MENU

राजनीति

Ncell Axiata
sagun

नेता बने, रोल्पा बनेन

माधवकुमार ओली/उज्यालो ।

रोल्पा, कात्तिक २६ — दश वर्षे सशस्त्र द्वन्द्वको उद्गम स्थल रोल्पा राष्ट्रिय राजनीतिमा सधैं चर्चामै रहने जिल्ला हो । २०६४ सालको पहिलो संविधानसभा चुनावदेखि हरेक चुनावमा रोल्पाबाट निर्वाचित प्रतिनिधिहरुले सरकारको बागडोर सम्हाले । तर रोल्पाली नागरिकको जीवनस्तरमा भने खास्सै परिवर्तन भएको छैन ।

शान्ति प्रक्रिया सुरु भएसँगै पहिलो संविधानसभा चुनावमा रोल्पा–२ बाट निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक प्रधानमन्त्री बन्नुभयो । द्वन्द्व कालमै रोल्पालाई राजधानी बनाउने तथा देशको नमूना जिल्ला बनाउने आश्वासन पाएका रोल्पाली नागरिक पछि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र नै छोडेपछि निराश बनेका थिए ।

२०७० सालको संविधानसभा चुनावमा रोल्पा–१ बाट कृष्णबहादुर महरा र रोल्पा–२ बाट ओनसरी घर्ती निर्वाचित हुनुभयो । महरा सरकारको सदाबहार उप–प्रधानमन्त्री बन्नुभयो भने घर्ती सभामुख बन्नुभयो । तर रोल्पाको मुहार फेर्नेमा भने खास्सै कुनै काम भएन । पञ्चायतकालमा चलेको रोल्पाको बडाचौर विमानस्थल पनि स्थानीय बासिन्दाले हार–गुहार गर्दा पनि पुनः सञ्चालन हुन सकेन ।

९ वर्षमा पनि बनेन माडी पुल

२०६५ सालमा टेण्डर आह्वान भई निर्माण काम सुरु भएको सदरमुकाम लिबाङ र नेता वर्षमान पुनको गाउँ जोड्ने माडीखोलाको पक्की पुल अहिलेसम्म पनि अलपत्र छ । यस्तै जिल्लाको माडीखोलाबाट १२ मेगावाटको विद्युत उत्पादन गर्ने काम पनि महरा अर्थमन्त्री भएकै बेला नेपाली सेनाले जिम्मा पाएको भए पनि फाइल अर्थमन्त्रालयमै अड्किएपछि उक्त जलविद्युत आयोजना पनि अगाडि बढ्न सकेन ।

माडीखोलामा पक्की पुल निर्माण कार्य लामो समयसम्म अलपत्र बनेपछि तत्कालीन सुशील कोइराला नेतृत्वको सरकार भएका बेला स्थानीय नागरिक समाज, राजनीतिक दलको दवावमा रोल्पाकै कांग्रेस समानुपातिक सभासद अमरसिंह पुनको पहलमा बेली ब्रिज जडान भएको छ ।

प्रत्येक स्थानीय तहमा कालोपत्रे सडक

फेरि अहिले चुनावका लागि ठूला–ठूला विकास गर्ने सपना बाँड्दै नेताहरु आपूm सत्तामा भएको बेला रोल्पाको विकास गर्ने भन्दै भोट मागीरहेका छन् । उम्मेदवारहरुले प्रत्येक स्थानीय तहमा क्याम्पस स्थापना गर्ने तथा कम्तिमा १५ सैयाको अस्पताल निर्माण गर्ने, प्रत्येक गाउँपालिकामा कालोपत्रे सडक, कृषिमा व्यावसायीकरणका लागि टार सिंचाई आयोजना, लिफ्टिङ सिंचाई आयोजनाहरु निर्माण गर्ने जस्ता महत्वाकांक्षी योजनाहरु उम्मेदवारका प्रतिवद्धता पत्रमा उल्लेख छन् ।

विशेषगरी रोल्पामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्न अहिले गाउँ–गाउँमा घरदैलो कार्यक्रमहरु गरिरहेका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता वर्षमान पुन चुनावी मैदानमा हुनुहन्छ।

 

लोकतान्त्रिक गठबन्धनबाट सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुन चुनावी मैदानमा रहनुभएको छ । यस्तै प्रदेशसभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेताहरु कुलप्रसाद केसी क्षेत्र नं. १ र दिपेन्द्रकुमार पुन क्षेत्र नं. २ बाट मैदानमा हुनुहुन्छ भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेताहरु शेरबहादुर महरा क्षेत्र नं. १ र खगेन्द्रप्रकाश हमाल क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रनु भएको छ ।

चुनावको बेला प्रतिबद्वता गरेका कुरा व्यवहारमा गरेर देखाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ । चुनावबाट निर्वाचित भएका नेताहरुको जीवनस्तरमा परिवर्तन भए पनि नागरिकको जीवनमा भने परिवर्तन आउन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । उम्मेदवारहरुले विभिन्न विकासे योजनाहरु सहितको प्रतिबद्वता पत्र लिएर मतदाता सामुपुगी आफूले चुनाव जितेमा समृद्व रोल्पा बनाउने बाचा गरिरहेका छन् ।

प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको रोल्पामा चुनावी सरगर्मी बढेको छ । एक सय ६० मतदान केन्द्र र ८० मतदानस्थल रहेको रोल्पामा एक लाख २७ हजार ६ सय २९ मतदाता रहेका छन् ।

नेकपाको चुनाव खारेज अभियान

यस्तै चुनावको खारेज गर्ने भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न विरोधका कार्य गरिरहेको छ । चुनावको विरोधमा भित्ते लेखन गरिरहेको नेकपाले आफ्ना नेताहरु जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ र जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’लाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित भएर शनिबार माओवादी नेता वर्षमान पुन चढेको गाडीमा एम्बुस विष्फोट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया