MENU

राजनीति

Ncell Axiata
sagun

गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले समय दिन नसक्दा चुनावी सुरक्षामा चुनौती

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, कात्तिक २८ – नेकपा एमालेका प्रदेशसभा उम्मेदवार शेरधन राईलाई लक्षित मंगलबार भोजपुरमा आक्रमण भयो । राई चढेको गाडीलाई लक्षित गरेर अपरिचित व्यक्तिले हानेको बमले उहाँका अंगरक्षक घाइते भए । 

माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर रुकुममा कात्तिक २४ गते बम प्रहार भयो । पश्चिम रूकुमका प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मा चढेको गाडीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८ सिम्लेमा दुई वटा बम प्रहार गरिएको थियो । तर क्षति भने हुन पाएन ।  

शर्मालाई लक्षित गरेर आक्रमण गरेको २४ घण्टा बिन्न नपाउँदै कात्तिक २५ गते माओवादी केन्द्रकै अर्का नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा पर्‍यो । रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको थियो । गाडीमा सामान्य क्षति हुन बाहेक अन्य घटना भएन । पुनको दवावमा आफ्ना जिल्ला सेक्रेटरी सन्तोष सुवेदी र इन्चार्ज दलबहादुर खत्रीलाई प्रहरीले पक्रेको भन्दै नेकपाका कार्यकर्ता आक्रोशित थिए ।

त्यसको भोलिपल्टै कात्तिक २६ गते पुनलाई नै लक्षित गरी रोल्पामा फेरि गोली प्रहार भयो ।  दुई खोली गाउँपालिकाको बाघमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रमम केवरी खोलाको जंगलमा दिउँसो अपरिचित व्यक्तिको समूहले गोली हानेको थियो । पुनका सुरक्षाकर्मीले १० राउण्ड जवाफी फायरिङ गरेका थिए । 

कात्तिक २७ गते नेपाल कम्युनिष्ट पार्टीले खोटाङले चार जनाको जग्गा कब्जाको घोषणा गरेको छ । प्रदेशसभा (क) का कांग्रेस उम्मेदवार सुवास पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, राप्रपा नेता चन्द्रसिं बस्नेत र उनका छोरा गिरीराज बस्नेतको घरजग्गा कब्जा गरेको घोषणा गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले घर छेउमा झण्डा गाडेर घर र जग्गा कब्जा गरेको जनाएको छ । 

यसरी प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिँदै एकपछि अर्को गर्दै जाँदा सुरक्षा थ्रेट बढ्दै गएको छ । चुनावका लागि मनोनयन दर्ता भएसँगै उम्मेदवारहरुलाई लक्षित गरेर आक्रमणका प्रयासहरु हुँदै आएका छन् । खासगरी माओवादी केन्द्रका उम्मेदवाहरुमाथि पटक पटक आक्रमण हुन थालेका छन् । 

अर्कोतर्फ उम्मेदवारसँगै सामाजिक सुरक्षामा समेत चुनौती थपिएको छ । सुरक्षाकर्मीहरु चुनावी सुरक्षामा खटिँदा सामाजिक सुरक्षा कमजोर हुन थालेको सुरक्षा विज्ञले बताउन थालेका छन् । काठमाडौं उपत्यकाभित्रै ट्याक्सी चालकको ट्याक्सीभित्रै हत्या हुनु, भारतीय नागरिक हतियारसहित काठमाडौं र पोखराबाट पक्राउ हुनुलगायतका घटनाले सुरक्षा चुनौती बढ्दै गएको प्रष्ट हुन्छ । 

सुरक्षा चुनौती बढ्नुको मुख्य कारण गृहमन्त्रालय नेतृत्व विहिन हुन हो । गृहमन्त्रालयका अधिकारीका अनुसार सुरक्षा थ्रेट बढ्दै जानुमा प्रधानमन्त्रीले गृहसहित ६ मन्त्रालय सम्हाल्दाको परिणाम भएको बताउँछन् । 

गृहमन्त्री जनार्दन शर्मासहित माओवादी केन्द्रका मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले केही हप्ताअघि जिम्मेवार विहिन बनाएपछि शेरबहादुर देउवाले ६ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । प्रधानमन्त्री देउवाले अहिले पशुपक्षी विकास, गृह, परराष्ट्र, सामान्य प्रशासन, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

एकै व्यक्तिले यति धेरै मन्त्रालय सम्हाल्दा सुरक्षा चुनौती थपिएको गृहका एक व्यक्तिले बताउनुभयो । देश चुनावमा होमिएका बेला प्रधानमन्त्री देउवा स्वयम पनि उम्मेदवार हुनुहुन्छ । आफ्नो चुनावी अभियानको व्यस्तता, दैनिकका काम कारबाहीलगायतको कारणले प्रधानमन्त्री व्यस्त रहँदा उहाँले सुरक्षाका लागि आवश्यक चाँजोपाँचो मिलाउनु सक्नु भएको छ ।  मनोनयन दर्ताको दिन व्यस्तताका कारण वारेस पठाएर मनोनयन दर्ता गराएका देउवाले मन्त्रालयहरुलाई पर्याप्त समय दिन सक्नुभएको छैन । 

चुनावमा उम्मेदवार भएकाले चुनावी प्रचारप्रसारमा व्यस्त हुनु पर्ने, पार्टी सभापतिको हैसियतमा पनि पार्टीको आन्तरिक छलफल र उहाँकै नेतृत्वमा कांग्रेस चुनावमा गएका देउवा थप व्यस्त हुनुहुन्छ । यति व्यस्थताका बाबजुद गृह मन्त्रालयले प्रधानमन्त्री देउवाको समय पाउनै मुस्किल छ ।प्रधानमन्त्रीको व्यस्थताका कारण गृह मन्त्रालयको अनुगमन र निर्देशन गर्न नसक्दा सुरक्षा चुनौती थपिँदै गएको गृहका कर्मचारी बताउँछन् । 

‘यति बेला गृहमन्त्री चुनावी सुरक्षामा समर्पित हुने बेला हो । गृह प्रशासनले पनि बारम्बार उहाँलाई यसबारेमा सुझाइरहेको छ । तर उहाँ आफ्ना दैनिक काममै व्यस्त रहेको बताउनुहुन्छ’ एक अधिकारीले भने ‘जसको परिणमा अहिले धमाधम उम्मेदवारमाथि आक्रमण हुन थालेका छन् ।’ केही दिनअघि मात्रै गृह सचिव मोहनकृष्ण सापकोटा महत्वपूर्ण फइल बोकेर गृहमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण यो फाइलमाथिको निर्णय गर्नसमेत ढिला भएको थियो ।

चुनावको बेला कतिपय अवस्थामा गृहमन्त्रीको आदेश आवश्यक हुन्छ । तर गृहमन्त्री उपलब्ध नहुँदा समस्या हुने गरेको छ ।  गृहमन्त्रीको आदेशको पर्खाइमा अर्को घटना नहोला भन्न सकिन्न । 

चुनावी सुरक्षालाई मध्यनजर गर्दै सरकारले हरेक प्रदेशमा सुरक्षा बैठक बसेको छ । प्रदेश सुरक्षा बैठकमा गृहमन्त्री अनिवार्य उपस्थित हुनु पर्ने हुन्छ । जनकपुरमा भएको पहिलो प्रदेश सुरक्षा बैठकमा प्रधानमन्त्री देउवा उपस्थित हुनभयो । तर पोखरामा गएको शुक्रबार भएको प्रदेश सुरक्षा बैठकमा उहाँ उपस्थित हुनुभएन । अहिले गृहमन्त्री विहिनको सुरक्षा बैठक बसिरहेको छ । 

कात्तिक २८ गते नेपालगञ्ज, २९ गते धनगढी र मंसिर १ गते विराटनगर र धुलिखेलमा प्रदेश सुरक्षा बैठक हुँदैछ । जसमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवा उपस्थित हुने नहुने निश्चित छैन । गृहमन्त्री बिनै बनेको सुरक्षा रणनीतिका बारेमा गृहमन्त्रीलाई थाहा नहुने र पूर्ण जानकारी नभएका कारण निर्देशन दिन समेत गाह्रो हुने गरेको छ ।

पछिल्लो समय देखा परेका साना हतियार, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनावी खारेज अभियान, लिम्बुवान, खुम्बुवान मोर्चाका कारण चुनावको सुरक्षामा चुनौती बढेको नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल बताउनुहुन्छ । तर गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी यसलाई सुरक्षा थ्रेट मान्न तयार हुनुहुन्छ । अहिलेसम्म अप्रिय घटना नभएकाले सुरक्षा थ्रेट नभएको उहाँको तर्क छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया