MENU

राजनीति

Ncell Axiata
sagun

मनाङका ५ मतदानस्थल अति संवेदनशील सूचिमा, चुनावका बेला हेलिकप्टर प्रयोग हुनसक्ने

श्यामशितल परियार/उज्यालो ।       

लमजुङ कात्तिक २७ – मनाङका ५ मतदानस्थल अति संवेदनशील सूचिमा राखिएको छ । सुरक्षा समिति मनाङका अनुसार मनाङस्थित नार फू गाउँपालिकाका ५ वटा मतदानस्थललाई अति संवदेनशील सूचिमा राखिएको हो ।

मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार मतदानको समयमा हिमपात हुनसक्ने, भौगोलिक दृष्टिले निकै टाढा र बढी उचाईमा रहेकाले ‘हाई अल्टिच्युड’को समस्या हुन सक्ने भन्दै नार गाउँमा ३ र फू गाउँमा रहेको २ मतदानस्थललाई अतिसंवदेनशील सूचिमा राखिएको हो । 

अतिसंवेदनशील सूचिमा राखिएको मतदान स्थल हिँडेर पुग्न सदरमुकाम चामेबाट दुई दिन लाग्छ । ‘नार फू गाउँपालिका यहाँका ४ गाउँपालिकामध्ये तुलनात्मक रुपमा निकै विकट गाउँपालिका हो’ प्रमुख जिल्ला अधिकारी पन्तले भन्नुभयो ‘चुनावका बेला नार फूमा कुनै पनि बेला हेलिकप्टर प्रयोग गर्नुपर्ने हुन्छ ।’

मनाङमा चामे, नासोङ, नेस्याङ र नार फू गरी चार गाउँपालिका रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको मनाङमा चामे गाउँपालिका र नासोङ गाउँपालिका प्रदेशसभा ‘क’ मा पर्छ । नेस्याङ र नार फू गाउँपालिका प्रदेशसभा ‘ख’ मा पर्छ । 

पाँच हजार भन्दा बढी मतदाता रहेको मनाङमा आउँदो मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा छ सय ५० जना सुरक्षाकर्मी परिचालन हुनेछन् । प्रहरीका अनुसार नेपाली सेना १ सय ३०, नेपाल प्रहरी २ सय १८, सशस्त्र प्रहरी १ सय २०, र म्यादी प्रहरी १ सय ८८ जना गरी ६ सय ५६ जना सुरक्षाकर्मी चुनावमा खटिदैँ छन् । यहाँ कूल मतदाता संख्या पाँच हजार आठ सय ८१ रहेको छ । 

मनाङमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट टेकबहादुर गुरुङ चुनावी मैदानमा हुनुहुन्छ भने वाम गठबन्धनका तर्फबाट पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । यसैगरी प्रदेशसभा ‘क’ मा कांग्रेसका चिन्तबहादुर घले र वाम गठबन्धनका दोर्जे डेण्डुल गुरुङबिच चुनावी प्रतिस्पर्धा हुनेछ । 

यसैगरी प्रदेशसभा ‘ख’ मा  एमालेबाट आधिकारिक रुपमा टिकट पाएकी खण्डा लामाले उम्मेदवारी फिर्ता लिएसंगै स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजिव गुरुङ र कांग्रेसका कर्म गुरुङबिच चुनावी प्रतिस्पर्धा हुनेछ ।    

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया