MENU

राजनीति

Ncell Axiata
sagun

फेरि चर्चामा चितवन

लक्ष्मण शर्मा/उज्यालो । 

काठमाडौं, कात्तिक २५ – तीनवटा निर्वाचन क्षेत्र रहेको चितवन स्थानीय तह चुनावको समयदेखि नै चर्चामा रहेको छ । भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीबिचमा भएको तालमेल, मतपत्र च्यातिएको र अदालतमा परेको मुद्दाको विषयलाई लिएर चितवन लामो समय चर्चामा रहिरह्यो । 

प्रतिनिधिसभा चुनावमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएपछि फेरि एकपटक चितवनले सबैको ध्यान तानेको छ । वाम र लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा गएका मुख्य राजनीतिक दल मध्ये लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको कांग्रेसले चितवन एकमा राजेन्द्र बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनाएको छ । वाम गठबन्धनबाट एमालेका सुरेन्द्र पाण्डे उम्मेदवार हुनुहुन्छ । 

स्थानीय तह चुनावको नतिजा अनुसार यो निर्वाचन क्षेत्रमा कांग्रेसको २९ हजार ३ सय ९२ र राप्रपाको २ हजार ७ सय ५७ गरी लोकतान्त्रिक गठबन्धनको ३२ हजार १ सय ४९ मत रहेको छ । वाम गठबन्धनमा आवद्ध नेकपा एमालेको ३५ हजार ५ सय ९२ र माओवादी केन्द्रको १० हजार १ सय ६० गरी कुल ४५ हजार ७ सय ५२ मत रहेको छ । यो परिणामलाई हेर्दा १ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिक भन्दा वाम गठबन्धन १३ हजार ६ सय ३ मतले अगाडि रहेको देखिन्छ ।तर दलहरुले स्थानीय तह चुनावमा पाएको मत संसदीय चुनावमा नपाउन पनि सक्छन् ।

राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाको सम्पूर्ण भेगलाई समेटेर चितवन क्षेत्र नम्बर १ बनाइएको छ । 

दुई नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिकबाट कांग्रेसका शेषनाथ अधिकारी र वाम गठबन्धनबाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार हुनुहुन्छ । स्थानीय तह चुनावको नतिजा अनुसार यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको २४ हजार ७ सय ५५ र राप्रपाको १ हजार ७ सय ५४ गरि लोकतान्त्रिक गठबन्धनको कुल मत २६ हजार ५ सय ९ मत रहेको छ । वाम गठबन्धनमा आवद्ध नेकपा एमालेको २७ हजार ६ सय ३८ र माओवादीको ११ हजार ६ सय ४ गरी कुल ३९ हजार २ सय ४२ मत रहेको छ । यो मत परिणाम अनुसार लोकतान्त्रिक भन्दा वाम गठबन्धन १२ हजार ७ सय ३३ मतले अगाडि रहेको देखिन्छ । 

चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको सम्पूर्ण भेग र भरतपुर महानगरपालिकाको १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडालाई समेटेर चितवन २ नम्बर निर्वाचन क्षेत्र बनाइएको छ । 

तीन नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिकबाट राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डे र वाम गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार हुनुहुन्छ । पहिलो पटक चितवनबाट चुनाव लड्न पुगेका प्रचण्ड र यसअघि चितवन पाँचबाट विजयी हुँदै सांसद हुनुभएका पाण्डेबिचको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ । स्थानीय तह चुनावको नतिजा अनुसार यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको २६ हजार ९ सय २३ र राप्रपाको ८ हजार ३ सय ४२ गरी कुल ३५ हजार २ सय ६५ मत रहेको छ । वाम गठबन्धनमा आवद्ध नेकपा एमालेको २४ हजार ४ सय ९४ र माओवादी केन्द्रको १८ हजार १ सय ४ गरी कुल ४२ हजार ५ सय ९८ मत रहेको छ । यो मत परिणाम अनुसार ३ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिक भन्दा वाम गठबन्धन ७ हजार ३ सय ३३ मतले अगाडि रहेको छ । माडी नगरपालिकाको सम्पूर्ण भूभाग र भरतपुर महानगरपालिका ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ वडालाई समेटेर ३ नम्बर निर्वाचन क्षेत्रको निर्माण गरिएको छ । 

७ वटा स्थानीय तह रहेको चितवनमा माओवादी केन्द्र भरतपुर महानगरसहित २ तह, एक तहमा नेपाली कांग्रेस र बाँकी ४ तहमा नेकपा एमाले विजयी भएको थियो । स्थानीय चुनावमा माओवादी केन्द्रसँग तालमेल गरेर रुष्ट बनेका कांग्रेसका कार्यक्रताले प्रतिनिधिसभा चुनावमा पनि आफ्ना उम्मेदवारलाई मतदान गर्न नपाउने भएका छन । ३ नम्बर निर्वाचन क्षेत्रमा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार बिक्रम पाण्डेलाई सर्मथन गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया