MENU

साहित्य/ कला

ujyaalo forign call inside

सहयात्रा (कथा)

-शिव अर्याल

अन्ततः उसले आफ्नो मनको उकुसमुकुस प्रभा दिदी समक्ष पोख्ने निधो गरी ।

प्रभा उसकी सहोदर दिदी त हैनन् तर गाह्रो साह्रो परेको बखत दिल खोलेर तयार हुन्छिन् सहयोग गर्न । उनका वैचारीक अर्तिहरु बिगतमा उपयोगी सावित भएका छन् । त्यसैले उसलाई यो पटक पनि उनैको शरणमा पर्न मन लागेको छ ।

ऊ बुटवलमा नेपाली विषय लिएर स्नातक पढ्दै छे, दाजु  भाउजूसँगै बसेर । बा आमा र सानी बहिनी अर्घाखाची घरमै छन् । दाजुको सानोतिनो जागिर र मनकारी भाउजु हुनाले उसले एस एल सी परीक्षा तयारी मिति देखि नै विकसित र विस्तारित बुटबलमा आफ्नो ज्ञानभण्डार बढाउने मौका पाइरहेकी छ । दाजुले आफूलाइ प्रदान गरेको जस्तै अभिभावकीय छहारी भविष्यमा बहिनीलाई पनि दिन मन छ उसलाई ।

उमेरले चालीस कटेकी प्रभा दिदी हाल नवलपरासी  कावासोतीमा सानोतिनो होटल चलाउंछिन् । केही वर्ष अघि सम्म बुटवलमै थियो उनको व्यवसाय । उनको व्यवस्थापकीय कौशलले आकर्षक नाफा गरेको होटलमा अचानक अरु कसैको गिद्दे नजर पर्यो, षडयन्त्र रचेर घरधनीले भाडा बढायो अचाक्ली, उनको चित्त कुँडियो । र, माइती नजिकै कावासोतीमा होटल सारिन उनले । बुटवल जस्तो फैलिएको ठाउँ त हैन कावासोति तर यसले उनको सीप र कौशललाइ खुम्च्याउन सकेको छैन । छोराछोरीलाइ बोर्डिङ्ग स्कुल पढाउन र बिरामी लोग्नेको ओखतीमुलो गर्न होटलको अहिलेको  आयस्ताले पुगेकै छ । ठुलो आकांक्षा नपालेपछि आधारभूत मानवीय आवश्यकता पुरा गर्न सानोतिनो व्यवसाय नै पनि पर्याप्त हुने अनुभव छ उनको ।

*****

बसबाट कावासोतीमा झरेपछि प्रभा दिदीको लागि फलफुल किनेर हिँड्नै लाग्दा पछिल्तिरबाट कसैले उसको दुवै आँखा छोपिदियो । ऊ आश्चर्यमा परी । त्यो ठाउँमा उसको चिनारु त प्रभा मात्रै थिईन तर त्यो त जागिरे ग्राहकलाई खाना खुवाउने व्यस्त समय थियो । एकैछिनको संघर्षपछि उसले हात छुटाउन सफल भई, र संजिव प्रधानको चर्चित गीत सुनी । 

“देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको, आउंछ अझै झझल्को ।”

 हँसिलो चेहराका साथ गीत गाउने उनै प्रभा दिदी थिइन् ।

“देउरालीका चौतारीहरु गाउंले मोटरबाटोले ध्वस्त पार्दैछ, कसरी गाउँछ्यौ अब यस्ता गीतहरु ? ”

 उसले हल्का रिस मिश्रीत व्यङग्य कसी ।

 “संगिनीहरु त छन् नि, मन मिलेपछि जहां पनि रच्न सकिन्छ देउराली र चौतारी ।”

“तिम्रा संगिनीहरु पनि त लर्को लागेर शहर पस्दैछन नि ।”

“छोडिदेउ यि कुरा, स्वर सुरिलो भएपछि पाखापखेराहरु यतै पनि सार्न सकिन्छ ।”

एकैछिनमा होटलमा आइपुगे उनिहरु जहाँ प्रभाकी बहिनीले पाहुनाहरुलाइ खाना खुवाइरहेकी थिई ।

करिब एक घण्टापछि होटलमा पाहुनाको चाप खुकुलो भयो । उनिहरुले पनि खाना खाइ भ्याए ।

बहिनीलाइ होटलमै छोडेर प्रभाले उसलाइ माथिल्लो तलामा रहेको आफ्नो शयनकक्षमा लिएर गइन् । लामो समयपछि प्रभासँग भेट भएकी ऊ रमाइलो महसुस गरिरहेकी थिइ । प्रभा पनि एकनासे दिनचर्याभन्दा फरक माहोल पाएर मख्ख थिइन् ।

“पवनको हालखबर के छ नी ?  अझै सम्पर्कमा छन उनी तपाईसँग ? ” कुरा उसैले शुरु गरी ।

“हामीलाई बिर्सेका छैनन् उनले । हप्ता, दश दिनको अन्तरमा फोन गर्छन्  । यतातिर आउदा यहाँ पस्न बिर्सन्नन् ।”

“सहृदयी छन् उनी ,” उसले थपी ।

उसले पवनको कुरो अलि गम्भिर पाराले उठाएकी थिई । प्रभा दिदी केहिबेर घोरिइन् ।

“पवनको कुरा अलि फरक ढंगले उठाएकी छौ नि आज, के भो ?”

“आजकल उनी अलि बढि नै मेरो सपनामा आइरहन्छन् । तर केही पनि बोल्दैनन, मुसुक्क हाँस्दै बिदा हुन्छन् एकैछिनमा । यसरी उनको अवाइमा केही अर्थ भएजस्तो लाग्छ ।”

‘सिधा भन न ।’

“आइन्दा उनलाई सपनामा नआउने बनाउन मन छ मलाई । उनको फरासिलो बोली, भद्रपन र  सहयोगी व्यवहार बिर्सन सकेकी छैन । उनमा विद्यमान निश्कलंक व्यक्तित्वले उनी नजिक पुर्याइरहन्छ  मलाई ।”

“अघि बढिसकिछौ, तर तिमीले उनलाई थप बुझ्न जरुरी छ ।”

“हो उनी भावनामा मात्रै बग्न रुचाउन्नन् । उनि सम्म पुग्ने पुल तपाईं बनिदिनुहुन्छ कि भनेर आएकी हुँ म यहाँ ।”

“म कोशीस गरौँला ।”

*****

पवन अहिले हेटौंडामा एउटा बोर्डिङ्ग स्कुलमा पढाउछ । भर्खर प्रथम श्रेणीमा बिबिएस पास गरेको कर्मठ र जुझारु ठिटो हो ऊ । विषयगत दक्षता, आकर्षक जीउडाल र काममा फुर्तिलोपन उसका थप विशेषता हुन् ।

करिब ३ वर्ष अघिसम्म ऊ बुटवलमा एउटा निजी बैंकमा काम गर्थ्ये । कर्मचारीको तलब सरकारी स्केल सरह हुनुपर्ने मागका साथ सञ्चालित कर्मचारी आन्दोलनले उसलाई  डुबायो । त्यसदिन बैंक गेट अगाडि कालो तुल टांग्ने काममा तल्लीन थियो  आन्दोलित समूह । प्रबन्धक शारदालक्ष्मी बैंक छिर्नलाग्दा आन्दोलित समुहसंग जम्काभेट भयो । उनले नाइके पवनलाई भीडदेखि अलिपर एकान्तमा बोलाइन र बैंकको छवि नबिगारी विरोध कार्यक्रम फिर्ता लिन सुझाइन् । पवन यो मान्नेवाला थिएन । उसले भन्यो “ हाम्रो माग जायज छ । तर तपाईहरुले बिनासर्त हाम्रो आन्दोलन फिर्ता लिन दबाब दिनुभएको छ । थोरैमात्रै पनि हाम्रा मागहरुको सुनुवाई नभई हामी कसरी रोकिने ?”

बेरोजगारी ब्याप्त रहेको समयमा रोजगारी पाउनु नै ठुलो कुरो भएको जिकिर गरिन् प्रबन्धकले ।

“राणाकालीन सामन्ती कुरो पो गर्नु भो म्याडम । हाम्रो कमजोर आर्थिक हैसियतको गलत अर्थ लगाउने तपाईंले? तपाईंले बैंकिङ्ग व्यवसाय शुरु गरेलगत्तै नयाँको भर नहुने भन्दै सबै निक्षेपकर्ताले निक्षेप रकम फिर्ता लगेको भए के हाल हुन्थ्यो तपाईको ? बाच्नको लागि हरेक प्राणी एक अर्कामा निर्भर छन् भन्ने तथ्य बुझ पचाउन मिल्छ ? ” पवन रन्कियो ।

प्रबन्धक शारदालक्ष्मी केहि नबोली आफ्नो कार्यकक्षमा पसिन् ।

अरु थप दुईदिन हातमा कालोपट्टि बाँधेर आफ्नो असन्तोष जनाए कर्मचारीहरुले । तर उनीहरुभन्दा बैंक व्यवस्थापन बलियो भयो । र, बैंक नीति विरुद्द काम गरेको भन्दै पवन सहितका आन्दोलित कर्मचारीहरु बर्खास्तगीमा परे । त्यो दुर्भाग्यको बेलुका पवनले प्रभा र उसँग  आफ्नो दुखेसो पोख्यो । उनिहरुले पनि निन्याउरो अनुहार बनाए । तर अफ्ठेरो सँग मुकाबिला गर्न बल दिए । निर्दोष भएर पनि दोषी हुन अभिशप्त पवनको दयनीय अवस्थाले उसलाई व्यथित बनायो । कुराको बीट मार्दै पवनले भन्यो “ समाजमा व्याप्त वर्गसंघर्ष आज प्रत्यक्ष भोगियो । मेरो कदमका बारेमा मलाई कुनै पछुतो छैन । मेरो क्षमतामा म विश्वस्त छु । दक्षताको कदर हुने ठाउँहरु अरु पनि छन् ।” पवनको हक्की, निडर स्वभाव र बाहिरी परिबेशको ज्ञानले ऊ थप प्रभावित भई ।

धेरैतिर चहारेपछि पवनले  हेटौंडामा एउटा बोर्डिङ्ग स्कुलमा मास्टरी शुरु गर्‍ये । यात्रामय यो जीवनमा अझै सहि मार्ग पहिल्याउन नसकेको ठान्ने ऊ आफै बिद्यार्थीहरुलाइ भने स्पष्ट मार्गचित्र देखाउन भनेर  चक र डस्टरसंग खेलिरहेको छ ।

पवन, प्रभा र उसको मिलनबिन्दु हो बुटवल । तीनै जनाको लागि सुखद संस्मरणहरु बटुलिदिएको छ त्यो ठाउंले, प्रभाको बसाइको आखिरीतिरको तिक्तता बाहेक । तर उनले बेइमानहरुलाई माफ गरिदिइसकिन् । पवनले पनि जागिरे व्यस्तताले उबेलाको व्यथा बिर्सिसक्यो ।

पवन बैंकमा काम गर्दैरहदा उसँग भेट भएको थियो प्रभाकै होटलमा, जहाँ उसले आफ्नो भान्साघर बनाएको थियो प्रभालाइ नगदी भान्से मानेर ।

ऊ भर्खर गाउँबाट बुटवल आएकी थिइ टेस्ट परिक्षा पास गरेर । एस एल सी को तयारीमा जुटेकी उसको दाजुको डेरा प्रभाको होटल नजिकै थियो । प्रभाको फरासिलो बोलीबचनले ऊ छिटै नै उनीतर्फ तानिई । भर्खर प्लस टु सकेको पवन पनि पढाइमा राम्रो थियो । एस एल सि को अनुभव उसलाइ ताजै थियो । होटलमा सँगै भएको बेलामा प्रभाले उनीहरुको परिचय गराइदिइन् । त्यसपछि फुर्सदको बेलामा जमघट हुनथाल्यो त्यहां । अनि केहि समयपछि उनिहरु  खुकुलो हुन थाले बोलीचालीमा । सकारात्मक सोचको पवनले आफूले जानेको कुरो बिना हिच्किचाहट उसलाई सिकाउंथ्यो । पढाईलेखाइका बीचमा व्यक्तिगत रुचि र व्यवहारका कुरा पनि हुन्थे ।

पवनसँगको भेटघाट उसलाई खास लाग्थ्यो, भावनात्मक रुपमा केही नजिकिएकी थिई ।

तर पवन प्रतिको आफनो भावना आफैमा सीमित पारेकी थिई । आफनो शारिरीक कमजोरीले उसलाई कुनै कुनै बेला हिनताबोध गराउंथ्यो । उसको एउटा खुटटो थोरै छोटो थियो । त्यसैले हिंडदा नजानिंदो गरि खोच्याउने गर्थी । जिस्किंदा ‘’डल्ली’ भन्न मिल्ने पनि थियो शरीर । यो अवस्था कहिलेकाही उसको आत्मविश्वासमा बाधक बन्थ्यो ।

*****

फागु पुर्णिमाको अघिल्लो दिन पवन आइपुग्यो कावासोती । प्रभाले नै निम्त्याएकी थिईन् उसलाई ।

“नमस्ते साहुनी आमै” ठटयौली माहोल बनाउन खोज्यो उसले । प्रभासँग आत्मीय भएकोले बढी नै खुल्छ ऊ ।

“लौ नमस्ते हलिदाइ ।”

“ म कसरी हलि ?”

“ आफनो स्वतन्त्र व्यवसाय नगरि अरुकहाँ काम गर्न जाने सबै हलि नै त हुन नि ।”

‘ बिद्यार्थीहरुको मार्गदर्शक कसरी हलि हुन्छ ? ”

“अहिलेका निजी स्कुलहरु कुनै नाफामुलक व्यवसाय भन्दा कम छन् र ? ”

“लौ तपाईंकै जीत भो ।”

प्रभाले प्रसंग बदल्दै कुरा शुरु गरिन्,

“केही हप्ता अघि आरती आएकी थिई । तिम्रो बारेमा पनि कुरा भएको थियो ।”

“ए हो ?  मज्जाले कटयो होला त्यो दिन, हैन र ? ”

“तिमीले ठान्छौ होला रसिला गफहरु मात्रै भए त्यसदिन । केहि गम्भीर कुराहरु पनि भए । आरती तिमीसंग जोडिन खोजेकी छ । तिमीलाइ मन पराउँछे ऊ । उसको नजरमा तिमी ‘फरासिलो, भद्र र  ‘सहयोगी’ रे ।”

प्रभाको कुराले पवनलाइ सोचमग्न बनायो—

अचेलका केटाकेटीहरु कलेजको पर्खाल छिरेदेखि नै मायाप्रेमलाई विभिन्न कोणबाट अर्थ्याउन थाल्छन्, हावामा महल बनाउँछन् । जीवनमा आइलाग्ने अफ्ठेरोको पूर्वानुमान गर्नै सक्दैनन् । अचानक एकदिन नियतीले यथार्थबोध गराउछ र कल्पना बाहिरको परिवेश देखापर्छ अनि रन्थनिन्छन् । यही कारणले कतिपयको एकबारको महत्वपूर्ण मानवचोला  बिग्रेको छ ।

“चिप्लो पिरतीमा रुमल्लीन फुर्सद छैन मलाइ अहिले ।’ ऊ अलि कडा सुनियो ।

“दुवैजना दिन उमेर पुगेकै छौ । जतिसुकै आदर्श र क्रान्तिकारी कुरा गरेपनि एक्लो जीवन त बाँच्न सक्दैनौ होला तिमी पनि । आफ्ना केही दृष्टिकोण, योजना भएदेखि खुलस्त भन्दा हुन्छ । आरती अबुझ छैन, तिमीले संगत नगरेका पनि हैनौ ।” प्रभाले पाको कुरो गरिन् ।

*****

बुटवलको हिल पार्कमा पवन आरतीलाई कुर्दैछ यद्यपी उसको शारीरिक हाउभाउले त्यो दर्शाउंदैन । शनिबारको दिन भएकोले केही दैनिक पत्रिकाहरु साहित्यमय बनेका छन् । ऊ तिनैमा निमग्न छ ।

प्रदिप गिरिको बिश्लेषण ‘बीपीको साहित्यशास्त्र’पढिसकेर टाउको उठाउँदा अलि पर आरती आउँदैगरेको उसले देख्यो ।

सामान्य शारीरिक दुर्वलतालाइ आँखा चिम्लने हो भने आरतीलाई सुन्दरी भन्न नमिल्ने हैन । पवनलाइ आफू अनुकूलको बनाउने सोच भएकोले पनि त्यसदिन उसले शरिरको सिंगारपटारमा ध्यान दिएकी थिई ।

हावामा फर्फराउंदै गरेको रेशमी कपाल, सफा र मिलाएर आइरन गरिएका कुर्ता सलवारले सजिएको शरीर, भद्रपन झल्कने सुहाउंदो मेकअप र हल्का लज्जा चढेको मुहारले उसको व्यक्तित्व खुलेको थियो ।

“नाम अनुसारको काम, घरमै आरती गरियो कि क्या हो, ढिलो गरियो त आउन ।”

उसको लज्जा केही हद सम्म भगायो पवनले ।

“काम कुरो बिग्रेदेखि दिमाग ठण्डा बनाउने पवन यहीं छन्, किन गर्नुपर्‍ये पुजा र आरति ? ” समानान्तर जवाफ फर्काइ उसले पनि ।

“लौ बसौं एकछिन’ पवनले नजिकैको काठेबेन्चतिर संकेत गर्दै भन्यो ।

आरती आज्ञाकारी देखिई ।

दुबैजनाको प्रभादिदीसँग भएको समझदारीको आधारमा प्रत्यक्ष भेटिएर आआफना धारणा आदानप्रदान गर्नको लागि हीलपार्कलाइ रोजेका थिए उनीहरुले ।

“कुरा कहाँबाट शुरु गरौं ” पवन बोल्यो ।

“जहाँबाट शुरु गरेपनि हुन्छ,” शिर झुकेकै अवस्थामा आरती बोली ।

“जिन्दगीको सहयात्राको लागि मलाई लायक ठानीछौ, खुशी लाग्यो । तर एक अर्काको दृष्टिकोण

सम्बन्धमा थप प्रष्ट हुन केही कुरामा भने अहिले नै हामीले मन्थन गर्नु राम्रो हुन्छ ।"

“हुन्छ गरौँ ।“

“भड्किलो जीवनशैली मन पर्दैन मलाई । हुन त अहिलेको आर्थिक अवस्थाले पनि यसलाई अगाल्न दिदैन । भविष्यमा २, ४ पैसा कमाइएछ भने पनि यसदेखि टाढै रहनेछु म सधैं ।”

“हातमुख जोड्न समेत धौ धौ हुनेहरु कैयौं छन् हाम्रै वरिपरि । तिनलाइ गिज्याउंदै आफू रंगिनुलाइ रंगहिनतुल्य ठान्छु म । मेरो पारिवारिक पृष्ठभूमिले पनि मलाई बाटो बिराउन दिंदैन ।”

मान्छेको सिद्दान्त र व्यवहार फरक हुन्छ कतिपय अवस्थामा । तर अहिले पवन शँकालु देखिन चाहेन ।

“हामीले हृदयको आवाज सुन्नुपर्छ भन्ने कतै पढेकी थिएँ स्कुलमा छँदा । तपाईंलाई पहिलोपटक भेटेपछि मेरो हृदयले भनेको कुरो बिर्सेकी छैन । त्यो अटल छ । त्यसको सत्यतामा मलाई कुनै शंका छैन । । र, नै यति प्रयास भएको हो मबाट ।”

पवनले आरतीको भनाई मनन गर्‌‍‍याे तर थप केही बोलेन ।

हातमै रहेको पत्रिका पल्टाउन थाल्यो पवन । स्वभाविकता दर्शाउन आरतीले पनि छेउमै रहेको एक भाग तानी । एकछिन सन्नाटा छायो ।

हिँड्ने बेला आरतीले थपी -

‘‘म साधारण केटी हुँ । कुनैचिज प्रति मेरो तीव्र आसक्ति छैन । कसैलाई अफ्टारोमा नपारी मनमिल्दो मान्छेलाई सहयात्री बनाउन खोज्नु अन्यथा नहुने ठानेर तपाईसम्म पुग्न खोजेकी हुँ । हामी साथी त हौं नै, टाढा छैनौं, जिन्दगीको दूरगामी महत्व राख्ने यो विषयमा अझै छलफल गर्न सक्छौं । यस कुरामा हामी दुबै प्रष्ट हैा न, हुन्न र? ”

कुरो पवनलाई चित्त बुझ्यो ।

एकछिन पछि दुबैजना छुट्टिए ।

राति बिछ्यौनामा पल्टेपछि आरतीको मनमा कुरा खेलीरहे । उसले सोची- आहा भन्न सकिने चीजहरु आसपासमै हुन्छन कहिलेकाहीँ । तर ती नजानिंदो गरी अप्राप्य बन्छन् । त्यो अप्राप्यताको तितो अनुभव कमसेकम अहिले चाँही गर्न नपरोस !

यता पवन पनि अलमलमा थियो । उसले पनि मनमा कुरा खेलाइ रह्यो धेरैबेर । राम्रो, नराम्रो, उपयुक्त, अनुपयुक्त, सजिलो, अफ्ठेरो आदि पक्षहरुमा बिभिन्न तर्कहरु उब्जिए ।

उसले सोच्यो — रुप र शारीरिक आकर्षण गौंण हुन्, मान्छेको मन र व्यवहारका तुलनामा । खराब आचरण र व्यवहारलाइ बाहिरी सौन्दर्यले छोप्न सक्दैन । सफा मन र चरित्रले अरु कमजोरीहरुलाइ पनि सामान्य बनाइदिन्छ । र, आरतीको मन र चरित्रमा कहीँकतै खोट देखिन्न ।

“डल्लो मान्छेको अग्लो कदले पगाल्यो यो मन ।”

उसले मोवाइलबाट सन्देश पठायो आरतीलाई । उकुसमुकुस मनले निकास पायो ।

उता आरती पनि मख्ख परि । प्रत्युत्तर पठाई-

‘धन्यवाद’ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया