MENU

राजनीति

Ncell Axiata
sagun

वाम गठबन्धन भत्काउन विदेशी चलखेल : नेपाल

काठमाडौं, कात्तिक २७ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धन भत्काउन विदेशीले चलखेल गरिरहेको बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर २ को थलीमा सोमबार आयोजित वाम गठबन्धनको संयुक्त चुनाव तयारी भेलामा नेता नेपालले एमाले र माओवादी केन्द्रबिचको एकता प्रक्रिया टुटाउन विदेशीहरुले चलखेल गरिरहेको दाबी गर्नुभएको हो ।

‘५ वर्ष वामपन्थीको नेतृत्वमा स्थीर सरकार बन्ने र त्यसले देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित जस्तो देखिएपछि अहिले विदेशी शक्तिहरु दैनिक गठबन्धन टुटाउन सक्रिय देखिएका छन्’ नेपालले भन्नुभयो, ‘तर हामी सबै चलखेल परास्त गरेर चुनाव सकिएलगत्तै एकीककरण प्रक्रियालाई पूर्णता दिन्छौं ।’ 

वामपन्थी एकताबाट अत्तालिएको कांग्रेसले गोयबल्स शैलीमा अधिनयाकवाद आउने भ्रमपूर्ण प्रचार गरिरहेको बताउँदै नेपालले आक्रमक बनेर प्रतिवाद गर्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो । ‘आफ्नै बहुमतको सरकार चलाउन नसक्ने कांग्रेसले देशलाई स्थिरतातर्फ लैजाने वामपन्थीहरुको एकताबाट अधिनायकवाद आउने बेतुकको हल्ला चलाउनुको कुनै अर्थ छैन’ उहाँले भन्नुभयो ।

भेलामा माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपाने, पोलिटब्यूरो सदस्य प्रकाश गौतम, गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवारद्धय सानुकुमार श्रेष्ठ र मणिराम फुयाँलले राजनीतिक स्थिरताका लागि वाम गठबन्धनलाई जिताउनका लागि क्रियाशील हुन कार्यकर्ताहरुलाई आह्वान गरे । भेलालाई शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, निर्वाचन परिचालन कमिटीकी संयोजक सरिता न्यौपानेलगायतले सम्बोधन गरेका थिए ।

नेपालको क्षेत्रमा २ हजार २ सय २२ सदस्यीय प्रचार कमिटी

सोमबारको भेलाले काठमाडौं २ मा २ हजार २ सय २२ सदस्यीय संयुक्त चुनाव प्रचार कमिटि गठन गरेको छ । कमिटिमा प्रतिनिधिसभामा एमालेका तर्फबाट समानुपातिकतर्फकी उम्मेदवार सरिता न्यौपाने संयोजक तथा माओवादी केन्द्रका नेता प्रकाश गौतम इन्चार्ज हुनुहुन्छ । सन् २०२२ सम्मका लागि नेपालसहितका उम्मेदवारलाई जिताउने संकल्पसहित त्यही संख्यामा संयुक्त चुनाव प्रचार कमिटि गठन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले बताउनुभयो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया