MENU

साहित्य/ कला

ujyaalo forign call inside

कविता - मेरो ओठमा हाँसो सुहाउँछ

                                        -बिनु सुवेदी 

             

 

                                                         तिमीले पहिलो प्रेमपत्रको,

                                                          पहिलो हरफमा व्याख्या गरेझेँ,

   धान झुलेको गैरीटारजस्तै थियो मेरो कपाल

कालान्तरमा तारेभिरको खर भन्ठान्यौ

मेरा सुनकेस्रालाई,

र हाल्यौ फनफनी घुम्ने रोटेपिङ

 

तिमीले प्रशंशाको दोस्रो हरफमा

ब्याख्यागरेको पिपलपाते ओठसँग

के सौदा थियोहँ ?

बर्खामा कोदो गोड्न गएकी युवतीको

तिघ्रा चुसेर ढाडिएको जुका झैँ बनायौ

जुका त अरूलाई चुसेर ढाडियो

आफ‌‌ै चुसिएर ढाडिनुपर्ने यो ओठको

भाग्य......!

 

तिमीले प्रशंसाको तेस्रो हरफमा व्याख्या गरेको

आँखा हेर त,

आजकल यी गाजलु रहेनन ।

कालो हुनु भनेको गाजलु हुनु हैन रहेछ

प्रिय

आँखाको धब्बा यसरी गाढा बन्दै छ नि,

कालोलाई झन अँध्यारो बनाउन म गाजल

किन लगाउँ हँ ?

 

छाम्छु चिरा-चिरा परेको मुटु

सम्झन्छु खडेरीले धाँजा फाटेको गैरीखेत

खेत त पानी पाएपछि आफ्नै लयमा

फर्कियो

तर, आँशुले सिँचेको मुटु झन रुखो हुँदोरैछ

त्यसैले त तिमीले छुने बित्तिकै

खङ्ग्रङ्ग हुन्छ मेरो मन

र पट्ट फुट्छ पसिनाको मूल

 

एकदिन कटक्क पेट काटेको बेला

पटक्कै सहन नसकेर

मैले सिरानी हालेको तिम्रो देब्रे पाखुरा...

म अवाक छु कपास फुल्नुपर्ने ठाउँमा

कसरी काँडा पलायो !

तिनै काँडाहरूले जबरजस्ती चिथोरेपछि

असह्य पीडा भएर

जब मैले प्रतिवाद गरेँ नि,

त्यतिबेला झर्नै आँटेको वीर्य

पाइपनलीमै अड्किँदा

कसरी छटपटाएका थियौ तिमी?

 

हो, त्यो भन्दा कैयौँ पीडा हुन्छ मलाई

झर्नै खोजेको आँशु

 फेरि भित्र धकेलेर

फिस्स मुस्कुराउनु पर्दा !

तर तिमी अझै भन्छौ

मेरो ओठमा हाँसो सुहाउँछ !

 

 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया