MENU

राजनीति

ujyaalo forign call inside

रोल्पामा चुनावी सुरक्षाका लागि चुनौती बढ्दो

माधवकुमार ओली/उज्यालो । 

रोल्पा, कात्तिक २९ – पहिलो चरणमा चुनाव हुने रोल्पामा चुनावी सुरक्षामा चुनौती देखिएको छ । स्थानीय तहको चुनावमा रोल्पा नगरपालिका–१० भनभने मतदान केन्द्रमा मतपत्रमा एसिड छर्केर मतदान गर्नु, जिल्लाका त्रिवेणी, रुन्टीगढी लगायतका ठाउँमा युवाहरुबिच झडप हुने जस्ता घटना भएका थिए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि प्रचारमा हिँडेका माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन चढेको गाडीमा माडी गाउँपालिका–१ ओतको जंगलमा माइन बिस्फोट गराउनु र दुईखाली गाउँपालिका–३ केवरी खोलामा नचिनेका मानिसको समूहले गोली प्रहार गर्नु, चुनाव बहिष्कारमा लागेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को गृह जिल्ला हुनुले पनि रोल्पाको शान्ति सुरक्षामा चुनौती देखिएको हो । 

फोन सेवा र मोटर बाटो नपुग्ने गाउँमा रहेका मतदान केन्द्रहरुमा थप सुरक्षा चुनौती देखिएको मानव अधिकारकर्मी घनश्याम आचार्यले बताउनुभयो । त्यस्ता मतदान केन्द्रमा सुरक्षा स्थिति कडा बनाउनुपर्ने समेत आचार्यको भनाई छ ।

चुनाव खारेजीका लागि विभिन्न गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ र सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपाले कात्तिक २७ गते रोल्पा बन्द गरेको थियो । बन्दकै दिन नेकपाका जिल्ला सदस्य धनबहादुर खत्री ‘टाइगर’ लाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आफ्ना जिल्ला नेताहरु धमाधम पक्राउ पर्न थालेपछि आक्रोशित नेकपाका कार्यकर्ताबाट थप घटना हुन सक्ने खतरा देखिएको छ । यसले मतदातामा आशंका र त्रास बढाएको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जिल्लाको सुरक्षा चुनौतीलाई ध्यान दिएर म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई चुनावमा परिचालन गर्न सुरक्षा योजना बनाइएको बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया