MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

मंसिर १४ गतेदेखि बाघ गणना गरिने

चितवन, कात्तिक २८ – आउँदो मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने भएको छ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्यापिङ’ पद्धतिद्वारा बाघ गणना गरिने भएको हो । झण्डै दुई हजार अत्याधुनिक प्रविधिका क्यामरा जडान गरी क्यामराले कैद गरेका तस्बिरको अध्ययन गरेर बाघ गणना गरिने उहाँले बताउनुभयो ।

पर्सा वन्यजन्तु आरक्षबाट गणना सुरु गरी चितवन हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुगेर झण्डै तीन महिनाको अवधिमा बाघ गणना सम्पन्न गरिने छ । 

बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने महानिर्देशक खड्काले जानकारी दिनुभयो । नेपाल र भारतका सीमा क्षेत्रमा रहेका बाघ नदोहोरिने गरी गणना गरिने छ ।

महानिर्देशक खड्काका अनुसार बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने गर्छ । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो बासस्थान बनाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्दा बाघको संख्या नदोहोरिने खड्काले बताउनुभयो ।

यसअघि पनि दुवै देशमा एकैसाथ बाघको गणना गरिएको थियो तर प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलो पटक हो । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षसँगै भारतको वाल्मीकि टाइगर रिजर्ब छ । 

नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरी पर्छ । त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग भारतको दुधुवा टाइगर रिजर्ब जोडिएको छ । दुवै देशको निकुञ्ज, आरक्ष र वन क्षेत्रमा बाघ ओहोरदोहोर गर्ने हुँदा के कति बाघ ओहोरदोहोर गर्छन् भन्ने यकिन गर्न पनि यस पटक दुवैतर्फ एकैपटक बाघ गणना गर्न लागिएको हो ।

यसअघि नोभेम्बर दोस्रो हप्तादेखि बाघ गणना थालिने भनिए पनि चुनावका कारण टुंगो लाग्न सकेको थिएन । सरोकारवालाको बैठकले चुनावको दिनबाहेक अरु अन्य दिनमा काममा अवरोध नहुने देखिएपछि निर्वाचन अघि नै गणना सुरु गर्न लागिएको हो । 

महानिर्देशक खड्काले चुनावको दिनमा पनि क्यामरा जडान गरेर चुनावमामा सहभागी हुन जान सकिने भएकाले गणनालाई नरोकी अघि बढाउने निर्णय गरिएको बताउनुभयो । 

गणना कार्यमा विश्व वन्यजन्तु कोष, जेडएसएल, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, निकुञ्जअन्तर्गतका कर्मचारी, मध्यवर्तीका संरक्षणकर्मीलगायतको सहभागिता रहने छ । गणनाका लागि तीन करोड रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको छ । 

नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो । त्यो बेला देशभर बाघको संख्या १९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए । चितवन निकुञ्जबाहेक पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छ । पाटे बाघ विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । 

सन् २०१० मा बाघ पाइने विश्वका विभिन्न देशका सरकारी अधिकारीको रुसमा सम्पन्न बैठकले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पु¥याउने निर्णय गरेको थियो । जसअनुसार सन् २०२२ मा नेपालमा बाघको संख्या २५० पुग्नु पर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । 

पाटे बाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ । नेपाल, भारत, चीन, बंगलादेश, भुटान, बर्मा, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा हाल लगभग तीन हजार ९०० बाघ रहेको तथ्यांक छ । 

क्यामेरा ट्र्यापिङ पद्धतिमार्फत बाघको संख्या यकिन गर्ने गरिन्छ । बाघ ओहोरदोहोर गर्ने सम्भावित ठाउँमा स्वचालित क्यामेरा राखिन्छ । बाघ जहाँबाट हिँडडुल गर्छ त्यो क्षेत्रमा दुईतर्फ क्यामेरा राखिन्छ । त्यो क्यामेराको अगाडिबाट बाघलगायत जो गए पनि स्वचालितरुपमा फोटो खिचिन्छ । 

निश्चित समयपछि क्यामेराको फोटो झिकेर विश्लेषण गर्ने काम हुन्छ । बाघको छालाको पाटा मान्छेको औँला छापजस्तो एकअर्कासँग मिल्दैन । त्यसैले फोटोमा छालाको पाटा हेरेर संख्या अनुमान गरिने कँडेलले बताउनुभयो । 

पछिल्लो समय चोरी शिकारीमा भएको कमी, आहारा प्रजातिका वन्यजन्तुको संख्यामा भएको वृद्धि, वासस्थान व्यवस्थापनमा भएको सुधारका कारण बाघको संख्या बढ्दै गएको अनुमान छ । 

पर्यटक, गस्तीमा जाने सुरक्षाकर्मी, अनुगमनमा जाने निकुञ्ज कर्मचारीको भनाइका आधारमा संख्या बढेको अनुमान गरिएको कँडेलले बताउनुभयो । नेपालमा चार–चार वर्षमा बाघको गणना हुन्छ । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया