MENU

राजनीति

Ncell Axiata
sagun

आर्थिक चलखेलमा टिकट दिएको भन्दै देउवाविरुद्ध कार्यकर्ता आक्रोशित

नेपालगञ्ज, कात्तिक २८ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई बाँकेका अगुवा नेता कार्यकर्ताले आर्थिक चलखेलमा टिकट दिइएको भन्दै असन्तुष्टी जनाएका छन् ।

नेपालगञ्जमा मंगलबार भएको कार्यकर्ता भेलामा निवर्तमान सांसद भोला सिद्धिकीले  टिकट वितरणमा पूर्व सभापति स्व. सुशील कोइरालाको निर्वाचन क्षेत्र राप्रपालाई दिइएको भन्दै किन अपहेलित गरिएको भन्ने प्रश्न गर्नुभयो ।  

जिल्ला सभापति किरण कोइरालाको नाम समानुपातिकका किन राखिएन भन्दै सिद्धिकीले कांग्रेस वाम गठबन्धनका कारण नभई आफ्नै कारण हार्ने चेतावनी दिनुभयो । पुराना नेता हरिभक्त उप्रेतीले पैसाको चलखेलमा एक क्षेत्रको नेतालाई अर्को क्षेत्रमा टिकट दिइएको भन्दै  नेता किशोरसिंह राठौरलाई कारवाहीको माग गर्नुभयो । अर्का पाका नेता सोमबहादुर थापाले मनोमानी ढंगले टिकट बितरण भएको दावी गर्नुभयो । 

पार्टी कार्यालयमा मात्रै देउवाले कार्यकर्ताको गुनासो सुन्नुपरेको होइन । विमानस्थलमा पनि बिहान जिल्ला सभापति किरण कोइरालाले देउवासँग भेटेर कुराकानी गर्न मान्नुभएन । 

मंगलबार नेपालगञ्ज आउँदा स्वागतका लागि बाँके जिल्ला सभापति किरण कोइराला पनि विमानस्थल पुग्नुभएको थियो । विमानस्थलमा ओर्लेपछि कोइरालाले स्वागतमा खादा लगाउनुभयो । लगत्तै प्रधानमन्त्री देउवाले आन्तरिक कुरा गर्नुछ छ भन्नुभयो । तर कोइरालाले पार्टी सभापति जिल्लामा आउँदा स्वागत गर्न आएकी हँु तपाईसँग कुनै आन्तरिक कुरा छैन भनेर भेट्न मान्नुभएन । प्रधानमन्त्री देउवा विमानस्थलमा ओर्लेर अति बिशिष्ट कक्षमा पुग्दा जिल्ला सभापति कोइरालालाई पनि बोलाइयो । तर उहाँ अति बिशिष्ट कक्षमा जान मान्नुभएन ।  जिल्लास्तरका नेता बोलाउन आएपछि कोइराला भित्र नगएपछि अन्त्यमा मन्त्री सञ्जय गौतम आउँदा पनि कोइराला देउवासँग छलफलका लागि जान मान्नुभएन ।  निर्वाचित जिल्ला सभापति कोइराला समानुपातिकको सुचीमा समेत नपरेपछि कोइरालासँगै बाँकेका कोइरालापक्षधर नेता कार्यकर्ता असन्तुष्ट रहेका छन् । 

कार्यकर्ता गुनासो सुनेपछि सभापति देउवाले टिकट वितरणमा कसैमाथि अन्याय भएको हुन सक्ने बताउँदै अब चुनावमा एकढिक्का भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘किरणजीको नाम समानुपातिकका थियो’ छेउमै बसेकी जिल्ला सभापति किरण कोइरालालाई हेर्दै सभापति देउवाले भन्नुभयो, ‘कसले पछि काटिदियो थाहै भएन ।’ 

कांग्रेस हारे लोकतन्त्र पनि हार्ने भन्दै देउवाले यो चुनाव कांग्रेसले जित्नैपर्ने दावी गर्नुभयो ।  कांग्रेस बाहेक कोही पनि लोकतन्त्रवादी हुन सक्दैन भन्दै देउवाले कम्युनिष्टले लोकतन्त्रको कुरा गरेपनि चुनाव जितेपछि एकदलीय तानाशाह नै ल्याउने बताउनुभयो ।  कम्युनिष्टहरु लोकतन्त्रवादी हुन नसक्ने भन्दै देउवाले वाम गठबन्धनले लोकतन्त्रमा खतरा आइसकेको टिप्पणी गर्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया