MENU

विचार/अनुभूति

Ncell Axiata
NIC Asia

बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

मिलन तिमिल्सिना -

देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ । 

त्यसैले स्थानीय तहको चुनावमा उत्साहजनक रुपमा सहभागी भएका नागरिक प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई पनि उत्तिकै उत्सवको रुपमा मनाउन तयार छन् । तर शीर्ष नेता र उम्मेदवारलाई लक्षित गर्दै ठाउँठाउँमा दिनहुँजसो भैरहेका बम विष्फोटका घटनाले धेरैलाई आतंकित बनाएको छ ।

बम विष्फोटका घटनामा कसैले जिम्मेवारी नलिए पनि यो काम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको हो भन्ने सबैलाई थाहा छ । स्थानीय चुनावको बेला पनि नेकपाले ठाउँठाउँमा अवरोध गर्न खोजेको थियो । तर त्योबेला यति धेरै आतंक छाएको थिएन । यसपटक त उम्मेदवारको ज्यानै लिन खोजेजस्तो गरी बम विष्फोटका घटना भएका छन् । 

भोट माग्न जाँदा विष्फोटमा परेका नेताहरु अहिलेसम्म सुरक्षित छन्, तर कार्यकर्ता र सर्वसाधारण नागरिक घाइते भएका छन् । 

भोट माग्न हिँडेका नेताहरुमाथि बम पड्काएर नेकपाका कार्यकर्ताले कसैको ज्यान नै लिन खोजेका हुन् या तर्साउन मात्र ? चुनाव भाँड्न खोज्नेहरुलाई बल पुग्नेगरी यस्ता घटना गराएर उनीहरु के चाहन्छन् ? बुझ्न सकिएको छैन । 

कसैको ज्यानै लिन खोज्नेगरी भैरहेका बम विष्फोटका घटना राजनीतिक क्रियाकलाप होइनन्, यो त आतंक फैलाउने काम हो । आतंक फैलाउनेहरु नागरिकको नजरमा कहिल्यै सफल हुँदैनन् ।

चार वर्षअघि यहीबेला २०७० को मंसिरमा दोस्रो संविधानसभाको चुनाव भैरहँदा मोहन वैद्य किरण नेतृत्वको पार्टीले पनि यस्तै घटना गराएका थियो । तर नेता, कार्यकर्ता र नागरिकलाई नै निशाना बनाएर बम कमै मात्र पड्केका थिए । त्यतिबेला वैद्यको पार्टीमा विप्लव पनि सँगै थिए । अहिले वैद्य र विप्लवको बाटो फरक भएको छ । 

दोस्रो संविधानसभा चुनाव भाँड्न खोज्ने वैद्य नेतृत्वको पार्टी यतिबेला चुनावमा सहभागी भएको छ । हिंसा र आतंकले नागरिकको मन जित्न सकिँदैन भन्ने बुझेर नै वैद्य नेतृत्वको पार्टी चुनावमा सहभागी भएको हो । त्यसो त १० वर्ष सशस्त्र बिद्रोहमा लागेको मूल माओवादी नै यतिबेला शान्तिपूर्ण र दलीय प्रतिस्पर्धाको माध्यमबाट नागरिकको मत लिएर स्थायी सरकार बनाउने लक्ष्यसहित वाम गठबन्धन बनाएर चुनावमा होमिएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरण, बाबुराम भट्टराई लगायत विप्लवका अगुवाहरुले हिंसात्मक बाटो छाडिसके । बम र बन्दुकबाट होइन ‘ब्यालेट’ बाट नागरिकको मत र मन जित्न सकिन्छ भन्ने यथार्थलाई सबैले स्वीकार गरिसके । तर विप्लव नेतृत्वको नेकपाले यो यथार्थलाई बुझेर पनि बुझ पचाइरहेको छ । 

चुनावको मुखमा बम पड्काएर आतंक फैलाउन त सकिएला, तर नागरिकको मन जित्न कदापी सकिँदैन । संक्रमणकालको नाममा देशमा सधैँभरी अशान्ति र अस्थिरता भैरहँदा आमनागरिक निराश छन् । देशले विकासको फड्को मार्न सकेको छैन । संविधान बनिसकेपछि अब देशमा विकासले गति लिएको हेर्न नागरिक उत्सुक छन् । चुनाव सफल भयो भने देशमा राजनीतिक स्थायित्वसँगै विकास निर्माणको कामले गति लिन्छ । यही आशामा नागरिक चुनावलाई उत्सवको रुपमा मनाउन तयार भएका हुन् । 

आमनागरिकको यो उत्साह र आशालाई सम्मान गर्नु सबै राजनीतिक दलको दायित्व हो । देशमा आमूल परिवर्तन गर्ने लक्ष्य बोकेको विप्लवको पार्टीले यो कुरा राम्ररी बुझेकै हुनुपर्छ । नागरिकको नजरमा सफल हुने हो भने आजैदेखि बम विष्फोटका घटना रोकिनुपर्छ ।

देशभर चुनावी चहलपहल बढिरहेको बेला आम नागरिक, उम्मेदवार तथा दलका नेता कार्यकर्तालाई ढुक्क हुने वातावरण बनाउन सरकार पनि असफल भएको छ । गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिनुबाहेक सुरक्षाको भरपर्दो योजना बनाउन सकेका छैनन् । सम्भावित घटनाको पूर्व सूचना संकलन गर्न सुरक्षा निकाय असफल जस्तै भएको छ । 

विप्लवका कार्यकर्ताले नागरिकको भावना बुझेर चुनाव विरोधी गतिविधि छोडे भने पनि अर्को कुनै समूहले यस्तै क्रियाकलाप दोहोर्याउन सक्छ । चुनावको बेला हुन सक्ने सम्भावित घटना रोक्न सुरक्षा निकाय जति चनाखो हुनुपर्ने हो त्यति हुन सकेको छैन । नेता कार्यकर्तासँगै आमनागरिकलाई चुनावी चहलपहलले छोइसकेको बेला शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने काम सरकारकै हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मधुमेह भएका बिरामीले मृगौला परीक्षण नगराए के हुन्छ ?

    रगतमा चिनीको मात्रा बढी हुनु चिनी रोग हो । यसलाई डायबेटिज, मधुमेह वा सुगर रोगको नामले चिनिन्छ । मधुमेहका जटिलताहरुमा आँखा बिगार्नु, मुटु, नसा र मृगौला बिगार्नु पर्छन्, यसलाई मधुमेह सम्बन्धि मृगौला रोग भनिन्छ ।

  • कांग्रेस र मालेको गीर हान्ने खेल : चौका, छक्काको सट्टा ‘हल्ला’ !

    -यो त उबेलाको कुरा । अहिले गीर हान्ने खेल सबैले बिर्सिसके । त्योबेला कांग्रेस र माले भन्दै चरिमारेटार स्कुलको मैदानमा कुद्नेले पनि बिर्से । माघे संक्रान्तिमा हातमा लारी बोकेर ठूलो पाटा खोज्दै हिँड्नेले पनि बिर्से । खेल्नेले पनि बिर्से, लेख्नेले पनि बिर्सन लागे ।

  • छाउ हुँदा शौचालयको बास गर्नुपरेकोे त्यो क्षण !

    पछिल्लो दिन म गोठमा बस्न सकिनँ । आमाले भन्नुभयो, ‘अनि कता जान्छेस ? जसरी पनि ६ दिन त बस्नै पर्छ ।’ घरभन्दा टाढाको गोठमा जानु भन्दा घर नजिकैको शौचालयमा बस्न मलाई सजिलो भयो । शौचालय सानो थियो । खुट्टा तानेर सुत्न नमिल्ने थियो । त्यो शौचालयमा कसरी रात बिताउने ? आमाले मलाई पराल दिनुभयो । त्यो परालमाथि ओछ्यान लगाएर सुतेँ ।

  • बिर्सने रोग (डिमेन्सिया) के हो ?

    आफैले राखेको सामान एकछिनपछि कहाँ राखियो, बिर्सियो, कहिँ जान निस्किएको बाटो बिर्सने, एकैछिन अगाडि के भएको थियो यादै हुँदैन । यो समस्या धेरैलाई हुन्छ जसलाई मेडिकल भाषामा डिमेन्सिया भनिन्छ, बिर्सने रोग ।

  • चिसो बढ्यो, जोगिन के गर्ने ?

    तापक्रम घट्दै गएपछि हाम्रो आनिबानीमा पनि परिवर्तन हुन्छ । शरीरमा लुगाका मात्रा थपिन्छन् । रुघाखोकी, छाती दुख्ने समस्याले दुःख दिन थाल्छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया