MENU

मनोरञ्जन

Ncell Axiata
sagun

१९ अभिनेत्रीको निर्माण मोह, कसले के बनाए ?

काठमाडौं, कात्तिक २५ – भनिन्छ, अभिनेत्रीको आयु हुँदैन । उनीहरु सिमित समयको लागि मात्रै सिनेमा क्षेत्रमा टिक्छन् । अनुहारमा चमक रहुन्जेल र छाला चाउरी नपरुन्जेल मात्रै सिनेमामा काम पाइने भन्दै पछिल्लो प्राय अभिनेत्रीहरुले आफ्नो भविष्य आफै सुरक्षित गर्न थालेका छन् । केही अभिनेत्रीहरुले अभिनयसँगै अन्य व्यवसायमा हात हालेका छन् भने केहीले सिनेमा निर्माण गर्न थालेका छन् । 

शर्मिला मल्ल 

अभिनेत्री शर्मिला मल्लले अभिनयमा सफलता पाइसकेपछि पति कृष्ण मल्लसँग मिलेर सिनेमा बादल, लगनगाँठो जस्ता सिनेमाहरु निर्माण गरिन् । तर उनले अभिनयमा जस्तो सफलता निर्माणमा पाईनन् । यहि कारण उनले अन्य सिनेमामा लगानी गर्ने आँट गर्न सकेकी छैनन् । शर्मिला झण्डै डेढ दशक देखि  सिनेमाबाट टाढा छिन् । 

 

मौसमी मल्ल

मौसमी मल्लले अभिनयमा सफलता पाएसँगै निर्माणमा पनि हात हालिन् । उनको पहिलो निर्माण ‘गिरफ्तार’ले राम्रो सफलता पायो । पहिलो सिनेमाको सफलताले हौसीएकी उनले दोस्रो सिनेमा निर्माण गरिन् ‘समय’ । तर उनको दोस्रो सिनेमा कारोबारमा असफल रह्यो । मौसमीले ‘समय’मार्फत छोरा विक्की मल्ललाई डेब्यु गराएकी थिईन् । डेब्यु सिनेमापछि विक्कीले‘नागबेली’ र ‘साईकल’मा पनि अभिनय गरे । तर उनका यी सिनेमा पनि सफल भएनन् । सिनेमा नचलेपछि विक्कीको सिने करिअर पनि उकालो लाग्न सकेन । उता मौसमीले पनि दोस्रो सिनेमाको असफलता पछि कुनै पनि सिनेमा निर्माण गर्ने आँट गरेकी छैनन् । 

दीपाश्री निरौला

कलाकार तथा निर्देशक दीपाश्री  निरौलाले  दीपक राज गिरीसँगै अन्य हाँस्यकलाकारहरुसँग मिलेर आमा सरस्वती मुभिजप्राली मार्फत सिनेमा निर्माण गर्दै आएकी छिन् । ‘६ एकान ६’ देखि शुरु भएको उनको सिनेमा निर्माणको यात्रा अहिले  ‘छक्का पञ्जा २’ सम्म आईपुगेको छ । 

गत वर्षको सिनेमा ‘छक्का पञ्जा’मार्फत त उनले निर्देशकको रुपमा छक्का मारिन् । उनको पहिलो निर्देशन रहेको सिनेमाले नेपाली सिनेमाको ईतिहासमा विभिन्न रेकर्डहरु राख्यो । पहिलो सिनेमाबाटै उनी रेकर्ड ब्रेकर निर्देशकको रुपमा स्थापित भइन् । दीपाको दोस्रो निर्देशन रहेको सिनेमा‘ छक्का पञ्जा २’ ले पनि १५ करोड भन्दा माथिको कारोबार गरिसकेको छ । यी बाहेक हाल छायाकंन भईरहेको सिनेमा ‘शत्रु गते’मा पनि दीपाको लगानी छ । मह सञ्चारको प्रस्तुति ‘शत्रु गते’का मुख्य निर्माता भने किरण केसी हुन् ।

करिष्मा मानन्धर

सिनेमा ‘ढुकढुकी’ मार्फत सिनेमा निर्माणमा हात हालेकी करिष्माले त्यसपछि ‘बाबुसोहब’ निर्माण गरिन् । पहिलो सिनेमाबाट सफलता पाएकी करिष्माले दोस्रो सिनेमाबाट भने खासै सफलता पाईनन् । त्यसपछि उनी अमेरिका लागिन् । अमेरिका केही वर्ष बसेर उनी फेरि नेपाल फर्किईन् ।नेपाल फर्केपछि उनले गोपीकृष्ण मुभिज प्रालीसँग मिलेर सिनेमा निर्माण गर्ने चर्चा थियो । तर पछि कुरा नमिलेपछि उनले एक्लै सिनेमा ‘फागु’ निर्माण गरिन् । सम्झना उप्रेती रौनियारलाई निर्देशक र शिल्पा पोखरेललाई मुख्य अभिनेत्रीको रुपमा लिएर करिष्माले निर्माण गरेको ‘फागु’ले सफलता पाउन सकेन । सिनेमामा  अभिनेत्रीको अफर आउन छोडेपछि र निर्मात्रीको रुपमा पनि असफल भएपछि करिष्माले राजनीतिमा समय दिन थालिन् । करिष्मा नयाँशक्ति पार्टीमा आवद्ध छिन् । राजनीतिसँगै उनले निर्देशनमा हात हाल्ने चर्चा पनि छ ।

 

झरना थापा 

पति सुनिल कुमार थापासँग मिलेर सिनेमा निर्माण गर्दै आएकी अभिनेत्री  झरना थापा अहिले निर्देशक पनि बनिसकेकी छिन् । धर्मसंकट, ए मेरो हजुर, गोर्खाली, तक्दिर, फेसबुक जस्ता सिनेमा निर्माण गरेकी झरनाले  व्यावसायिक रुपमा पनि सफलता पाईन् । उनले पहिलो पटक निर्देशन गरेको सिनेमा ‘ए मेरो हजुर २’ले पनि कारोबारमा सफलता पायो । अहिले झरना सिनेमा निर्माणसँगै निर्देशनमा हौसीएकी छिन् । हाल उनीदोस्रो सिनेमा ‘भागवत गीता’ निर्देशन गर्ने तयारीमा छिन् । 

 

 

 

शुष्मिता बोम्जन

अभिनेता भुवन केसीको करोडपति, नेपाली बाबु,सुपरस्टार जस्ता सिनेमा निर्माणमा सहकार्यगरेर सफलताको स्वाद चाखेकी अभिनेत्री शुष्मिता बोम्जनले  केही वर्षको अन्तराल पछि गत वर्ष सिनेमा ‘म त तिम्रै हुँ’निर्माण गरिन् । छोरा अनमोललाई सिनेमाको प्रस्तोताको रुपमा राखेर उनले छोराको नामबाट सिनेमाको प्रचार प्रसार भने खुबै गरिन् । तर सिनेमाले खासै राम्रो कारोबार गर्न सकेन । सिनेमा निर्माणमा राम्रो सफलता नपाएकी उनी केही समय अघि आफूलाई मन नपरेका पत्रकारहरुलाई मनलाग्दी लेखेर विवादमा पनि आईन् । 

 

रेखा थापा

रेखा थापाले ‘रेखा फिल्मस’मार्फत सिनेमाहरु निर्माण गर्दै आएकी छिन् । निर्माता छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेपछि पनि रेखाका सिनेमा निर्माणमा कदम डगमगाएनन् । झन् निर्धक्कले कुद्दै गए । उनले छविसँग अलग भएपछि काली, हिम्मतवाली, रामप्यारी र रुद्रप्रिया जस्ता सिनेमा निर्माण गरिसकेकी छिन् ।यसका साथै उनले ‘हिम्मतवाली’मार्फत आफूलाई निर्देशक पनि बनाईसकेकी छिन् । 

 

 

नम्रता श्रेष्ठ

अभिनेत्री नम्रता श्रेष्ठले निर्माण गरेको सिनेमा हो ‘सोल सिस्टर’ । प्रशान्त रसाईलीको निर्देशनमा बनेको यो सिनेमाले जति चर्चा पायो त्यो अनुसारको सफलता भने पाएन । यहि कारण नम्रताले त्यसपछि सिनेमामा लगानी गरेकी छैनन् । उनको लगानी अहिले रेष्टुरेण्ट व्यावसायमा छ जसले उनलाई फाईदा पनि पुगेको छ । अभिनयसँगै नम्रताले अहिले रेस्टुरेण्ट व्यावसायलाई अघि बढाईरहेकी छिन् ।

 

 

श्वेता खड्का

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठसँग मिलेर सिनेमा ‘कोहीनुर’ निर्माण गरेकी अभिनेत्री श्वेता खड्का तीन वर्षपछि सिनेमा ‘कान्छी’मार्फत  निर्माण र अभिनयमा फर्किएकी छिन् । पतिको निधनपछि अभिनय र निर्माणमा फर्किएकी स्वेतालाई दर्शकले कत्तिको मिस गरिरहेका थिए भन्ने कुरा सिनेमा ‘कान्छी’मा समावेश गीत ‘चरि चट्ट परि’लेनै प्रमाणित गरिदिएको छ । पहिलो निर्माण ‘कोहीनुर’ले नै स्वेतालाई सफलता दिएको थियो । अब दोस्रो निर्माणले कत्तिको सफलता दिने हो त्यो भने कुर्नै पर्छ । स्वेता सिनेमा निर्माणका अलावा होटेल र ईन्जिनियरिङ कम्पनीकी मालिक्नी पनि हुन् । 

 

 

निशा अधिकारी

अभिनेत्री निशा अधिकारी सिनेमा ‘झ्यानाकुटी’ मार्फत निर्मात्री बनेकी छिन् । निशाको पहिलो निर्माण ‘झ्यानाकुटी’मंसिर १ देखि प्रदर्शनमा आउँदैछ । सिमोस सुनुवारको निर्देशन रहेको यस सिनेमामा बेनिशा हमाल र सौगात मल्ल मुख्य भूमिकामा छन् । यतिबेला निशा सिनेमाको प्रचारप्रसारमा जोडतोडले लागिरहेकी छिन् । निशालाई सिनेमा निर्माण कत्तिको फाप्ला ? यो प्रश्न सबैको मनमा छ ।

 

 

 

 

केकी अधिकारी

 सिनेमा ‘लभ शाशा’मा केकी अधिकारीले पारिश्रमिक लिएकी थिईनन् । खासमा उनले सिनेमाको पारिश्रमिक त्यहि सिनेमा निर्माणमा लगाएकी थिईन् । यस हिसाबले उनी पनि यस सिनेमाकी निर्मात्री बनेकी थिईन् । ‘लभ शाशा’मा केकी बाहेक अरु पनि निर्माता थिए । तर अहिले केकी ‘कोहलपूर एक्सप्रेस’बाट भने एकल रुपमै निर्मात्री बनेकी छिन् । केकीको पहिलो निर्माण ‘कोहलपूर एक्सप्रेस’ यतिबेला बाँकेमा छायाकंन भईरहेको छ । सिनेमामा केकीका अलावा प्रियंका कार्की र ऋचा शर्मा, कुशाग्र भट्टराई मुख्य भूमिकामा छन् । यो सिनेमालाई बिशाल भण्डारीले निर्देशन गरिरहेका छन् । 

 

ऋचा शर्मा

अभिनयमा सफलता पाईसकेपछि ऋचा शर्माले विनय श्रेष्ठसँग मिलेर सिनेमा निर्माणको काम थालिन् । ऋचा र विनयले सिनेमा ‘भिजा गर्ल’ निर्माण गरे । तर सिनेमा  सफल भएन । पहिलो निर्माण रहेको सिनेमाको असफलता बेहोरेकी ऋचाले फेरि निर्देशक अर्पण थापासँग मिलेर सिनेमा ‘आधा लभ’ निर्माण गरिन् । यो सिनेमा पनि कारोबारमा खासै अघि रहेन । तर ऋचाले आफ्नो सिनेमा निर्माणको कार्यलाई भने छोडिनन् । यसैको उदाहरण हो सिनेमा ‘सुनकेशरी’ । यो सिनेमालाई उनले भिम न्यौपानेसँग मिलेर निर्माण गरेकी हुन् । भुतप्रेतको कथामा आधारित रहेर निर्माण गरिएको यस सिनेमामा ऋचाको अवतार केही दिन अघि मात्रै सार्वजनिक गरियो जसको चौतर्फी चर्चा भईरहेको छ । यो सिनेमालाई अर्पण थापाले निर्देशन गरेका हुन्। 

 

पूजा शर्मा 

२०७२ सालमा सिनेमा ‘प्रेमगीत’ मार्फत उदाएकी अभिनेत्री पूजा शर्माले निर्माण गरेको पहिलो सिनेमाले सफलता पाएर पूजाको निर्माण करिअरलाई अघि बढाउन हौसला दिएको छ । यसै वर्ष पूजाले सुदर्शन थापासँग मिलेर सिनेमा ‘म यस्तो गीत गाउँछु’ निर्माण गरिन् ।  सिनेमाले राम्रो कारोबार गर्यो । यस सिनेमामा पल शाहलाई उनले मुख्य अभिनेताको रुपमा राखेकी थिईन् । पहिलो निर्माणलाई दर्शकले रुचाएपछि पूजा अर्को सिनेमा निर्माणमा हौसिएकी छिन् । उनले ‘म यस्तो गीत गाउँछु’ सिक्वेलको समेत घोषणा गरिसकेकी छिन् । यस सिनेमामा पनि उनले पल शाहसँगै स्क्रिन सेयर गर्दैछिन् । 

 

 

शिल्पा पोखरेल

शिल्पा पोखरलेले पनि निर्माता छविराज ओझासँग मिलेर सिनेमा निर्माण शुरु गरेकी छिन् । छविराज ब्यानरमार्फत निर्माण भएको सिनेमा ‘मंगलम’मा शिल्पाको लगानी छ । असोज ११ मा  ‘छक्का पञ्जा २’ सँगै रिलिज हुने घोषणा भएको यो सिनेमा अब भने फागुनमा रिलिज हुने भएको छ । नवल नेपालको निर्देशन रहेको ‘मंगलम’मा शिल्पासँगै पुष्पल खड्का र पृथ्वी राज प्रसाईँ मुख्य भूमिकामा छन् ।

 

निता ढुङगाना

निता ढुङगानाले यसै वर्ष आफ्नो जन्मदिनको अवसर पारेर निर्माण कम्पनी ‘निता फिल्मस प्रोडक्शन’को आधिकारिक घोषणा गरेकी छिन् । तर निताले आफ्नो ब्यानरबाट बन्ने सिनेमाको आधिकारिक घोषणा भने गरिसकेकी छैनन् । उनले सिनेमा निर्माणको लागि निर्देशकको खोजी भईरहेको र निर्देशक पक्का भएपछि सिनेमाको पनि आधिकारिक घोषणा गर्ने बताएकी छिन् ।

 

 

 

ऋचा सिंह ठकुरी

अभिनेत्री ऋचा सिंह ठकुरी पनि सिनेमा ‘सुपर गोर्खे’ मार्फत निर्मात्री बनेकी छिन् । अस्ट्रेलियामा बस्ने गजेन्द्रराज थापासँग विवाह गरेकी ऋचाको पहिलो निर्माण रहेको यस सिनेमालाई गजेन्द्रले नै निर्देशन गरेका छन् भने सिनेमाको मुख्य भूमिकामा पनि गजेन्द्र छन् । ऋचा यस सिनेमाकी मुख्य अभिनेत्री हुन् । काठमाण्डौ, धरान, विराटनगर लगायतका ठाउँमा सिनेमाको छायाकंन गरिएको छ । सिनेमामा गजेन्द्र र ऋचाका अलावा सचीन केसी, निराजन लुईँटेल लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।

 

 

 

 

छुल्ठिम गुरुङ

‘नोभेम्बर रेन’मा सहायक अभिनेत्री भएर अभिनयमा डेब्यु गरेकी अभिनेत्री  छुल्ठिम गुरुङले त्यसपछि अरुका सिनेमामा काम नगरीकन आफै सिनेमा निर्माण गरिन् । पहिलो सिनेमामार्फत राम्रो चर्चा र दर्शकको माया पाएकी उनले यहि वर्ष सिनेमा डायरी निर्माण गरेकी हुन् । जेठमा रिलिज भएको ‘डायरी’ कारोबारमा औसत रह्यो । छुल्ठिमले भने सिनेमा निर्माणलाई निरन्तरता दिने बताएकी छिन् । हाल उनी सिनेमा ‘नेप्टे’को काममा व्यस्त छिन् ।

 

 

 

 

पूजना स्त्री

गत वर्ष पूजना स्त्रीले सिनेमा चक्लेट निर्माण गरिन् । सडक बालबालिकाको कथा समेटिएको यो सिनेमाले व्यावसायिक हिसाबमा भने सफलता पाएन ।  निकै ठूलो आशा बोकेर सिनेमा निर्माण गरेकी पूजना सिनेमा असफल भएपछि तनावमा परिन् । उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी थिईन् । उनले निर्माण गरेको सिनेमा ‘चक्लेट’ नहेरेर दर्शकले आफूमाथि अन्याय गरेको र राम्रो कामको लागि साथ नदिएको  भन्दै सामाजिक सञ्जाल नचलाउने घोषणा समेत गरेकी थिईन् । असहाय बालबालिकाको सहयोग गर्दै आईरहेकी उनले सिनेमा पनि यहि विषयवस्तुमा निर्माण गरेकी थिईन् । यस सिनेमालाई निर्मल शर्माले निर्देशन गरेका हुन् ।

 

कृषा चौलागाईँ

इन्साफ ,कसम हजुरको  लगायतका सिनेमा निर्माण गरेकि अभिनेत्री कृषा चौलागाईँले गत वर्ष रेखा थापा र अयुब केसीलाई लिएर सिनेमा ‘पलाँस’निर्माण गरिन् । तर सिनेमा निर्माण हुँदै गर्दा पाएको चर्चा अनुसारको सफलता भने कारोबारमा पाएन । यहि कारण कृषा फेरि छिट्टै नै सिनेमा निर्माण गर्ने शुरमा देखिएकी छैनन्। 

 

 

 

 

 

उज्यालो र gufgaf.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया