MENU

राजनीति

Ncell Axiata
sagun

भोट माग्न खेतखलामै पुग्छन् नेता

श्यामशितल परियार/उज्यालो । 

लमजुङ, कात्तिक २४ – आउँदो मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सरगर्मी बढेको छ । मेलापात, वनपाखा, खेतबारी, चोकचौतारी, चियापसल, पानीपधेँरा जताततै अहिले चुनावकै विषयमा चर्चा हुन थालेको छ । लमजुङमा विभिन्न दल तथा दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटिसकेका छन् । नागरिकहरु मतदान गर्न उत्साहित छन् ।   

यतिबेला लमजुङका किसानहरुलाई खेतबारीमा लगाइएका बाली थन्क्याउने चटारो छ, नेताहरुलाई चुनावी प्रचारप्रसारको । अरुबेला खासै नागरिककोमा नपुग्ने विभिन्न दलका नेता अहिले आफ्नो पक्षमा मत पार्न गाउँगाउँ पुग्न थालेका छन् । उनीहरु मत माग्दै किसानका खेतखलामै पुग्न थालेका छन् । विकास र समृद्धिका अनेकन सपना बाँडेका छन् । ‘गाउँमा खासै मतदाता नभेटिएपछि खेतखलामै पुगेर भोट मागेका छौँ’ दल तथा दलका उम्मेदवारहरुले बताएका छन् । चुनावका बेला मात्रै होइन चुनाव जितेपछि पनि जिल्लाको विकासमा हातेमालो गर्नुपर्ने लमजुङ भोटेओडारका दीपक डल्लाकोटी बताउनुहुन्छ ।  

लमजुङमा मुख्यतः लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । लमजुङमा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि कांग्रेसका पुराना नेता दीलबहादुर घर्ती चुनावी मैदानमा हुनुहुन्छ ।दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेशसभा ‘क’ का लागि लोकतान्त्रिक गठबन्धनले कांग्रेसका गर्जबहादुर गुरुङ, प्रदेशसभा ‘ख’ मा कांग्रेसकै कृष्णप्रसाद कोइरालालाई चुनावी मैदानमा उतारेको छ । यसैगरी, वाम गठबन्धनले प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका प्रभावशाली नेताको रुपमा परिचित देवपसाद गुरुङलाई चुनावी मैदानमा खडा गरेको छ । वाम गठबन्धनले प्रदेशसभा ‘क’ मा एमालेका धनञ्जय दवाडी, प्रदेशसभा ‘ख’ मा एमालेकै पृथ्बीसुब्बा गुरुङलाई चुनावी मैदानमा उतारेको छ ।  

विभिन्न दल तथा दलका उम्मेदवारसँग लमजुङे नागरिकले विकास र समृद्धिको आशा राखेका छन् । जसले जिते पनि जिल्लाको समग्र विकासमा लाग्नुपर्ने भोटेओडार बालुनेकी लक्ष्मी श्रेष्ठले बताउनुभयो । यसैबीच, लमजुङकै प्रेमबहादुर थापाले चुनाव जित्नेले आफ्नो स्वार्थ त्यागी जिल्ला र जिल्लाबासीको हकहितमा प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो । चुनाव प्रचारप्रसारमा व्यस्त रहेका लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारहरुले जीत आफूहरुकै पोल्टामा पर्ने आ–आफ्नै दाबी र तर्क गर्दै आएका छन् । लमजुङ जिल्ला कांग्रेसको किल्ला रहेकाले आफूहरुले चुनाव जित्ने लोकतान्त्रिक गठबन्धनको तर्क छ । जिल्लाको धेरै स्थानीय तह वामले जितेको र एमाले माओवादीबीचको गठबन्धन भएको हुँदा आफूहरुले चुनाव जित्ने वाम गठबन्धनका उम्मेदवारहरुको तर्क छ ।   

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया