MENU

राजनीति

Ncell Axiata
sagun

३ नम्बर प्रदेशमा को होला मुख्यमन्त्री ?

लक्ष्मण शर्मा/उज्यालो । 

काठमाडौं, कात्तिक २४ – वामपन्थी गठबन्धनको राम्रो प्रभाव रहेको प्रदेश नम्बर ३ मा मुख्य दलहरुले  भावी मुख्यमन्त्रीको रुपमा बिभिन्न नेतालाई प्रदेशसभातर्फ उम्मेदवार बनाएका छन् । पूर्वमन्त्री तथा पूर्वसांसद नै प्रदेशसभा सदस्यको लागि उम्मेदवार बनेपछि ३ नम्बर प्रदेशसभामा राष्ट्रिय स्तरमा महत्व राख्ने सदस्यको कमी नहुने भएको छ । 

पूर्वमन्त्री एवं एमाले नेता राजेन्द्रप्रसाद पाण्डे धादिङबाट प्रदेशसभाको लागि उम्मेदवार बन्नुभएको छ । उहाँ २०६४ को संविधानसभा बाहेक अरु सबै संसदीय भूमिकामा सक्रिय हुनुहुन्छ । एमालेको प्रमुख सचेतकसमेत बनिसकेका पाण्डेलाई ३ नम्बर प्रदेशमा एमालेबाट भावी मुख्यमन्त्रीका रूपमा लिइएको छ । 

तर एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि काठमाडौंबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेपछि मुख्यमन्त्रीको रुपमा भावी उम्मेदवार यो नै हुन्छ भनेर यकिन गर्न गाह्रो देखिएको छ । शाक्य पार्टीको उपाध्यक्ष र महिला नेतृ भएका कारण एकालेबाट भावी मुख्यमन्त्रीको रुपमा शाक्यलाई मुख्य दावेदारको रुपमा हेरिएको छ । 

दोलखाबाट प्रदेशसभा उम्मेदवार बनेका एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाई र काठमाडौंबाट उम्मेदवार बनेका सानु श्रेष्ठलाई पनि मुख्यमन्त्रीको दावेदारको रुपमा लिइएको छ ।  काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित पनि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ को प्रदेशसभामा एमालेकातर्फबाट उम्मेदवार बनेकाले मुख्यमन्त्रीको लाइनमा स्थापित पनि उभिनुभएको छ । एमालेका निवर्तमान सांसद रामेश्वर फुँयाल र राजाराम स्याङतान पनि काठमाडौ र मकवानपुरबाट  प्रदेशसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । यी दुवैजना नेताले ०७० को संविधानसभामा प्रत्यक्षतर्फ जितेका थिए ।

नेपाली कांग्रेसमा ३ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा युवा नेता गगन थापालाई अगाडि सार्ने चर्चा भए पनि एमाले र माओवादीको गठबन्धन बनेपछि उहाँलाई पछाडि सारिएको छ । थापा काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार हुनुहुन्छ । कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादे काभ्रे र पूर्वसांसद राज्यलक्ष्मी श्रेष्ठ काठमाडौंबाट प्रदेशसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । संसदको अनुभव र अभ्यासका कारण कांग्रेसले यी दुईमध्ये एक जनालाई प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्न सक्ने अनुमान गरिएको छ । 

माओवादी केन्द्रका अधिकांश पूर्वसांसद प्रदेशसभाको उम्मेदवार बनेका छन । कृषिराज्यमन्त्री एवं माओवादी केन्द्रकी पूर्वसांसद राधिका तामाङ नुवाकोटबाट प्रदेशसभाको उम्मेदवार हुनुहुन्छ । माओवादी केन्द्रका नेता शालिकराम जम्मरकट्टेल धादिङ, माओवादी केन्द्रकी पूर्वसांसद कुमारी मोक्तान मकवानपुरको १ नम्बर क्षेत्रको ‘क’ र राजकाजी महर्जन ललितपुरको ३ नम्बरको ‘क’ बाट प्रदेशसभाका लागि उम्मेदवार हुनुहुन्छ । 

स्थानीय तह चुनावको नतिजालाई आधार मान्ने हो भने ३ नम्बर प्रदेशका १२ जिल्लामध्ये रसुवा बाहेक सबै जिल्लामा वामपन्थी गठबन्धनको अबस्था राम्रो देखिएको छ । स्थानीय चुनावमा ३ नम्बर प्रदेशका अधिकांश तहमा एमाले विजयी भएको थियो । नेकपा एमाले र माओवादीको वाम गठबन्धनले गर्दा नेपाली कांग्रेसले राष्ट्रिय स्तरमा महत्व राख्ने ‘हेभिवेट’ नेतालाई प्रदेशमा उठाएको छैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया