MENU

समाज

Ncell Axiata
sagun

डोटीमा लामो समयदेखि स्वास्थ्यकर्मी अभाव

विमल विष्ट/उज्यालो । 

डोटी, कात्तिक २८ – डोटीमा लामो समयदेखि स्वास्थ्यकर्मीको अभाव रहेको छ । जिल्लाको समग्र स्वास्थ्य क्षेत्रमा २० प्रतिशत कर्मचारी अभाव रहेको एक तथ्यांक सार्वजनिक गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा प्रशासनिक कर्मचारीतर्फ कूल ७८ जनाको स्वीकृत दरबन्दी रहेकोमा ४२ वटा दरबन्दी मात्रै परिपूर्ति गरिएकाले अहिले ३६ वटा दरबन्दी रिक्त रहेको छ । त्यस्तै प्राविधिक कर्मचारीतर्फ कूल ३ सय ३ वटा स्वीकृत दरबन्दी रहेकोमा २ सय ५५ वटा दरबन्दी मात्रै परिपूर्ति गरिएकाले अहिले ४८ वटा दरबन्दी रिक्त छन् । 

जिल्ला स्वास्थ्य कार्यालयमा चारजना एमबिबिएस डाक्टरको दरबन्दी रहेकोमा अहिले एक जनामात्रै डाक्टर कार्यरत छन् । तर एकजना छात्रवृत्ति करार र दुईजना एनएसआई नामक अमेरिकन संस्थाबाट गरी ४ जना डाक्टरले अहिले सेवा दिइरहेका छन् । जिल्लामा रहेका दुईवटा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक÷एक जना गरी जिल्लाभरमा ६ जना डाक्टरले सेवा मात्रै दिइरहेका छन् ।

जिल्ला स्वास्थ्यको तथ्यांक अनुसार जिल्लाभरिमा ५ जना डक्टरको दरबन्दी स्वीकृत भएता पनि दुई डक्टरको दरबन्दी रिक्त रहेको छ । त्यस्तै एच.ए. र सिनियर अहेवको स्वीकृत दरबन्दी संंख्या ५४ रहेकोमा ४३ वटा दरबन्दी मात्रै परिपूर्ति रहेकाले ११ वटा दरबन्दी रिक्त छन् ।

जिल्लामा अहेवको जम्मा १ सय ६ वटा स्वीकृत दरबन्दी रहेकोमा ८२ वटा दरबन्दी मात्रै परिपूर्ति रहेकाले २४ वटा दरबन्दी रिक्त छन् । अनमीको कूल दरबन्दी संख्या १ सय ८ वटा रहेकोमा एक सय वटा दरबन्दी परिपूर्ति गरिएकाले ८ वटा दरबन्दी रिक्त छन् । जिल्लाका २ मात्र प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा ल्याब टेक्निसियनको दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिषकुमार बिष्टले बताउनुभयो ।

भौगोलिक रुपमा कठिनाई रहेको डोटीमा कर्मचारी अभावले पनि चाहे अनुरुप स्वास्थ्य सेवा प्रवाहमा समस्या रहेको उहाँले बताउनुभयो । । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बालरोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ वा मेडिकल जनरल मध्ये एकजनाको दरबन्दी रहेको र मेडिकल सुपरिटेन्डेन्टको जिम्मा पनि तिनकै हुने भएता पनि दरबन्दी स्विकृत भए यता कहिल्यै पूर्ति भएको छैन । नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा जिल्लाहरुको ‘न्यूनतम सेवा मापदण्ड’ मूल्यांकन गर्दा डोटीले जनशक्ति अभावकै कारण १० अंक प्राप्त गर्न सकेको छैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया