MENU

राजनीति

Ncell Axiata
sagun

नेता कार्यकर्ता भोज खाइरहँदा चेपाङ मतदाता भोकै

सीताराम अधिकारी/उज्यालो ।

धादिङ, कात्तिक २६ – धादिङमा माओवादीका प्रभावशाली नेता शालिग्राम जम्मर कट्टेल र एमालेका स्थायी कमिटी सदस्य राजेन्द्रप्रसाद पाण्डे प्रदेशसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ । माओवादी छाडेर कांग्रेस प्रवेश गरेका बालुवा खानी सञ्चालक शिव सुवेदी र ठेकेदार मधुकुमार श्रेष्ठ लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभामा उम्मेदवार बन्नुभएको छ ।  उहाँहरु कार्यकर्तालाई लिएर दिनदिनै चुनावी प्रचारमा हिँड्नुहुन्छ । हरेक दिनजसो कार्यकर्तालाई मासुभात खुवाउनुहुन्छ ।चुनाव प्रचारमा हिँडेका कार्यकर्ताहरुका लागि दैनिक भोज हुन्छ । तर तीनै कार्यकर्ताले भोट माग्ने र नेतालाई भोट दिएर चुनाव जिताउने ब्रुसबाङका चेपाङ मतदाता भने सधैँजस्तो सिस्नु, टाँकीको मुन्टा र खोले खाएर बस्न बाध्य छन् ।

राजमार्गमा पजेरो र मोटरसाइकलमा गुड्ने कार्यकर्ताको लहर चलिरहेको बेला राजमार्गबाट ९ घण्टाको दुरीमा रहेको चेपाङ गाउँका बासिन्दा भोट हाल्नकै लागि एकदिन भोकै बस्नुपर्छ । उनीहरु कष्टकर जीवन बिताइरहेका छन् । खाने अन्न छैन । खोले खाएर सुत्केरी र बालबालिका बाँचिरहेका छन् । परिवारका अभिभावक धेरैजसो भोकै बस्ने बाध्यतामा छन् । खानेपानी नभएकाले थोरै पानीले पुर्याउनु पर्छ । कसैको घरमा खाट छैन । ओड्ने ओछ्याउने पनि केही छैन । 

स्वास्थ्य चौकी नभएर औषधी उपचार गराउन सकेका छैनन् ।  विद्यालय अभावमा ३६ घर चेपाङबस्तीका कसैले पनि कक्षा १० पास गर्न नकसेकोले चेपाङबस्ती गाउँ पछाडी परेको सामाजिक अगुवाको रुपमा चिनिएका प्रेमबहादुर चेपाङले बताउनुभयो ।गाउँ टाढा र ठाडो उकालो भएकोले जो कोही हत्तपत्त गाउँमा पुग्दैनन् । स्थानीय तहको चुनावको समयमा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेद्वारले गाउँ पुगेर चुनावको निम्तो दिएका थिए । मंसिरको चुनावका लागि अहिलेसम्म भोट माग्न कोहि पनि उनीहरुको दैलोमा पुगेका छेनन् । गाउँको समस्या यस्तै छ । यहि गाउँमा बसेर छोराछोरीको लागि केही गर्न नसकिएकोले गाउँको बस्ती स्थानान्तरण गर्ने र ज्याला गरेर भए पनि पेटभरी खान पाउने व्यवस्था ल्याइदिनेलाई भोट दिने गाउँकी अगुवा महिला सूर्यमाया चेपाङको भनाइ छ । गाउँको विकासका लागि काम गर्न बचन दिनेलाई मात्र भोट हाल्ने गाउँका अगुवा पञ्चायतकालका वडा अध्यक्षसमेत रहेका वृद्ध टेकबहादुर चेपाङले गाउँलेको तर्फबाट फैसला सुनाउनुभयो । ‘शहरमा रक्सी खानेलाई होइन गाउँका लागि काम गर्नेलाई दिने हो भोट’ उहाँले गाउँबासी सबैको एउटै भनाइ रहेको दावी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया