती देखिएको छ । बि.सं. २०६२ सालमा ३८ जनाको मृत्यु र ७२ जना घाईते हुने गरी भएको बाँदरमुढे घटनाका केही पीडितहरुले  प्रचण्डलाई सहयोग गर्न नसकिने बताउदै आएका छन् । दोषीलाई कारवाही नगरेसम्म मानवीय संवेदनालाई हेरेर प्रचण्डलाई मतदान गर्न नसकिने पीडितहरुको भनाई छ । 

२) समीकरण परिवर्तन 

स्थानीय चुनावमा नेपाली कांग्रेससँग तालमेल गरेर छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुख बनाएको घटना र पछि कांग्रेसको तालमेल छाडेर एमालेसँग तालमेल गर्नुले कांग्रेस रुष्ट हुनु । स्थानीय तहको चुनावमा कांग्रेसबाट भरतपुरको प्रमुखको उम्मेदवार भई फिर्तापछि प्रचण्डबाट वचन पाएका दिनेश कोइराला उहाँका लागि चुनौतीका रुपमा खडा भएका छन् । 

गएको स्थानीय चुनावमा नेपाली कांग्रेससँग तालमेल गरेपछि कांग्रेसका उम्मेदवार दिनेश कोइरालालाई प्रमुख पदको उम्मेदवारबाट फिर्ता गराईएको थियो । त्यतिबेला भरतपुरमा भएको संयुक्त चुनावी सभामा प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइरालालाई उचित स्थान दिने वचन दिनुभएको थियो । सोही वचनअनुरुप नेपाली कांग्रेसले कोइरालालाई चितवन क्षेत्र नं. ३ को क प्रदेशबाट उम्मेदवार बनाएको छ । तर त्यतिबेला वचन दिने प्रचण्डले अहिले समिकरण परिवर्तन गरिसक्नु भएको छ ।

 ३) कडा प्रतिस्पर्धी

प्रचण्डका प्रतिस्पर्धी राप्रपा (प्रजातान्त्रिकका) केन्द्रीय उपाध्यक्ष एवं वन तथा भूसंरक्षण मन्त्री बिक्रम पाण्डे हुनुहुन्छ । नेपाली कांग्रेसले पाण्डेलाई नै समर्थन गरेको छ । पाण्डे यसअघि सोही क्षेत्रमा पर्ने तत्कालीन क्षेत्र नं. ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । “विकासका लागि बिक्रम पाण्डे” भन्दै पाण्डे त्यस क्षेत्रमा लोकप्रिय हुनुहुन्छ । उहाँले निजी लगानीमा समेत विकास निर्माण गर्दै आएको स्थानीय बताउँछन् ।

त्यसैगरी सशस्त्र द्वन्द्वमा माओवादीमा लागेर श्रीमती गुमाएका गोर्खाली भनिने टंक रेग्मी र सशस्त्र द्वन्द्वको समयमा युद्ध लडेर पनि उपलब्धी नभएको भन्दै प्रचण्डसँगै चुनावी मैदानमा रहनु भएकी भगवती प्रसाई थप चुनौतीहरु हुन् ।

४) कांग्रेस पकड क्षेत्र 

भरतपुर महानगरपालिकाका २९ वडामध्ये क्षेत्र नं.३ मा १९ वटा पर्दछन् । स्थानीय तहको १९ वडाको मात्र हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा कांग्रेसको मत बढी छ । १९ वडामध्ये ५ वटा एमाले ३ वटा माओवादी र ११ वटा वडा कांग्रेसले जितेको छ । भरतपुर महानगरमा माओवादीले वडा नं. २५ र २६ मा वडाध्यक्ष मात्रै र वडा नं. १३ मा प्यानलसहित जितेको हो । 

माओवादीले वडा नं. २६ मा एमालेसँग तालमेल गरेर वडाध्यक्ष जितेको थियो भने बाँकी २ वडा आफ्नै तागतले जितेको हो । गत स्थानीय तहको चुनावमा मतगाणनामा विवाद भएपछि पुनः चुनाव भएको वडा १९ यही क्षेत्रमा पर्छ । जुन कांग्रेसको बलियो पकड भएको क्षेत्र हो । यही क्षेत्रबाट गत संविधानसभाको चुनावमा कांग्रेसका उम्मेदवारले भारी मत अन्तरले विजयी भएका थिए ।

५) थपिएका मतदातामा कांग्रेस बढी  

यसअघिको मतदाता नामावली संकलन गर्ने क्रममा कांग्रेसले खासै चासो नदिएपनि पछिल्लो पटक नेपाली कांग्रेसले अभियानकै रुपमा फोटो सहितको मतदाता नामावली संकलनमा सक्रियता देखाएको थियो । 

स्थानीय तहको चुनावपछि जिल्लामा ४१ हजार ३३ मत थपिएको छ । पहाडी क्षेत्रमा कम मत थपिएकाले क्षेत्र नं. ३ मा १५ हजार हाराहारी मतदाता थपिएको आँकलन छ । जसमा कांग्रेस मत बढी भएको अनुमान गरिएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया